शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिरहा काङ्ग्रेसको इतिहास माओवादीमा विलय : अब जोगिएला विरासत ?

बुधबार, ०६ मङ्सिर २०७४, १० : ४६
बुधबार, ०६ मङ्सिर २०७४

काठमाडौँ– काङ्ग्रेसको विरासत थामेको परिवार नै माओवादी केन्द्रमा गएपछि सो विरासत ढलेको हो ।

काङ्ग्रेसका पुराना नेता सिरहा औरही गाउँपालिकाका सूर्यनाथ दास यादव र देवनाथ दास यादव परिवारका सदस्यहरू माओवादी केन्द्रमा जान थालेपछि सिरहामा काङ्ग्रेसमाथि दबाब देखिएको छ ।

सूर्यनाथ दास यादव र देवनाथ दास यादव दुवै दाजुभाइ हुन् । दुवैजना सँगै पार्टीमा थिए । २०१५ सालको आमचुनावमा दुवै दाजुभाइ चुनाव लडेका थिए र दुवै जनाले जितेका पनि ।

सूर्यनाथ दास यादव अलि चलाख र भलाद्मी भएका कारण उनी दुई पटक मन्त्री पनि भए तर देवनाथ दास यादव अलि स्वभावले कडा मिजासको र क्रान्तकारी भएका कारणले उनी मन्त्री बन्न पाएनन् । बरु पार्टीले सुरु गरेको आन्दोलनमा सक्रिय भएर लागिरहे ।
२०१७ सालको क्रान्तिमा सूर्यनाथ दास यादव पक्राउ परे भने उनी भारत प्रवासमा गएर बसे । उनलाई पटक पटक आत्मसमर्पण गर्न नेपाल सरकारले भनिरह्यो ।

तर, उनले ‘बरु यतै घरजम गरेर बस्छु तर सरकार समक्ष आत्मसमर्पण गर्दिनँ’ भने र उनले त्यही गरे ।

भारतको दरभङ्गामा जग्गा लिएर घर बनाई त्यहीँ बस्न थाले । आन्दोलन चलिरहेका कारण छोरीको विवाह पनि उतै गरे । आन्दोलन समाप्त भएपछि उनी नेपाल फर्केका थिए ।

उनीहरूकै परिवारका दुईजना हालै माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सिद्धार्थ यादव जो नेपाली काङ्ग्रेसको तरुण दलका जिल्ला अध्यक्ष थिए तर पार्टीले स्थानीय तहमा टिकट नदिएपछि उनी उम्मेदवारी मनोनय दर्ता गराउने दिन माओवादी केन्द्रमा प्रवेश गरेर टिकट लिई चुनाव जिते ।

त्यस्तै भयो, प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा । देवनाथ दास यादवका छोरा सुरेशचन्द्र दास यादवले टिकट नपाएपछि उनी माओवादी केन्द्रमा प्रवेश गरेर टिकट प्राप्त गरी अहिले सिरहा क्षेत्र नम्बर २ को चुनावी मैदानमा छन् ।

२०४८ र २०५१ सालको प्रतिनिधिसभा चुनाव जितेका सुरेशचन्द्र दास यादव २०५२ सालमा स्वास्थ्य राज्यमन्त्री बनेका थिए । सिरहाको काङ्ग्रेसमा राम्रो पक्कड बनाएका सुरेशचन्द्र दास यादव माओवादी केन्द्रमा गएपछि काङ्ग्रेसमा ठूलो धक्का लागेको बताइएको छ ।

सुरेशचन्द्र दास भन्छन्– ‘अब त्यो काङ्ग्रेस रहेन, टिकट माग्न जाँदा त अर्कै काङ्ग्रेस भइसकेको थियो, सिरहा जिल्लामा काङ्ग्रेसलाई हामीले नै बनाएको हौँ तर अहिले त्यहाँ नयाँ–नयाँ मान्छे आएर पार्टी नै कब्जा गरेकोे देख्दा दिक्क लागेर आयो र पार्टी छाडेर हिँडे ।’

जनयुद्धकालमा माओवादी केन्द्रले सुरेशचन्द्र दास यादवको थुप्रै जमिन कब्जामा लिएका थिए । माओवादीका कारणले सुरेश र उनका सबै परिवार भारतमा बस्न बाध्य थिए । तर, आज उनका परिवारका सदस्य धमाधम पार्टीमा प्रवेश गर्न थालेपछि धेरैले यसलाई अनौठो रूपमा लिएका छन् ।

देवनाथ र सूर्यनाथ दासलाई नजिकबाट बुझेका खुशीलाल मण्डलले भन्छन्, ‘काङ्ग्रेसले देवनाथ र सूर्यनाथको परिवारलाई पहिचान गर्न नसक्नु भनेको सिरहामा काङ्ग्रेस समाप्त हुनु हो ।’

उनले थपे– ‘काङ्ग्रेस पार्टी निर्माण गर्नमा त्यो परिवारको ठूलो हात रहेको छ । तर, आज पार्टीमा अयातित नेताहरूले सो परिवारलाई घेराबन्दी गरी काङ्ग्रेस नै छाड्न बाध्य पार्नु भनेको पार्टी समाप्त हुनु हो ।’
सुरेशचन्द्र दासको बुवा देवनाथको घरमा गिरीजा प्रसाद कोइराला र बीपी कोइराला पटक पटक गएको स्मरण गर्दैै मण्डलले भने– ‘गिरिजा प्रसाद कोइराला भारतको दरभङ्गामा बिरामी हुँदा एक साँझको १२७ रुपियाँ तिर्न नसक्दा त्यहाँस्थित देवनाथ दासको घरमा शरण लिनुपरेको थियो । त्यो आफ्नै आँखाले देखेको हुँ ।’

उनले उक्त परिवारबारे थपे, ‘पार्टीमा त्यो परिवारको कति लगानी छ, त्यसका थुप्रै उदाहरणहरू छन् । सिरहाका काङ्ग्रेसीले उनीहरूलाई माओवादीमा जान बाध्य पारेका हुन् । फिल्ड खालि होस् र खुलेआम राजनीतिक गर्न पाइयोस् भनेर ।’

सिरहा–२ मा काङ्ग्रेसले रामचन्द्र यादवलाई टिकट दिएको छ । पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिएका चित्रलेखा यादवले रामचन्द्र यादवलाई जबर्जस्ती टिकट दिलाएको आरोप छ । फोरम नेपाल र राजपा नेपालका संयुक्त उम्मेदवार सत्रुधन सिंह कोइरी हुन् ।

त्यहाँ त्रिपक्षीय भिडन्त छ । काङ्ग्रेसबाट आएर वाम गठबन्धनका उम्मेदवार बनेका सुरेशचन्द्र दास यादव रेसमा अगाडि जस्तो देखिन्छन् ।

काङ्ग्रेसका पुरानो नेता भएका कारणले काङ्ग्रेसका थुप्रै मत उनलाई आउने आँकलन उनको छ ।

रामचन्द्र यादव चित्रलेखा यादवको उम्मेदवार भएको कारणले अर्को समूह असन्तुष्ट देखिएको छ । सुरेशचन्द्र दासलाई सघाइरहेको फोरम नेपालबाट माओवादी केन्द्रमा प्रवेश गरेका विनोद यादवले बताए ।

उता सत्रुधन सिंह कोइरी राजपा र फोरमको संयुक्त उम्मेदवार भए पनि त्यहाँ राजपा नेपालको खासै सङ्गठन छैन र सो क्षेत्रमा त्यो दलले एउटा पनि तह जितेका छैन । 

सो क्षेत्रमा आठवटा स्थानीय तह रहेका छन् । तीमध्ये माओवादी केन्द्रले चारवटा तह जितेको छ ।  फोरम नेपालले दुई र काङ्ग्रेस र एमालेले एउटा–एउटा मात्र जितेका छन् ।

स्थानीय तहको परिणामले पनि सो क्षेत्रमा वाम गठबन्धन बलियो रहेको पुष्टि हुन्छ । यद्यपि सत्रुधनसिंह कोइरी पनि मधेश आन्दोलनमा सक्रिय भएर लागेका कारणले मधेस आन्दोलनको भावनात्मक मत आउने विश्वास उनलाई छ ।

उनको दाबी छ, मधेसलाई धोका दिनेलाई मधेसी जनताले पत्याउँदैनन् । जसले मधेसका लागि यत्रो सङ्घर्ष गरे, ज्यानको बाजी लगाए, त्यसलाई नै जिताउने छन् ।’

सुरेशचन्द्र दास यादव भन्छन्, लोकतन्त्र र मधेसको समग्र विकासका लागि जनताले मलाई मत दिन्छ भन्ने विश्वास लागेको छ । आफ्नो पुर्खाले समेत यो क्षेत्रमा मात्र होइन, यो जिल्लालाई नै सेवा गरेका कारण मतदातामा मप्रति उत्साह देखिएको छ । त्यसैले जित्छु भन्ने पूर्ण विश्वास छ ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप