शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निर्भिक भएर कार्य सम्पादन गर्न प्रधानन्यायाधीशको यस्तो आग्रह

सोमबार, ०४ मङ्सिर २०७४, २० : ४३
सोमबार, ०४ मङ्सिर २०७४

चितवन – प्रधानन्यायाधीश गोपाल पराजुलीले न्याय सम्पादन गर्दा रतिभर नडराई निर्भिक भएर गर्न न्यायाधीशहरूलाई निर्देशन दिएका छन् ।जिल्ला अदालत चितवनले आज यहाँ उनको सम्मानमा आयोजना गरेको स्वागत समारोहमा बोल्दै प्रधानन्यायाधीश पराजुलीले यदाकदा न्यायाधीशले गाली र अपजश खप्न परे पनि न्याय सम्पादन गर्दा विचलित नहुन आग्रह गरे ।

आफू बहाल भएकै दिन ३९ बुँदे कार्ययोजना जारी गरेको बताउँदै उनले भने, ‘न्यायाधीशहरूको मनोबललाई तेजोबध गराउने हिसाबबाट जो जसरी जहाँबाट परिचालित भएपनि त्यसबाट कति पनि नडराउनुहोला ।’पुराना मुद्दाहरूलाई कार्ययोजनामा राख्दै चाँडोभन्दा चाँडो फैसला गर्न पनि उनले निर्देशन दिए । 

चितवन जिल्ला अदालत बार एशोसियशनले आजै प्रधानन्यायाधीश पराजुलीको अभिनन्दन एवं वरिष्ठ अधिवक्ताहरूको सम्मान गर्यो । सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश पराजुलीले न्यायाधीशका पनि न्यायाधीश कानुन व्यवसायी भएकाले स्वार्थका कारण मर्यादालाई नबिर्सन आग्रह गरे ।

उनले कानुन व्यवसायी समाजका अगुवा र परिवर्तनको द्योतक भएको भन्दै त्यसैअनुरुप काम गर्न पनि आग्रह गरे । उनले बार र बेन्चको सम्बन्ध सुमधुर हुनुपर्ने बताए । उनले भने, ‘बार र बेन्च एकै रथका दुई पांग्रा र एकै सिक्काका दुई पाटा हुन् ।’ 

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नहकुल सुवेदीले अदालतको भौतिक संरचनाको विकासका लागि सहयोग गर्ने वचन दिए ।मुख्य जिल्ला न्यायाधीश कुलप्रसाद शर्माले जिल्ला अदालतले गरेका कामकारबाहीबारे जानकारी गराएका थिए ।

नेपाल बार एसोशियसनका अध्यक्ष शेरबहादुर केसीले बार र बेन्चबीचको सम्बन्ध सधैं सुमधुर हुनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रजातान्त्रिक कानुन व्यवसायी संघका पूर्व अध्यक्ष गोपालकृष्ण पराजुली, वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीलगायतले बोलेका थिए ।

सो अवसरमा प्रधानन्यायाधीश पराजुलीलाई अभिनन्दन गर्नुका साथै चितवन जिल्ला घर भई चितवन र बाहिरी जिल्लामा काम गर्दै आउनुभएका वरिष्ठ अधिवक्ताहरू अध्यक्ष केसी, केन्द्रीय सदस्य इन्दु कोइराला र ज्ञानेन्द्र अधिकारीलाई सम्मान गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप