बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उग्रवाद आजको विश्वको साझा समस्या हो : प्राध्यापक वारिस हुसैन

मङ्गलबार, १२ मङ्सिर २०७४, १२ : ५६
मङ्गलबार, १२ मङ्सिर २०७४

हावर्ड युनिभर्सिटी स्कुल अफ लका सहायक प्राध्यापक बारिस हुसैन अन्तर्राष्ट्रिय मानव अधिकार र अल्पसङ्ख्यकहरूको अधिकारका लागि काम गर्छन् । उनी नेपाल आएको बेला रातोपाटीका लागि नरेश ज्ञवाली   दिपेश शाहीले गरेको अन्तरवार्ता :

तपाईं अमेरिकन पनि हो र एउटा मुसलमान पनि, विश्वभरिका मुसलमानहरूलाई अमेरिकाले जसरी आतङ्कवादीका रूपमा प्रचारित गरिरहेको छ, त्यसको वास्तविक राजनीति के हो ?
मेरो विचारमा युद्ध र आतङ्कवाद जस्तो विषय मूलतः मुसलमानहरू मध्यनजर गरेर नै सुरु गरिएको हो । र त्यो जर्ज डब्ल्यु बुसको शासनकालमा इराक, अफगानिस्तान हुँदै सुरु भएको हो । मेरो साधारण भनाइ के छ भने सबै मानिसहरू एकै खाले हुँदैनन् । एकखाले मानिसहरू निकै चर्का कुरा गर्छन् भने अर्काखाले मानिसहरू निकै शान्तिपूर्ण ढङ्गले जीवन गुजार्न चाहन्छन् । उनीहरू कसैको पक्ष–विपक्षमा उभिन पनि चाहँदैनन् । तर भय भने चारैतिर फैलाइएको छ । तर मानिसहरू कति सहयोगी हुन्छन् भन्ने कुराको म तपाईंलाई उदाहरण दिन चाहन्छु– 

अमेरिकामा राष्ट्रपति निर्वाचनको भोलिपल्ट म मेट्रो टे«नबाट वासिङ्टन डिसी जाँदै थिएँ । निर्वाचन परिणामले म निकै निराश थिएँ । निराशाका कारण मेरो अनुहार पनि अलिक त्यस्तै खालको देखिएको थियो होला । म आफ्नो मोबाइलमा केही चलाइरहेको थिएँ कि मेरो छेउमा बसेकी एउटी गोरी महिलाले मेरो हात समाइ र भनी– ‘न डराउँ हामी तीमीहरूको साथमा छौँ । तिमीलाई केही पनि हुँदैन ।’ मलाई त्यसो भन्ने एउटी साधारण अमेरिकी महिला थिई । उसलाई त्यसो भन्नुपर्ने कुनै बाध्यता थिएन तर उसले भनी । मैले भन्न खोजेको के भने बाहिरबाट अमेरिकीलाई हेर्ने दृष्टिकोण र अमेरिकी साधारण जनतामा निकै ठूलो भिन्नता छ । त्यस्ता मानिसहरू पनि छन् तर उनीहरू निकै थोरै छन् । तर उनीहरूको कुरालाई मिडियाले उचाल्ने हुनाले उनीहरूको कुरा ठुलो भएर बाहिर आउँछ र त्यस्तो लाग्छ । तर आम ९५ प्रतिशत मानिसहरूको कुरा त मिडियामा आउँदै आउँदैन । उनीहरूलाई इस्लामसँग केही लिनुदिनु छैन । 

मैले आफ्नो जीवनको यतिका वर्ष इस्लाममा बिताएँ । मैले एउटा पनि त्यस्तो मुसलमान देखेको छैन, जसले अमेरिकामा सरिया कानुन ल्याउन पर्छ भनेको होस् । हो, उनीहरू सिरिया, इराक, पाकिस्तान हुँदै अन्यत्रबाट भागेर आएका छन् तर पनि उनीहरू धर्मनिरपेक्ष राष्ट्र चाहन्छन् । उनीहरू आफ्ना अधिकारहरू सुनिश्चित भएको देख्न चाहन्छन् । साँच्चै अमेरिकी मुसलमानहरू यही चाहन्छन् । 

मैले यो कुरा राज्यको तहमा रहेकाहरूले गरेको निर्णयको सन्दर्भमा सोधिरहेको छु । यदि अमेरिकी राज्यलाई प्रतिनिधित्व गर्नेहरूको सन्दर्भमा भन्ने हो भने उनीहरूले नै यो कुरालाई अगाडि बढाइरहेका छन् र त्यो नै मिडियामा आउँछ । उनीहरू शक्तिशाली छन् भन्ने कुरा भुल्न मिल्दैन र उनीहरूले नै भनेको कुराले अमेरिकी सिस्टममा प्रभाव पर्छ होइन र ?

राष्ट्रिय सुरक्षाको जस्तोखाले अभ्यास अमेरिकामा यति बेला भइरहेको छ त्यो ‘गेयर्ड अगेन टेररिजम’ हो । त्यो बुसको पालादेखि नै छ । आतङ्कबादबाट बच्ने अमेरिकी राष्ट्रिय सुरक्षा र दक्षिण एसियाको राष्ट्रिय सुरक्षा नीति अलिक फरक छ । सीआईए र डीओडीलगायत संस्थाले बाहिर काम गर्छन् । उनीहरू आन्तरिक राजनीतिमा हाबी हुन पाउँदैनन् । उनीहरू अमेरिकन मुसलमानले के गरिरहेका छन् भनेर हेर्न पाउँदैनन् । उनीहरूले बाहिर के भइरहेको छ भनेर हेर्ने हो । तर तपाईंले समाचारहरूमा हेर्दै जानुभयो भने अमेरिका ‘इस्लामिक टेरेरिजम’विरुद्ध लडिरहेको छ र आईएस, तालिवानहरूले हामीलाई आक्रमण गरिरहेका छन् भन्ने कुरा बुझिन्छ भनेपछि पक्कै पनि त्यसले मानिसहरूको एकखाले धारणा निर्माण गर्छ । 

तर मेरो विचारमा राज्यको वैधानिक नीति अनुरूप यहाँसम्म कि अहिलेका राष्ट्रपति भएकै बेलामा पनि रिपब्लिकन र डमोक्र्याटहरू दुवैले मुसलमानलाई देशभित्र आउन दिनुहुँदैन भन्ने कुरामा विरोध गर्छन् । यी दुवै पार्टीले खुलेआम रूपमा असमानताको पक्षपोषण गर्दैनन् । दुवै पार्टीका सिनेटरहरूले अझै पनि प्रयास गरी रहेका छन् कि उनीहरूले अर्को राम्रो बाटो पछ्याउन । राष्ट्रपति ट्रम्पले जे जस्तो काम गरे पनि हामी त्योभन्दा भिन्न गर्न चाहन्छौँ । हो कहिले काँही धम्की आयो भन्छन् तर त्यो मुसलमानबाट आयो भनेर भन्दैनन् । सुरक्षा चुनौती आएको हुन सक्छ । त्यस कुरालाई हामीले पनि मान्नुपर्ने हुन्छ । यहाँ बुझ्नुपर्ने कुरा के छ भने जर्ज डब्ल्यु बुस र बाराक ओबामाको शासनकालमा जति देशहरूलाई अध्यागमनमा निषेध अथवा लिमिटेड गरिएको थियो आज पनि तीनै देशहरूलाई अहिलेका राष्ट्रपतिले अगाडि सारेका हुन् । त्यो नयाँ कुरा होइन । त्यो त विगत १६ वर्षदेखि चलि आएको थियो । 

के ‘आतङ्कवाद’ भन्ने शब्दलाई नयाँ ढङ्गले परिभाषित गर्नुपर्ने हो ? किनभने अमेरिकीहरूलाई जति बेला लाग्छ ऊ आतङ्कवादी भइहाल्छ र जति बेला लाग्छ ऊ शान्तिको नोबेल पुरस्कारका लागि चुनिन्छ । त्यसैले के यसले नयाँ परिभाषाको माग गर्दैन ?
 

मैले के कुरा भन्न सक्छु भने अमेरिकाले भनेको कुराले फरक पर्छ तर विश्वमा जति ‘भ्याकुम’ आएको छ त्यो अमेरिकाका कारणले मात्र आएको होइन । विश्वमा राजनीतिमा भैरहेको परिवर्तन उनीहरूको आफ्नो समाजमा, संस्कारमा आएको परिवर्तनले पनि महत्वपूर्ण स्थान ओगटछ । विश्वका विभिन्न समुदायहरूमा विभिन्न खाले परिवर्तन आइरहेका छन् । जहाँसम्म रह्यो आतङ्कवादको कुरा मलाई लाग्छ कुनै समय अमेरिकामा कम्युनिस्टहरूलाई आतङ्कवादीका रूपमा हेरिन्थ्यो । हेयका रूपमा हेरिन्थ्यो । त्यो मान्छे कम्युनिस्ट हो अर्थात त्यो खराब अथाव घृणाको पात्रको रूपमा हेरिन्थ्यो । त्यसैले गर्दा मलाई लाग्छ यो परिभाषालाई सीमित गर्नुपर्नेछ । 

पाकिस्तानको उदाहरण लिने हो भने तपाईंले कसैलाई अपहरण गर्नुभयो, यदि तपाईंले सङ्गीन अपराध गर्नुभयो भने पाकिस्तानको ‘एन्टी टेरेरिजम एक्ट’ले तपाईंले आतङ्क फैलाएकाले आतङ्कवादी भन्न सक्छ । त्यसैले यसलाई पुनरपरिभाषित गर्नुपर्ने आवश्यकता छ । पाकिस्तानले आतङ्कवादलाई सही सम्बोधन गर्न सकेको छैन । जबसम्म तपाईंले यसको वास्तविक परिभाषा के हो भनेर भन्न सक्नु हुन्न तबसम्म कसरी यसविरुद्ध तपाईं लड्न सक्नु हुन्छ ? अमेरिकामा आतङ्कवाद के हो भन्ने बारेमा विभिन्न काम भएका छन् । तर मिडियाका लागि यो एउटा प्रचार गर्न मिल्ने शब्द बनेको छ । 

सायद पाकिस्तानी सेना साउदीको सुरक्षा दृष्टिकोणमा उसका लागि कुनै अर्थ राख्ने खालको होला । विभिन्न सङ्गठनहरूको घुसपैठमा साउदी अरेबियाले निकै काम गरेको छ । उनीहरूले यहाँ मात्र होइन पूरै उत्तर अफ्रिकामा पनि लगानी गरेका छन् । उनीहरूको पछाडि को छ म भन्न सक्दिनँ । 

कुनै बेला अफगानिस्तानमा रसियान सेना हुँदा तालिवानलाई हुर्काउन अमेरिकी सरकारले निकै लगानी गर्यो । पछि त्यहि तालिवानलाई ढाल्न लगानी गर्नु पर्यो । ओसामा बिन लादेन, जसको नामलाई अमेरिकीहरूले निकै घोके । उसलाई त्यहाँसम्म पुर्याउने पनि अमेरिकी सरकार र मार्ने पनि अमेरिकी सरकार । शीत युद्धको समयमा अफगानिस्तानसहितका देशमा आफ्नो वर्चश्व बढाउन र सोभियत प्रभाव घटाउन अमेरिकी सरकारले सीआईए मार्फत अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा मदरसा खोल्न खेलेको भूमिका आज फेरि टाउको दुखाइ भएको छ । त्यसैगरी इन्डोनेसिया, मलेसिया, भियतनाम, कम्बोडिया, चिली, इक्वेडरसहित अधिकांश ल्याटिन अमेरिकी देशहरूमा गरेको कत्लेआम र हिजोआज पूरै मध्यपूर्वलाई चिहान बनाउन जसरी अमेरिका र नाटो लागि रहेको छ के त्यो आतङ्कवाद होइन ? हमला गर्ने आतङ्कवादी कि त्यसको प्रतिरोध गर्ने आतङ्कवादी ?

सोभियतलाई रोक्न पक्कै पनि अमेरिकी सरकारले अफगानिस्तानमा धेरै काम गरेको हो । तर यसलाई पूर्णतामा हेर्ने हो भने मदरसासहित अन्य ठाउँमा दिइने लगानी अमेरिकाको होइन कि साउदी अरेबियाको हो । बाहिरबाट हेर्दा होइन, यो त सीआईएले पठाएको होला भन्ने लाग्छ तर विलियन्स अफ डलर साउदीले त्यहाँ खर्च गरिरहेको छ । 

साउदी अरेबियाको सरकारलाई अमेरिकाको नाङ्गो सहयोग छ भनेर मैले भनी रहनुपर्छ र ? यो त कस्तो कुरा भयो भने सिरिया र कतारमा अमेरिकीहरूको कुनै सहभागिता नै छैन भने जस्तो । 
विश्लेषण जसरी पनि गर्न सकिन्छ । मलाईं के कुरा थाहा छैन भने साउदीसँग कहाँबाट पैसा आयो तर मलाई के थाहा छ भने साउदी सरकारले त्यहाँ खर्च गरी रहेको छ । अमेरिकाको सहभागिताभन्दा पहिले पनि र पछि पनि । सायद पाकिस्तानी सेना साउदीको सुरक्षा दृष्टिकोणमा उसका लागि कुनै अर्थ राख्ने खालको होला । विभिन्न सङ्गठनहरूको घुसपैठमा साउदी अरेबियाले निकै काम गरेको छ । उनीहरूले यहाँ मात्र होइन पूरै उत्तर अफ्रिकामा पनि लगानी गरेका छन् । उनीहरूको पछाडि को छ म भन्न सक्दिनँ । 

उनीहरूले नवाज सरिफको पछिल्लो निर्वाचनमा बधाई आदानप्रदान र सेलिब्रेसनका लागि मात्र थप सात सय मदरसा बनाउने बताएका छन् । म वकिल हो त्यसैले मलाई प्रमाण चाहिन्छ । प्रमाणहरूले के भन्छन् भने पाकिस्तानमा हजारौँ वर्षदेखि सिया, सुन्नी, क्रिस्चियन, सिख आदि रही आएका छन् तर हालका दिनहरूमा त म जस्तो भइनस भने त काफिर हो भन्ने जुन संस्कार आएको छ, त्यो साउदी अरेबियाको प्रोजेक्ट हो । उसले यस्ता धेरै काममा आफ्नो लगानी गरेको छ । 

कुनै पनि धर्म, सम्प्रदायका मानिसलाई चाहिने न्यूनतम कुरा भनेको गाँस–बास–कपास र शिक्षा, स्वास्थ्य हो । मेरो विचारमा इस्लाममा निकै चर्को कुरा गर्नेहरूको प्रतिशत जम्मा १०–१५ होला । तर तिनैहरूको कुरा समाचारमा बारम्बार आउँदा मानिसहरूमा गलत धारणा निर्माण हुन गएको छ ।

भनेपछि एउटा मुसलमानलाई अताङ्कवादी र एउटा अफ्रिकीलाई युद्धले ग्रस्त भोको नाङ्गो देख्ने धारणाको निर्माण कहाँबाट भइरहेको छ त ?
मेरो विचारमा यो छविको निर्माणमा पहिलो विश्वका मुलुकहरूको नवउपनिवेशवादी नीति र सोचले काम गरेको छ । अफ्रिका जहाँ तपाईंले बोक्ने मोबाइल, युरेनियम, हिराको खानी छ, आज तपाईंले त्यसलाई माबाइल र कम्प्युटरका खोस्टा फाल्ने ‘डम्पिङ साइड’ बनाई दिनुभएको छ । त्यसै गरी संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका खेलेको मुसलमान जातिलाई तपाईंले आतङ्कवादी देख्न थाल्नुभएको छ । हामी भन्न सक्छौँ, त्यो सही हो ? पक्कै पनि यो सही धारणा होइन । तपाईंले यदि कसैमाथि शासन गर्नुपर्नेछ भने तपाईंले त्यसलाई यस्तै कुरा भन्नुभयो भने सजिलो हुन्छ । मैले माथि नै भने यी सबै धारणाहरूको निर्माण नवउपनिवेशवादी मोडेलबाट गरिँदैछ । 

युरोप–अमेरिकाले कुनै पनि देशमा युद्ध गर्न चाहे भने त्यसलाई आतङ्कवादी र इस्लामिक टेरर भनेपछि युद्ध गर्न सजिलो हुन्छ । त्यसपछि तपाईंसँग तर्क गर्न सजिलो हुन्छ । तर यो कुरालाई ती देशहरूले मान्दैनन् । मानिसहरूको अमानवीकरण गरेर आफ्नो कुरा लाद्नसम्म यो कुरा चल्छ तर यो वास्तविकता होइन । आज आममानिस गाँस–बास–कपास र शिक्षा, स्वास्थ्य चाहन्छ । यो कुरालाई स्थापित गर्ने हो भने तपाईंले युद्ध लाद्न पाउनु हुन्न । त्यसैले विभिन्न खाले अवधारणाहरूको निर्माण गरिन्छ । यो युद्धका लागि तयार पारिएको धारणा हो । 

आज अमेरिकाका लागि इस्लाम खतरा हो अथवा समस्या ?
कुनै पनि धर्म, सम्प्रदायका मानिसलाई चाहिने न्यूनतम कुरा भनेको गाँस–बास–कपास र शिक्षा, स्वास्थ्य हो । मेरो विचारमा इस्लाममा निकै चर्को कुरा गर्नेहरूको प्रतिशत जम्मा १०–१५ होला । तर तिनैहरूको कुरा समाचारमा बारम्बार आउँदा मानिसहरूमा गलत धारणा निर्माण हुन गएको छ । सबै मानिसहरू एकै खाले हुँदैन चाहे त्यो जुनसुकै धर्म सम्प्रदायको किन नहोस् । तपाईं हेर्नुस् त आज अमेरिकामा ह्वाइट नेसनालिस्टहरू उभारमा छन् । तर तिनीहरूको सङ्ख्या पनि निकै कम छ । भन्नुको अर्थ इस्लाममा मात्र चर्का कुरा गर्नेहरू छैनन्, त्यस्ता त अन्यत्र पनि छन् । उग्रवाद आजको विश्वको साझा समस्या हो । हाम्रो समाजको समस्या हो । यसलाई हामीले भातृत्वका माध्यमबाट हल गर्न सक्छौँ । त्यसका लागि हामीमा सहकार्य गर्ने भावना हुनुपर्छ । 

तपाईं अल्पसङ्ख्यकको अधिकारको क्षेत्रमा काम गर्नुहुन्छ, आज मुनाफाखोर कर्पोरेटका कारणले अल्पसङ्ख्यकको हक अधिकार स्वयम् राज्यद्वारा सङ्कुचित हुँदै गइरहेका छन् । यसलाई तपाईंले कसरी हेर्नुभएको छ ?
अल्पसङ्ख्यकहरूमाथि हमला भइरहन्छन् र त्यसको खिलाफ सङ्घर्ष गर्ने संस्थाहरू पनि बनिरहन्छन्, क्याम्पेनहरू चली रहन्छन् । यसको मोडालिटी र जस्टिफिकेसन चेन्ज हुँदै जान्छ । यस्तो हुँदा कहिलेकाहीँ समावेशिताको राजनीति असाधारण बन्न पुग्छ । विभेदहरूका पनि मोडालिटी चेन्ज हुन्छन् । त्यहीअनुसार सङ्घर्षका रूप पनि फेरिन्छ । अमेरिकाकै कुरा गर्नुस् न अहिलेका राष्ट्रपति अनुदार देखिएका छन् तर उनका विपक्षमा सङ्घर्ष गर्नेहरूको एकता पनि जबरजस्त छ । राष्ट्रपति एउटा नियम लागू गर्न खोज्छन्, त्यसको विकल्पमा अर्को मुद्दा पर्छ र न्यायालयबाट स्टे अडर आउँछ । अधिकारको लडाइँ यसरी नै लडिन्छ । त्यसैले देशमा सक्रिय न्यायपालिका चाहिन्छ । 

तर समाजमा हजारौँ वर्षदेखि चलिआएको परम्परा एकै पटक अन्त्य भइहाल्दैन । त्यसका लागि समय लाग्न सक्छ । समाजले त्यसलाई स्विकार्न समय लाग्छ । जस्तै नेपालमा छाउपडी प्रथा कानुनद्वारा बन्देज लगाइएको छ तर त्यो समाजको व्यवस्थामा चलिरहेको छ । समाज यसरी नै अघि बढ्ने हो । कानुनी कुरालाई अगाडि बढाउन मानिसहरूमा त्यही अनुरूपको चेतनाको पनि खाँचो हुन्छ । नभए तपाईंले आफ्नो अधिकारको लडाइँ सबलतापूर्वक लड्न सक्नु हुन्न । 

समानताको आन्दोलनबारे चर्चा चल्दै गर्दा याद आयो अमेरिकामा दास प्रथा अन्त्य भएको यतिका वर्ष भइसक्दासमेत आज पनि काला–गोराबीच विभेद हुन्छ भन्ने सुन्न, पढ्न पाइन्छ । काला–गोराबीचको विभेदको अवस्था आजको दिनमा अमेरिकामा कस्तो छ, केही बताइदिनु न ?
जस्तै हिन्दु परम्परामा विभेदको लामो शृङ्खला छ, त्यस्तै अमेरिकामा पनि दास प्रथाको लामो शृङ्खला छ । यति लामो वर्षसम्म विभेद चलिआएको समाजमा आज बल्ल एक सय ५० वर्ष मात्र भयो यो अन्त्य भएको । सम्झनुस् त योभन्दा विभेदको इतिहास कति लामो थियो । त्यसैले समाजमा त्यसको प्रभाव नजानिदो रूपमा रही रहेको हुन्छ । त्यो खाडल पुरिन अझै २–३ सय वर्ष लाग्न सक्छ । त्यसका लागि तपाईंले सामाजिक शिक्षामा, न्यायपालिकामा सबलीकरण गर्दै जानुपर्ने हुन्छ । कानुन र समाजका बीचमा यो मतभिन्नता रही रहन्छ । तर तपार्इंले यसलाई जोड दिएर नै बदल्नुपर्ने हुन्छ । कानुनका आफ्ना सीमा हुन्छन् । उसले आफ्नै ढङ्गले काम गर्ने गर्छ । त्यसैगरी समाजका पनि आफ्नै प्रक्रियाहरू हुन्छन् । 

एउटा प्रश्न यहाँ टड्कारो रूपमा के उठ्छ भने तपाईं अल्पसङ्ख्यकहरूको पक्षमा काम गर्छु पनि भन्ने र अमेरिकी नागरिक पनि भइरहन पाऊँ भन्ने, कुरा के आफैमा विरोधाभाषी भएन र ?
हेर्नुस् मासिनको जीवन विरोधाभाषहरूले भरिएको हुन्छ । म तपाईंले भनेको कुरालाई स्विकार्छु तर मैले मेरो ठाउँबाट बोलिन भने कसले बोल्नेछ ? हामी जस्ता मान्छेहरू नै अमेरिकी कानुनले के भन्छ र के भइरहेको छ भनेर अगाडि बढेनौँ भने र चुप लागेर बस्यौँ भने के हुन्छ ? भन्नुको अर्थ समाज जसरी चलिरहेको छ, त्यसरी नै चल्न दिने अथवा त्यसलाई थप राम्रो बनाउन आफू अघि सरेर पहल लिने ? हो म के ठान्छु भने म रहुन्जेल पनि यी कुराहरूमा सुधार हुँदैनन् होला तर मैले मेरो काम गर्नैपर्छ । म त्यसैले यो क्षेत्रमा काम गर्न चाहन्छु । म कानुनी ढङ्गले अल्पसङ्ख्यकहरूको अवस्थाको बारेमा लडिरहन चाहन्छु । म तपार्इंलाई भन्न चाहन्छु किनारा बसेर यो राम्रो भयो र भएन भन्नुभन्दा आफैले त्यसलाई राम्रो र सफा बनाउने जिम्मेवारी उठाउनै पर्छ । त्यसका लागि तपाईंले केही कुरा त्याग्नुपर्ने हुन्छ । म त्यसका लागि तयार छु । मेरा केही साथीहरू जो कम्प्युटर इन्जिनियर हुन उनीहरू पहिले राजनीति भनेको राम्रो होइन भन्थे आज उनीहरू बाहिर बसेर हामीले सिस्टमलाई फेर्न सकिँदो रहेनछ भनेर राजनीतिमा आएका छन् । म उनीहरूलाई सम्मान गर्छु किनभने उनीहरूले आफ्नो भागको जिम्मेवारी पूरा गर्ने आँट गरे । त्यसैले म पनि यो जिम्मेवारी लिन चाहन्छु । म अरूलाई सहयोग गर्न चाहन्छु । मलाई सहयोग गर्न चाहनेहरूलाई पनि म स्वागत गर्न चाहन्छु । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेश ज्ञवाली
नरेश ज्ञवाली

नरेश ज्ञवाली रातोपाटीका अन्तर्वार्ताकार तथा विचार पृष्ठका संयोजक हुन् । अन्तर्वातासँगै उनी लेख, फिचर र समाचारमा कलम चलाउँछन् । @GyawaliNaresh 

लेखकबाट थप