शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई भोट माग्दै ओलीले भने, ‘हाटहुट–लाटलुट हैन, देश बनाउन पाँच बर्ष सरकार चलाउँछौं !’

मङ्गलबार, ०५ मङ्सिर २०७४, २० : ३७
मङ्गलबार, ०५ मङ्सिर २०७४

चितवन । भरतपुरस्थित हाकिमचोकको मैदानमा बनाइएको मञ्चमा प्रचण्ड पुत्र प्रकाशका ठुला–ठुला तस्बिर राखिएको थियो । माओवादी अध्यक्ष प्रचण्ड, सिता दाहाल, प्रकाश पत्नी बिना मगरसमेत उपस्थित सभा निकै भावुक थियो । हृदयघातको आफ्नो छोरो चुँडेको पिडा खप्न नसकेर आमा सीता दाहाल बेला–बेला मुर्छितझैँ हुन्थिन्, त्यस्तोमा छोरी रेणु पछाडीको लहरबाट सम्झाउँथिन् । प्रचण्डले आफूमाथिको बज्रपातलाई कार्यक्रमको अन्तसम्म जसोतसो सहेर बसे, सिता र बिना कार्यक्रम स्थलमा अन्तसम्म रहन् सकेनन् !  

त्यस्तोमा मंगलबारको चुनावी सभालाई प्रचण्डको तर्फबाट एमाले अध्यक्ष केपी ओलीले नै संवोधन गरेका छन् । माओवादी अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहाललाई ‘नयाँ सयमको नयाँ सम्भवना बोकेको युवा’ को रुपमा ब्याख्या गर्दै  ओलीले भने, ‘प्रकृतिको बिडम्वना कहिलेकाहीँ हामीले यस्तो पनि देख्नुपर्दोरहेछ, नहुनु भैसक्यो धैर्य धारण गरेर अगाडी बढ्नुपर्छ ।’

आफुमाथि यस्तो बज्रपात आउँदा पनि प्रचण्ड देशप्रति दत्तचित्त भएको उल्लेख गर्दै ओलीले भने, ‘यस्तो परिस्थतिमा उहाँले एउटा दृष्टान्तको रुपमा आफूलाई प्रस्तुत गर्नुभएको छ ।’
 
दशैंको टिकाको दिन पार्टी एकताको निर्णय
माओवादी र एमालेको चुनावी तालमेलको गर्भतिर फर्केका ओलीले असोज १४ गते दशैंको टिकाका दिन प्रचण्ड र आफूबिचको छलफलले पार्टी एकताको निष्कर्ष निकालेको बताए । उनले भने, ‘असोज १४ गते अरु टिकाको रमझममा थिए हामी बिहानै देखी १२ बजेसम्म देशकै समस्याको बारेमा छलफल छलफल गर्दै थियौं, त्यहि दिन पार्टी एकता गर्ने निष्कर्षमा पुग्यौं ।’

‘अब यो पार्टी र त्यो पार्टी भन्नु छैन्, चुनावपछि हामी एउटै पार्टी हुन्छौं’ ओलीले यत्ति भनेका मात्र के थिए, दर्शक दिर्घाबाट कर्तलध्वनीका साथमा ताली बज्यो, हाकीमचोक गुलजार भयो !

माओवादी र एमालेका कार्यकर्ताले जहाँ भोट हालेपनि आखिर एउटै टाउँमा आउने उल्लेख गर्दै उनले भने, ‘ध्यु कहाँ पोखियो भातमा ! हामी इतिहासको पछाडी मात्रै फर्केर बसेर हुँदैन्, इतिहासको अँध्यारो कुरा बिर्सेर उज्यालो भविष्यतिर जाने संकल्प गरेका छौं ।’

‘एउटा समय थियो माओवादीले जनयुद्ध चलाएको थियो हातमा हतियार थियो, माओवादीबिरुद्ध कोही बोल्न सक्थेनन्’ विगत संझदै उनले भने, ‘मतभेद भएकाले मैले माओवादीको बारेमा बोल्थेँ, त्यतिबेला हाम्रो पटक–पटक तनाव पनि हुने गरेको थियो ।’

प्रचण्ड र आफुले मात्र देशलाई निकास दिन सक्ने दाबी गरेका ओलीले ५० बर्षसम्म कांग्रेसमा लागेका चितवनका त्रिलोचन पौडेलहरु ‘कांग्रेस काम छैन’ भनेर एमालेमा प्रवेश गरेको बताए ।

‘अहिले गुड्डी हाँक्ने कांग्रेसका नेताहरु २०४६ सालमा कहाँ थिए ?’ ओलीले भने, ‘हिजो आन्दोलनमा हुनेहरु सबै एमालेमा आइसके, काँग्रेस बनाएर चिनाएका गणेशमानले आँसु खसाएर अलग्ग बस्नुभो, कृष्णप्रसादले काँग्रेस काम लाग्दैन भनेर छाड्नुभो !’

‘हाटहुट–लाटलुट हैन, देश बनाउन पाँच वर्ष बामपन्थी सरकार’
२००७ सालयता कुनै पनि सरकार पाँच बर्ष नटिकेको उल्लेख गर्दै नेता ओलीले पछिल्लो समय तमसुक गरेर पालो पालो सरकार बनाउने अवस्था आएको बताए । उनले भने, ‘अब हामी मिलेपछि त्यो कहानी सकियो, स्थिर सरकार दिन्छौं, हाटहुट–लाटलुट हैन देश बनाउनका लागी पाँच बर्ष स्थायी सरकार चलाउँछौं !’

कांग्रेसका केही नेताहरुले कम्युनिष्ट आएपछि उदार अर्थतन्त्र रहँदैन भन्ने गरेको उल्लेख गर्दै नेता ओलीले प्रश्नात्मक शैलीमा भेन, ‘म सोध्न चाहन्छु, भृकुटी कागज काराखाना कहाँ गयो ? छालाजुत्ता कारखाना कता गयो ? ३८ वटा उद्योग बेचेर देश विकास भयो ? उद्योग बेच्ने अनि हाम्रा युवाहरुलाई विदेश पठाउने यिनै तत्व हैनन् ?’

चितवनको नारायणी नदीको किनारमा तटबन्ध गर्ने, पर्यटन क्षेत्रको विकास गर्ने लगायतका चितवनको विकास योजना पस्कँदै ओलीले भने, ‘बामपन्थी सरकार बनेपछि नारायणी नदीलाई दुईतिर बाँध बाँध्न सक्दैन ?’

चितवनको विकासको जिम्मा लिनका लागी प्रचण्ड दुई पटक सरकार चलाएको अनुभव सहित प्रचण्ड आएको उल्लेख गर्दै प्रचण्डका प्रतिस्पर्धी विक्रम पाण्डेलाई उनले सोधे, ‘एउटा बाटोको ठेक्का लिए जस्तो हो, देश बनाउने कुरा ?’

‘आज प्रचण्ड बोल्न सक्नुहुन्न, उहाँका तर्फबाट मैले भने, मैले भनेको कुरा उहाँका पनि हुन्’ ओलीले भेन, ‘हामी दुवैले भन्यौं चितवनको विकास भयो भयो, कसैले रोक्न सक्दैन् !

प्रचण्डले २०–३० हजारले जित्नुपर्छ
एमाले अध्यक्ष ओलिले चितवनमा प्रचण्ले २०–३० हजारले चुनाव नजिते एमाले र माओवादीका कार्यकर्तालाई लाज हुने बताए । उनले भने, ‘१०–१५ हजार भोटले प्रचण्ड नजिते लाज हुन्छ की हुँदैन हामीलाई ? कमसेकम २०–३० हजार मतान्तरले प्रचण्डले जित्नुपर्छ ।’

भारतले नाकाबन्दी गर्दा आफुले खुलाएको तर कांग्रेसका नेताहरु बोल्न समेत नसकेको आलिले आरोप लगाए । उनले भने, ‘ग्यास छैन चुल्हो बल्दैन, तर ग्याँस छाड, डिजेल पठाउ भन्न नसक्ने ? हुतीहाराहरु !

‘शेर बहादुरलाई सोध्न चाहन्छु’ उनले भने,‘त्यतिवेला मुखमा पानी हालेर बस्नुभाथ्यो ?’

नाकाबन्दी हुँदा भारत गएर सम्बन्ध सुधार गरेको र चिनमा गएर केरुङको नाका खोलेको उल्लेख गर्दै उनले अब नाकाबन्दीको जमाना सकिएको बताए ।

‘केरुङबाट बाटो खुल्दै छ, अब नाकाबन्दीको जमाना समाप्त भयो’ उनले भने, ‘त्यतिवेला भारतसँग बोल्नै नसक्ने मान्छे अहिले प्रधानमन्त्री हुँदा के भइरहेको छ ?’

प्रधानमन्त्री शेरबहादुर प्रती खनिएका ओलीले गृहमन्त्री लाई हटाएर विना विभागीय बनाएकोमा आपत्ति जनाए । ‘भएको गृहमन्त्रीलाई बिना विभागीय बनाउनुभो, शान्ति सुरक्षा राम्रो छ राम्रो छ भन्नुहुन्छ,  बम पड्किरहेको छ, गाडी पल्टिरहेको छ ।’

‘यस्तै हुन्छ शान्ति सुरक्षा ? अलिकति जनता, उम्मेद्वार प्रति चिन्ता छैन ?’ उनले भने,‘शान्ति कायम गर्न नसक्ने, कतै त्यही कुरालाई आधार बनाएर चुनाव सार्ने योजना छ छैन ?’

‘माइकको नजिकै मुख ल्याएर भन्न चाहन्छु, अब कम्युनिष्ट सरकार बन्यो लोकतन्त्रको रक्षा हामी गर्छौ ?’ उनले सोधे, ‘किन चिन्ता गरेको ?

त्यसैगरी नेता ओलीले निर्वाचनका बेला प्रहरी प्रशासन र सरकारी कर्मचारीलाई बेठीक भूमिका नखेल्न आग्रह गरे । उनले भने, ‘भूमिका निष्पक्ष हुनुपर्छ, कर्मचारी पार्टीतीर लाग्यो भने त्यो उपयुक्त हुँदैन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप