बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विगतका विडम्बना : समृद्धिको खाँचो

बुधबार, २० मङ्सिर २०७४, ११ : ३९
बुधबार, २० मङ्सिर २०७४

    विगतमा पनि नेताजीहरूले भोटका निम्ति यसैगरी हात जोड्नुहुन्थ्यो । जितेर पदमा पुगेपछि जनताले माग र समस्या बोकेर नेताजीका ढोकामा लामै समय धाउनुपथ्र्यो ।

अब भने जनतामा परिवर्तनको आशा जागेको छ । जनतामा अधिकार प्रत्यायोजन गर्दै अपनत्वकोे चेतना बढ्दै गएको आभास जनताले गर्दै छन् । उम्मेदवार छनोट, मतदाता बहस अनि पार्टीका चुनावी प्रचारसँगैआ–आफ्ना दलीयसमस्या र एजेन्डामा हिंसात्मक चुनौतीका बाबजुत प्रचारको सरगर्मी बढेकै छ ।

बुद्धभूमिको देशमा दशौँ वर्ष सङ्क्रमणको घाउ नपुरिएको इतिहास बनिसक्यो । लगभग दुई दशकको वसन्तपछि मुलुकले स्थानीय चुनावको रेखाचित्र कोर्ने जमर्को गर्दै छ । सत्तामोहको साङ्लोमा देखिँदै आएका भड्किला घटनाले निम्त्याएका कहालीलाग्दा नरसंहारसँग नेपाली मन युगौँदेखि हैरान छ । अब पनि युद्ध, झगडा, आतङ्क, भयग्रस्त त्रासदी सोचले नेपाल परिवर्तन गर्ने हो भने त्यो पक्कै जनताका लागि पाच्य हुन सक्दैन । बरु वार्ता र टेबलको बहसबाट माग स्पष्टोक्तिमा जागरुक बन्ने तरिकाबाट जनताको साथ लिन सकिने कुरा सत्य नहोला । संविधान निर्माण भयो तर कार्यान्वयनमा सत्तादाउको चक्रसँगै अप्ठ्यारा सङ्क्रमणका पीडा छँदै छ, तर संविधान कार्यान्वनसँग समृद्धिको आशा जनतामा अवश्य बढेको हो । जनविश्वासका आकाङ्क्षाले नेतृत्वलाई आआफ्ना हठमा त्यागको मध्यमार्गसँग हातेमालो गर्न मार्गमा आग्रह गर्दै छ । यो सङ्क्रमणकालीन संवेदनशील समयमा बम आक्रमण, झडप र बेमेलका अप्ठ्यारा तगारा नथपिऊन्, जनभावना वन्दनीय छ । निर्वाचनसँगै संविधान कार्यान्वयनको लोकतान्त्रिक चरणले नातो गाँस्न चाहेको छ । टुसाएको यो आशाले हुर्कन पाउनु आखिर सबैको हीतकारक पनि त हो । संविधान कार्यान्वयनको मूल बाटोमा मानवअधिकारले हुर्कन पाउने आशा गाँसिएको छ ।

  जनता बाध्य छन्, पार्टीको पछाडि लागेमा मात्र न्यायालयको ढोकामा पुग्ने आधार बन्ने तर निमुखाका त्यस्ता आवाज खोलाको गीत बन्ने गरेका पीडादायी गुनासाहरु कम छैनन् । डाडुपन्यौँ आपैmँसँग बोकेर पाकेको भातमा बेकारको किचलो गर्दै गर्दा अर्कैले पेट भर्ला र भोकै पेट ग्यास्टिकको शिकार बन्ने अवस्था नआउला भन्न पनि त सकिँदैन । यसर्थ घोषणापत्रका मृगतृष्णा अनि भाषणका सैद्धान्तिक खोक्रोपनभन्दा अब मुलुकको परिवर्तनका लागि विकासका बाटामा मतभेदको अन्त्य आवश्यक छ । सहमतिको सुमार्गमा सम्पूर्ण जनता, दल र देश एकढिक्का हुनुको अर्को विकल्प भेटिँदैन । यसका लागि त निर्वाचनपूर्व र निर्वाचन पश्चात् पनि यदि राष्ट्रप्रेमी भाव छ भने सकारात्मक सोचले विकासमा जुट्ने खुबी असल नेतृत्वमा हुन्छ । विगतमा पनि यस्तै आकर्षक घोषणापत्र आए तर भोट जितिसक्दा बिर्सिएकै हुन् । आज पनि त्यस्तै घोषणापत्र बोकेर पाटीहरू जनताका घरदैलोमा दगुर्दै छन् । जनताको प्रश्न छ, के ती सङ्कल्पहरू मङ्सिर २१ गतेसम्मका लागि मात्र कोरिएका त होइनन् । व्यक्ति र पाटी दह्रो हुन वैज्ञानिक विकासका जनमुखी कार्यक्रम तय हुनु मात्र होइन लागू गरिँदै जानु लाभप्रद होला । रेल्वे विकास, सिंचाइ, कृषिमा आधुनिकता, विद्युत विकास, स्वरोजगारिताको आवश्यकतासँग अत्याधुनिक यन्त्र र प्रविधि विकासको खाँचो देशको मूल आवश्यकता हो । 
 

   अब देशले आर्थिक समुन्नतिको अपेक्षा गरिरहेको छ ।  शिक्षित बेरोजगारितालाई सम्बोधन गरियोस्, बौद्धिक प्रयोगको अवसरको ढोका खुलाओस्, युवा वर्गको तीव्र चाहना हो । देशको मूल खम्बा युवा हुन् तर ती युवाको सीप, पौरख र बौद्धिक सक्षमता परदेशको भूमिमा बलात्कृत भइरहेको छ । कतिले बिहान बेलुकाको छाक टार्न नपाएर भोकभोकै मर्नुपरेको पीडा होला तर भन्नै लाज लाग्छ, दशौँ वर्ष देश– घटना जन्माउने, बहस गर्ने, सत्ता टिकाउने, सत्ता ढाल्ने, घुक्र्याउने, सरकार बनाउने, विपक्षीको राम्रै काम भए पनि कमजोरी खोजेर बज्र हान्दै भद्रगोलको चक्रव्युहमा सीमित बन्यो । भड्किएका साम्प्रदायिक सद्भावसँगै दण्डहीनता बढेमा जनआशा र अपेक्षाले बाइपास बन्नुपर्ने आशङ्का बढ्छ । कुर्सीको खेलमा जनतालाई ढाल र तरबार बनाएर जनताकै शिकार हुनुमा हाम्रै सूक्ष्म सोचले भूमिका खेल्दो रहेछ । निर्दोष जनतालाई सिकार गरेर, लडाएर, भाइचाराको सद्भाव निमोठिँदा आर्थिक समुन्नतिको महायज्ञमा अवरोध उत्पन्न हुन्छ । 

    आर्थिक असमानता र दीनताले ग्रसित समाजमा चेतनाको स्तरवृद्धिका सपना मृगतृष्णा बनिदिन्छन् । यसर्थ बोलीले स्वाभिमान जोगिँदैन अब सीमामा प्रवेशाज्ञा लागू होस्, सीमाङ्कनको रेखा आधुनिक म्यापका आधारमा तय होस् । देश विकासका बहुल बाटालाई खोजेर सीमा रक्षासँगै आर्थिक समुन्नतिका आधारतिर लम्किने बेलामा बेमेल र द्वन्द्वमा अलमलिए देशको गरिबी बढ्दै जाने पनि सत्य हो । भारत र चीन दुवै छिमेकी राष्ट्रमा समदूरी भावको आफ्नै स्पष्ट नीति नहुँदा आज एककाँधे सम्बन्धको चोट र दलनको सिकार बन्नुपरिरहेको छ । फलतः भारतीय सैनिकको ज्यादतिले कञ्चनपुरमा गोविन्द गौतमजस्ता कति नेपाली सहिद बनेकै हुन् । सदियौँदेखि सीमाक्षेत्रमा बन्दुक बोकेर दशगजा मिच्ने, हैकम जमाउने, रातारात सैनिक दमन गर्ने, नेपालीका घरमा छिरेर जथाभावी कुटपिट गर्ने गरेका कर्तुतको सिकार बनेको भारतीय निर्ममतालाई हेर्दा पनि परनिर्भरताको दलन, गरिबीका कारण हेपिएको सत्य हो । कोही भौतिक, कति मानसिक त कति नैतिक रूपमा भारतीय दादावादको शिकार बन्नुको कारण पनि त यही हो ।

देशको आन्तरिक सबलता नहुँदाको फाइदा उठाउँदै हेपिएका कारण बाह्य क्षेत्रबाट आन्तरिक मामिलामा चासो राख्दै आएका घटनाले परनिर्भरताको लाचारी भावलाई बुझाउँछ । अङ्ग्रेजको गोला बारुदसँग नचुकेको नेपाली वीरतामा मानवता, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका आफ्नै इतिहास छैनन् र ! हामी आफ्नो कमजोरी पक्ष पस्किरहँदा दया गर्नुपर्ने हेपिएको मुलुक बन्नु आपैmँमा नालायकपन बन्न जान्छ । हामी सदैव निरीह मुलुक बनिरहन पुग्ने खतरामा अब सबै दल र जनताले बुझ्नुपर्छ ।
    घर झगडामा नै रगतको होली खेलिरहनुमा कुनै मानवीय शान्ति र समृद्धिका आशा बच्लान् र । हामी घरमा अब पनि सहमतिका बाटामा जानुको साटो आआफ्नै हठमा अड्किरह्यौँ भने देशले चाहेको उपलब्धि निरर्थक नबन्ला पनि त भन्न सकिन्न । आज सहिदका तस्बिर बोकेर भोटको भीख माग्ने नेतृत्वले आफ्नो खुबीलाई पनि त नियाल्नु आवश्यक छ । नेतृत्वको पछाडि लागेर आक्रोस, अडान र हुलमुलको जत्थामा एउटै झण्डाको कदर गर्ने हामीले आफ्नै परिवारमा राँको जलाएको लामो इतिहास हामीसामु छन् । तेस्रो बाह्यशक्तिको ज्यादतीमा एकढिक्का भएर न्यायको झोली थाप्ने बेलामा आफ्नैसँग आरोप–प्रत्यारोप गर्दै आपैmँले सास्ती जन्माएर आपैmँ त्यसको पीडामार्पmत् गाँड कोराकोर गरेको लामो विगतले हामीलाई गरिबी, बेरोजगार र अभावको ढाकर बोकाएको पनि धेरै भइसकेछ । कार्यकर्तालाई बलिको बोको बनाउने अभियानमा होम्न जान्ने तर विकासको महायज्ञ र शान्तिको रङ्गमञ्चमा तरङ्गीत बनाउन नसक्ने विसङ्गतिको मुस्लोले प्रायः कुनै राजनीतिक नेतृत्व लगभग अछुतो छैन । प्रत्येक घटनाको सम्बोधनका लागि सडकमै उत्रिनुपर्ने संस्कार र बाध्यता बनिरहेको छ, देशमा । 

    हामीले देशमा थुप्रै विकासवादी, लोककल्याणकारी भाषण सुन्दै आएका छौँ अनि यसैमा विचार र बहस गर्दै आएका छौँ । समाज परिवर्तन र विकासको ढोल पनि पिटिरहेकै हुन्छ । शितयुद्धको घेरासँग राजनीतिक–साम्प्रदायिक जटिलता चुलिँदै जाँदा भावनात्मक एकताका तर्क फोस्रा बन्दै छन् । आखिर के हुँदै छ, के पाइँदै छ र वास्तवमै चाहिएको के हो ? के हामीले भन्दै गरेका, मागिएका सबै कुरा पाएपछि हामी सन्तुष्ट बन्न सकौँला ? आज हरेक नागरिक राजनीतिक सोचसँग किन वितृष्ण छ अनि किन नेतृत्वलाई गाली गरिरहन्छ– चोकमा, सडकमा, चियाको चुस्कीसँगै क्याफेमा ! हिजोका कैयौँ युद्धजन्य पासोबाट बल्लतल्ल उम्केको विचार नसङ्लिँदै दलदलतिर भासिएका तीतासत्यबाट सिङ्गो मुलुक आक्रान्त छ । भूराजनीतिको ध्रुवीय सत्तायात्राका महायज्ञबाट चुलिएको विकेन्द्रीकृत सोचको बेमेलमा कस्तो शान्तिको उद्घोष छ ? संविधान निर्माणको सफलतामा जुटेको सबल दलीय एकताको उदाहरण मकाउनु कुनै एक दलको असक्षमता पनि त होइन ।

लोकतन्त्र, गणतन्त्र या आजसम्म भनिएका उपलब्धिबाट कति प्रतिशत जनता लाभान्वित भएकाहोलान् ? आखिर हिजो बगेको रगत र आजको रगतमा के फरक छ र ? के देशले हिजोका युद्ध र द्वन्द्वका लागि प्रायश्चित गर्न सकेको छ त ? हाम्रा शिष्ट, सभ्य राजनीतिक आदर्शका पानाहरू दोबाटोमा बलात्कृत भइरहेका छन् । चुनावी माहोलभन्दा आज हरेक नेतृत्वले भिरेको पाटी मात्रको विकेन्द्रित कुभावनाका अङ्कुरले सिङ्गो देशको आवाज छायाँमा पर्नु घातक हुन्छ । यसर्थ चुनावी चर्चामा प्राचीन परम्पराको चक्र नचलोस्– जनता विनित छन् । चुनावी माहोलमा विकास र रोजगारको आवश्यकता जोडियोस्– देशलाई शान्ति र सुव्यवस्थाको पाटोमा राखेर लैजाने द्रुतमार्गतिर पाइला चलोस् ।

    हामी नेपालमा नेपाली हौँ तर पश्चिमी विचारका ठेलीलाई लादने सपनामा खेल्छौँ । पश्चिमी सभ्यता पढ्नु, जान्नु र बुझ्नु अवश्य ज्ञानात्मक कसीमा सह्राहनीय होला तर के हाम्रो पहिचानबाटै हामी बाँच्न सक्दैनौँ ? अलिकति खारेर, अलिकति तिखारेर अलिकति आधुनिकतामा बढेर अनुशासित भएर हाम्रो देश चल्न सक्दैन र ? शान्तिप्रेमी बुद्धका वाणीमा भन्दा पश्चिमी मोडलको आधुनिकीकरणका विचारले देशमा प्रश्रय पाइरहेको भान हुन्छ । राजर्षि जनकको इतिहासबाट सिक्नुपर्ने राजनीतिभन्दा हामीलाई पश्चिमी संस्कारका द्वन्द्ववादप्रति दिलचस्पी छ । सीताको आदर्शमा प्राचीन बुर्जुवापनाको संज्ञा दिन्छौँ । हिंसा, युद्ध, द्वन्द्व यी घटनाका प्रत्येक सिँढीले आखिर हामीमा कति खुशी दियो ? के मारेर या मरेर पाइएको उपलब्धि मात्र हाम्रो सबल इतिहासको दृष्टान्त हो ।

हाम्रा तमाम दुर्घटनातिर फर्किँदा प्रजातान्त्रिक सोचमै खिया लागेको प्रतीत हुन्छ । हामीले सहिदको नामसँग जुन विषय जोड्छौँ, त्यहाँ अमानवीय अशान्तिका लप्का छन् । धर्मनीति, अर्थनीति र राजनीतिमा विज्ञ विदुरको धर्मसङ्कटमा राष्ट्रियताको बचाउ अनि भिष्मपितामहको माटोको कसममा सत्यता जति सम्मानजनक छ, त्यति धृतराष्ट्रको महत्वाकाङ्क्षा र कौरवको कपटी राजनीति निन्दनीय छ । रामको आदर्शनीतिका धनी हामीलाई भोल्टेयर, रुसोको विचारमा गर्व गर्दा अशान्ति र अराजकताले मलजल पाउँछ । यसर्थ अब शान्ति र समृद्धिमा नेपाली मौलिकपनसँगै विकासको खाँचो महसुस हुन्छ ।

[email protected]

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमेश भट्टराई ‘सहृदयी’
रमेश भट्टराई ‘सहृदयी’
लेखकबाट थप