बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हिँडेरै कर्मचारी मतदान केन्द्रमा, टेलिफोनको सहज पहुँच नहुँदा समस्या

बिहीबार, ०७ मङ्सिर २०७४, १२ : २३
बिहीबार, ०७ मङ्सिर २०७४

जाजरकोट । सडक सञ्जालले नछोएका यहाँका दुर्गम गाउँमा पुग्न कर्मचारीलाई समस्या भएको छ । 

आवश्यक बन्दोबस्तीका सामग्रीसहित कर्मचारीलाई निश्चित समयभित्र तोकिएको ठाउँमा पुग्न हम्मेहम्मे भएको छ । बढ्दै गरेको चिसोका कारण कर्मचारीलाई समस्या भएको हो । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन सामग्रीसहित कर्मचारीलाई मतदान केन्द्रतर्फ खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँका दुर्गम जुनीचाँदे गाउँपलिका र वारेकाट गाउँपालिकामा पुग्न तीन दिन लाग्छ । कार्यालयले दुर्गम क्षेत्रका मतदान केन्द्रका लागि गत सोमबारदेखि कर्मचारी पठाउन शुरु गरेको हो । निर्वाचनका लागि एक हजार कर्मचारी खटिने छन् । 

बुधबारसम्म १०० भन्दाबढी मतदान केन्द्रका लागि कर्मचारी खटिसकेको मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीले बताए । निर्वाचन कार्ययोजनाअनुसार बिहीबारसम्म सबै मतदान केन्द्रमा कर्मचारी पुगिसक्ने उनले बताए । जिल्लामा ८५ मतदानस्थल र ११६ मतदान केन्द्र निर्धारण गरिएको छ । 

जाजरकोटमा ७२ मतदानस्थल अतिसंवेदनशील मानिएको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले बताए। सुरक्षा चुनौतीको हिसाबले संवेदनशील जिल्ला मानिए पनि सुरक्षाको उचित व्यवस्थापन मिलाइएको उनले बताउनुभयो । 

सञ्चार सुविधा नहुँदा समस्या 

यहाँका ४० भन्दा बढी मतदान केन्द्र तथा स्थलमा टेलिफोनको सहज पहुँच नहुँदा समस्या भएको छ । टेलिफोनको टावरले काम नगर्दा सूचना दिन र लिन समस्या भएको वारेकोट गाउँपालिकाको मुलसाम केन्द्रमा खटिएका कर्मचारीले बताएका छन् । 

जुनीचाँदे गाउँपालिकाको जुनीमा खटिने कर्मचारीलाई पनि सञ्चारको असुविधा छ । नलगाड नगरपालिकाको वडा नं १०, ११, १२ र १३ मा टेलिफोनको पहुँच छैन । 

भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका मतदाता भोट हाल्न घर फर्कदै छन् । विभिन्न दलले नेपालगञ्ज, सुर्खेत र काठमाडौँबाट जाजरकोट आउने मतदातालाई यातायातको व्यवस्था गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप