बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

जंगली जनावरको समस्या समाधान गर्ने उम्मेदवारलाई मतदान

सोमबार, ११ मङ्सिर २०७४, १५ : १६
सोमबार, ११ मङ्सिर २०७४

इनरुवा । सुनसरीको कोशी गाउँपालिका र बराह नगरपालिकाका स्थानीय बासिन्दालाई सधैँ आरक्षको समस्याका कारण क्षतिको सामना गर्नुपर्ने बाध्यता रहेको छ । 

घर नजिकै रहेको कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक निस्कने जंगली जनावरका कारण उनीहरुको धनमालको क्षतिका साथै मानवीय क्षतिको समेत सामना गर्नुपर्ने बाध्यता छ । आरक्षबाट दैनिक निस्कने अर्ना, हात्ती, बँदेललगायतका जंगली जनावरको आतंकले सो क्षेत्रका स्थानीय परेसान भएका छन् । यसपटक सो क्षेत्रका स्थानीय तथा मतदाताले आरक्षको समस्या समाधान गर्ने उम्मेदवारलाई मतदान गर्ने प्रमुख एजेण्डा बनाएका हुन् । 

सुनसरीको बराह नगरपालिकाको मधुवन क्षेत्रका मतदाताले कोशी टप्पुको हात्ती, अर्ना र बँदेलको आतंक बढेकाले त्यसको समाधान गर्ने तथा आरक्ष पीडितलाई राहत दिने उम्मेदवारलाई मतदान गर्ने बताएका छन् । 

बराह– ११ को मधुवनका अजिम हुसेनले आरक्षको समस्या समाधान गर्नेलाई मतदान गर्ने विचार व्यक्त गरे । दिनरात अर्ना र हात्तीको आतंक रहेकाले त्यसलाई पूर्ण समाधान गर्ने उम्मेदवारलाई मतदाताले मतदान गर्ने अन्सारीले बताए । 

उम्मेदवारका केही एजेण्टले रकम लिएर मतदाताको भावनाविपरीत मत बेच्ने काम गरेकाले आफूहरु त्यसबाट बचेर काम गर्ने सुनसरी क्षेत्र नं ४ का मतदाता अर्जुन गुप्ताको भनाइ छ । गुप्ताले एम्बुलेन्स पुग्ने बाटो, ग्राभेल भएको सडक, कोशी टप्पुलाई पर्यटकीय क्षेत्रका रुपमा स्थापित गरी युवालाई स्वरोजगार बनाउने उम्मेदवारलाई मतदान गर्ने मनस्थिति बनाएको बताए । 

कोशी टप्पुको काख र कोशी नदीको छेउमा रहेको उराँव र दलित बस्तीका मतदाताले आरक्ष क्षेत्रको घेराबेरा र बालीमा गरेको क्षति न्यूनीकरण गरिदिने उम्मेदवारलाई मतदान गर्ने स्थानीय मतदाता शान्ति उराँवको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप