बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याटल ग्राउन्ड : नुवाकोटका मुद्दा : पाँच हजार भर्सेज विकास

सोमबार, ०४ मङ्सिर २०७४, १० : १७
सोमबार, ०४ मङ्सिर २०७४

नुवाकोट - लिखु गाउँपालिका—२ स्थित लब्दुमा माओवादी केन्द्र क्षेत्र नम्बर १ का उम्मेदवार हितबहादुर तामाङ र प्रदेशसभा १ (ख) का उम्मेदवार बद्री मैनाली स्थानीय ७० वर्षीय महिला बिनाकुमारी लामिछानेकहाँ पुगे । बिरामीले थलिएकी उनलाई सान्त्वना दिँदै भने– ‘आमा अब आत्तिनु पर्दैन, चुनावपछि कम्युनिस्ट सरकार आउँछ । त्यसले वृद्धाभत्ता बढाउँछ । अब तपाईं जस्ता बुढाबुढीलाई आनन्दले बस्ने व्यवस्था मिलाउँछौँ ।’

उनीहरूले पटक पटक काङ्ग्रेसलाई जिताए पनि जनताको पक्षमा भने केही नगरेको दाबी गर्दै अब कम्युनिस्ट सरकारले जनताका आधारभूत आवश्यकताहरू पूरा गर्दै जाने बताए । 

लामिछानेलाई मात्रै होइन, नुवाकोटमा भोट माग्ने वाम गठबन्धनका उम्मेदवारहरूले ५ हजार वृद्धाभत्ताको एजेन्डालाई सशक्त बनाएका छन् । यसबाहेक जनताको जनजीविकासँग जोडिएका सवाललाई वाम गठबन्धनले प्राथमिकता दिएको छ । वाम गठबन्धनको प्रतिबद्धतापत्रमा सबैका लागि शिक्षा कार्यक्रम लागू गरिने, कक्षा ८ देखि नै प्राविधिक शिक्षाको व्यवस्था गरी व्यावहारिक र व्यावसायिक शिक्षामा जोड दिने वडावडामा व्यस्थ्यसेवा प्रवाह गर्ने, गाउँपालिकाभित्रका हरेक टोलटोलमा मुख्य मार्गसँग जोडिने गरी मोटरबाटो निर्माण गर्ने, भ्रष्टाचार रोक्न विशेष मापदण्ड तर्जुमा गरिने उल्लेख छ । 

यस्तै, जलविद्युत आयोजनाको स्थापना र सञ्चालनमा जनसहभागितालाई सुनिश्चितता गर्ने, घरघरमा शुद्ध खानेपानीको व्यवस्था गर्ने, प्रभावकारी भूउपयोग नीति अख्तियार गर्ने जस्ता विषयलाई पनि वाम गठबन्धनले प्राथमिकतामा राखेको छ । 

यसैगरी नुवाकोटलाई प्रदेश नम्बर ३ को राजधानी बनाउन पहल गरिने तथा भूकम्पबाट प्रभावित परिवारका लागि प्रदेश सरकारका तर्फबाट आवास पुनःनिर्माणका लागि थप अनुदान एवम् सहुलियत पूर्ण ऋण दिने समेत वाम गठबन्धनको प्रतिबद्धतापत्रमा उल्लेख छ । १ नम्बर २ नम्बर निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारको केही बुँदा तलमाथि भएपछि समग्रमा उस्तैखालका प्रतिबद्धताहरू देखिएको छ । 

यस्तै काङ्ग्रेसले भने विकासका एजेन्डालाई अघि सारेको छ । उसले आफ्नै नेतृत्वमा नुवाकोटमा विकास निर्माणका महत्वपूर्ण कार्यहरू गरेको भन्दै यो निर्वाचनमा पनि विजयी गराउन आग्रह गरेको छ । 

काङ्ग्रेसले मुख्यतया शिक्षा, स्वास्थ्य, कृषि, सिंचाइ, खानेपानी, विद्युतीकरण पर्यटन, वन तथा वातावरण, यातायात सञ्चारका साथै विकासका विविध क्षेत्रहरूमा योगदान दिएको भन्दै नयाँ निर्माणका कार्यलाई पूर्णता दिनलाई काङ्ग्रेसलाई जिताउनै पर्ने सार्वजनिक गरेको अपिलमा उल्लेख छ । 

यसरी काङ्ग्रेसले मत माग्ने क्रममा विकासका मुद्दालाई सशक्त बनाइरहँदा वाम गठबन्धनले भने विगतमा नुवाकोटका लागि दिएको योगदानभन्दा पनि भविष्यमा राम्रो हुने सपना सुनाउँदै भोट माग्ने गरेको छ । 

काङ्ग्रेसले प्रदेश र प्रतिनिधिसभामा भोट माग्दै गर्दा विकासलाई सशक्त बनाएको छ भने यही विकासका एजेन्डाको आधारमा आफूलाई भोट हाल्ने उनको दाबी छ ।

काङ्ग्रेस नेता तथा प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार अर्जुननरसिंह केसीले नुवाकोटमा काङ्ग्रेसले गरेको विकासलाई जनताले भुल्न नसक्ने भन्दै आफू अत्यधिक बहुमतले विजयी हुने दाबी गरे । 

यस्तै, अर्का नेता तथा प्रदेश नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार रामशरण महतले पनि नुवाकोटको विकासमा आफ्नो जति भूमिका कसैको नरहेको दाबी गर्दै जनताले विकासको निरन्तरताका लागि आफूलाई नै भोट दिने दाबी गरे । 

हालका दिनमा हुने घरदैलो र कोणसभामा काङ्ग्रेसले विकास नै आफ्नो भोट पाउने आधार भएको दाबी गर्दै आएको छ भने ऊ वाम गठबन्धनप्रति आक्रामक देखिएको छ । 

तर, माओवादी केन्द्रका नेता तथा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार हितबहादुर तामाङ आफूहरूको पक्षमा जनमत रहेको र चुनावपछि वामपन्थी सरकार नै बन्ने भएकाले अहिले काङ्ग्रेसले गरेको विकासभन्दा वामपन्थी सरकारले बढी गर्ने बताए । उनले यो पनि बताए कि बहुदलपछि पटक पटक काङ्ग्रेस सरकारमा बस्दा पनि विकासभन्दा पनि भ्रष्टाचार मौलाएको दाबी गरे । 

नुवाकोटमा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनसँग काङ्ग्रेस एक्लै चुनावी मैदानमा होमिएको छ । वाम गठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका हितबहादुर तामाङ उम्मेदवार रहेका छन् भने प्रदेशतर्फ बद्री मैनाली ख र राधिका तामाङ क मा उम्मेदवार रहेकी छिन् । 

यस्तै काङ्ग्रेसबाट क्षेत्र नम्बर १ मा रामशरण महत उम्मेदवार हुँदा प्रदेशतर्फ ‘ख’मा रमेश महत र ‘क’मा महेन्द्र थिङ उम्मेदवार रहेका छन् । 

यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट वाम गठबन्धनबाट एमाले उम्मेदवार नारायणप्रसाद खतिवडा चुनावी मैदानमा रहेका छन् भने प्रदेशतर्फ ‘क’मा केशवप्रसाद पाण्डे र ‘ख’मा हिरानाथ खतिवडा उम्मेदवार रहेका छन् । 

यस्तै काङ्ग्रेसबाट क्षेत्र नम्बर २ मा अर्जुन नरसिंह केसी उम्मेदवार हुँदा प्रदेशतर्फ ‘क’मा जगदीश्वर नरसिंह केसी र ‘ख’मा जगतबहादुर तामाङ उम्मेदवार रहेका छन् । 

क्षेत्र नं. १ मा शिवपुरी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, पञ्चकन्या गाउँपालिका, तादी गाउँपालिका, सूर्यगढी गाउँपालिका, लिखु गाउँपालिका, ककनी गाउँपालिका रहेका छन् ।
 
नुवाकोट क्षेत्र नंंं. १ का ७ स्थानीय तहमा गएको निर्वाचनमा वाम गठबन्धनले ३६ हजार ९ सय ६२ मत ल्याएको थियो भने नेपाली काङ्ग्रेसले २२ हजार ६ सय ५२ मत ल्याएको थियो ।
 
यस आधारमा हेर्दा नुवाकोट क्षेत्र नं. १ मा नेपाली काङ्ग्रेसको भन्दा वाम गठबन्धनको १४ हजार ३ सय १० मत बढी रहेको छ । यसअघिका संसदीय निर्वाचनमा विजयी हुँदै आएको नेपाली काङ्ग्रेसलाई आउँदो चुनावमा जित निकाल्न कठिन पर्ने देखिएको छ ।
 
नुवाकोट क्षेत्र नं. २ मा बेलकोटगढी नगरपालिका, तारकेश्वर गाँउपालिका, बिदुर नगरपालिका, मेघाङ गाँउपालिका र किस्पाङ गाउँपालिका रहेका छन् । 

यो क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा दुई वाम दलले ३९ हजार ३ सय २५ मत पाएको थियो भने नेपाली काङ्ग्रेसले २१ हजार ४ सय ६६ मत पाएको थियो । यस आधारमा यहाँ १७ हजार ८ सय ५९ धेरै मत वाम दलको पक्षमा रहेको छ ।

नुवाकोटका दुई क्षेत्रमा २ लाख ०८ हजार १ सय ७४ मतदाता रहेका छन् ।

नुवाकोटमा दुई प्रतिस्पर्धी दल र उम्मेदवारले विकास र सपना बाँढ्दै भोट मागिरहँदा चुनावी माहोल रोचक देखिएको छ। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप