केन्द्रीय संस्करण

माधव नेपालका प्रतिस्पर्धी दीपक कुँइकेलले निकाले भावुक विज्ञप्ति

person access_timeमंसिर २३, २०७४ chat_bubble_outline0

काठमाडौं–काठमाडौं क्षेत्र नं. २ मा एमाले नेता माधव कुमार नेपालसँगको चुनावी प्रतिस्पर्धामा पछाडि परेपछि नेपाली कांग्रेसका नेता दीपक कुँइकेलले एक विज्ञप्ती जारी गर्दै निर्वाचनबाट आएको परिणामलाई सहज रूपमा लिएको  बताएका छन् ।  काठमाडौं २ को मतगणना अन्तिम चरणमा पुगेको बेला  कुँइकेल नेपाल  भन्दा निकै पछि परेका छन् । 

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागि हुने र सदभाव ब्यक्त गर्ने  मतदाताहरूलाई हार्दिक धन्यवाद दिँदै राजनीतिक संक्रमणकालको अन्त्य गर्दै शान्तिप्रक्रिया सार्थक निश्कर्षमा पुर्याउने र लोकतन्त्रलाई बलियो बनाउने क्रममा नर्वाचनको परिणामलाई सहजरुपमा लिनुपर्ने उनले बताएका छन् । 

विज्ञप्तिमा उनले भनेका छन्–‘काठमाडौ क्षेत्र नं –२ का जनताको माया–ममता र सदभाव रहँदारहँदै पनि निर्वाचनबाट आएको परिणामलाई सहजरूपमा लिएको छु । जित हार प्राविधिक विषय हुन । लोकतन्त्र जोगाउन जस्तोसुकै कठिन मोडमा पनि म कटिबद्ध छु । चुनावी अभियानका क्रममा आफूले उठाउँदै आएका स्थानीय  र राष्ट्रिय  मुद्दाहरू पुरा गराउँन म अविचलित रुपमा यहाँहरुसँगै रहनेछु ।’ 

कुँइकेलले काठमाडौ लगायत देश बासीको शिर कुनैपनि अवस्थामा झुक्न नदिने बताँउदै  काठमाडौको बिकास र उन्नतीमा बिगतमा जस्तै क्रियाशिल रहँदै जनतासँग हातेमालो  गरेर हिड्ने बताएका छन् ।

उनले निर्वाचनको परिणामबाट कत्तिपनि बिचलित नहुन देशभरका लोकतान्त्रिक पक्षधरहरु र शुभचिन्तकलाई आग्रह गर्दै निर्वाचन सम्पन्न गराउन सहयोग गर्नुहुने सूरक्षा निकाय, कर्मचारी, संचारकर्मी, उध्योग÷ब्यवसायीलाई समेत धन्यवाद दिएका छन् ।

आफ्नो  क्षेत्र लगायत समग्र स्थानबाट निर्वाचित सांसदहरुलाई बधाई दिँदै मुलुकको समृद्धि र लोकतन्त्र संस्थागतका लागि काठमाडौको बिकासमा  अविचलित रुपमा जनतासँगै रहने प्रतिबद्धता समेत जनाएका छन् ।  

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ