शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् आज चुनाव हार्ने १२ चर्चित नेता : नारायणकाजीदेखि रवीन्द्र मिश्रसम्म

शनिबार, २३ मङ्सिर २०७४, २३ : ४३
शनिबार, २३ मङ्सिर २०७४

काठमाडौं–प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन भएको तेश्रो दिन पनि केही हेभिवेट नेताहरुले पराजय भोगेका छन् । 

मतगणनाका क्रममा कोही झिनो मतान्तरले पराजित भएका छन् भने कोही फराकिलो मतान्तरले पराजित भएका छन् । यसरी पराजित हुनेमा केही सरकारका मन्त्रीदेखि ४ महिनाअघि पार्टी खोलेर चुनावमा होमिएकाहरुसम्म रहेका छन् ।  

नारायणकाजी श्रेष्ठ   
माओवादी केन्द्रका प्रभावशाली नेता समेत रहेका नाराणकाजी श्रेष्ठ गोरखा क्षेत्र नं. बाट आफ्ना पूर्व सहकर्मी डा.बाबुराम भट्टराईसँग पराजित भएका छन् । एमालेसँगको गठबन्धनबाट श्रेष्ठ र कांग्रेससँगको सहकार्यबाट भट्टराई चुनावी मैदानमा आमने सामने भएका थिए । 
मतगणनाको प्रारम्भमा पटक पटक भट्टराई भन्दा अगाडि लागेका श्रेष्ठ अन्तत उनीसँग ६ हजार ८ सय ७४ मतान्तरले पराजित गरेका हुन् । भट्टराईले ३१ हजार ८ सय ७ र श्रेष्ठले २४ हजार ९ सय ३३ मत ल्याएका छन् । 

डा. शेखर कोइराला  
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला एमालेका चर्चित नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितसँग पराजित भएका छन् । मोरङ क्षेत्र नंं. ६ का उम्मेदवार कोइरालाले ३३ हजार २ सय ६६ मत ल्याए भने उनलाई पराजित गरेका लालबाबु पण्डितले ३३ हजार ९ सय ४१ मत ल्याएका छन् । 

पशुपति शमशेर राणा 
सिन्धुपाल्चोक क्षेत्र नं. २ मा तेश्रो पटक पराजित भएर राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले हारको ह्याट्रिक गरेका छन् । उनी २०६४, ७० तथा ७४ को तीन ओटै निर्वाचनमा पराजित भएका हुन् । नेपाली कांग्रेसको लोकतान्त्रिक गठबन्धनबाट चुनाव लडेका राणालाई एमालेका शेरबहादुर तामाङले ८ हजार मतान्तरले पराजित गरेका हुन् । तामाङले ३८ हजार ४ सय १ मत ल्याँउदा राणाले ३० हजार ६९ मत ल्याएका थिए । 

रामहरि खतिवडा  
२०७० को निर्वाचनमा ओखलढुङ्गाबाट निर्वाचित सांसद रामहरी खतिवडा आकर्षक ढंगले संसदमा प्रस्तुत हुने गर्दथे । संसदीय समितिमा खासगरी लेखा समितिमा कांग्रेसका अर्का पूर्व सांसद धनराज गुरुङ र रामहरी खतिवडा आमन्त्रित सरकारी कर्मचारी तथा मन्त्रीहरुलाई तथ्यपूर्ण रुपमा उनीहरुले गरेको कमजोरी औंल्याई झाँको झारेर पठाउँथे । 
प्रतिनिधी सभा निर्वाचनमा ओखलढुङ्गा क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका खतिवडा एमालेका उम्मेदवार यज्ञराज सुनुवारसँग पराजित भएका छन् । सुनुवारले ३२ हजार ५ सय ८० मत ल्याएका छन् भने खतिवडाले २७ हजार ३ सय ३७ मत ल्याएका छन् । 

विक्रमबहादुर थापा 
महिला बालबालिका तथा समाजकल्याण मन्त्री समेत रहेका राप्रपाका नेता काठमाडौं ७ मा पराजित भएका छन् । उनी एमाले नेता तथा पूर्व सांसद रामवीर मानन्धरसँग पराजित भएका हुन् । मानन्धरले १८ हजार १ सय २ मत ल्याएका छन् भने थापाले १० हजार ७९ मत ल्याएका छन् । 
 

उदयशमशेर राणा
नेपाली कांग्रेसका यूवा नेता तथा सरकारका अर्थराज्यमन्त्री उदयशमशेर राणा प्रहरीका पूर्व डिआइजी नवराज सिलवालसँग पराजित भएका छन् । ललितपुर क्षेत्र नं.१ मा बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका सिलवालले २६ हजार ९ सय ४६ मत ल्याउदै जित निकालेका हुन् । पराजित भएका राणाले २० हजार ७ सय २९ मत ल्याएका छन् । 
 

अम्बिका बस्नेत
 सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी कांग्रेस नेतृ अम्बिका बस्नेत काठमाडौं क्षेत्र नं. ३ मा एमाले नेता कृष्ण राईसँग पराजित भएकी छिन् । राईले १९ हजार १ सय ६९ मत ल्याए भने पराजित भएकी बस्नेतले १४,८८४  मत ल्याएकी छिन् । उनी यसअघि समानुपातिकबाट सांसद बनेकी थिइन् । 

दीपक प्रसाद कुँइकेल 
नेपाली कांग्रेसका नेता दीपक प्रसाद कुँइकेल २०७० मा भएको निर्वाचनमा माधव कुमार नेपाल विजयी भएर छोडेको काठमाडौं २ मा निर्वाचित भएका थिए । माधव नेपाल विजयी भएर छोडेपछि भएको उपनिर्वाचनमा कुँइकेलले जित निकालेका थिए । लोकतान्त्रिक गठबन्धनबाट चुनाव लडेका उनले १४ हजार २ सय ९ मत पाए भने विजयी भएका माधव नेपाले २७ हजार ३ सय ६६ मत ल्याएका छन् । 

नवीन्द्रराज जोशी 
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशी काठमाडौं क्षेत्र नं. ८ मा एमालेका नेता जीवनराम श्रेष्ठसँग पराजित भएका छन् । श्रेष्ठले १३ हजार ३ सय ९७ मत ल्याएका छन् भने जोशीले १२ हजार ९ सय ९३ मत ल्याएका छन् । 

डा.राजन भट्टराई  
एमालेका यूवा डा. राजन भट्टराई कांग्रेसका यूवा नेता गगन थापासँग पराजित भएका छन् । २०७० को निर्वाचनमा नेकपा एमालेबाट समानुपातिकबाट सांसद बनेका भट्टराई बौद्धिक नेताका रुपमा चिनिन्छन् ।
 काठमाडौं क्षेत्र नं. ४ मा बाम गठबन्धनबाट उम्मेदवार बनेका भट्टराईले १८ हजार १ सय ४० मत ल्याए भने उनलाई पराजित गरेका गगन थापाले २१ हजार ५ सय ५८ मत ल्याएका छन् । 

झक्कु सुवेदी 
काठमाडौं निर्वाचन क्षेत्र नं. ६ मा बाम गठबन्धनबाट उम्मेदवारी दिएका झक्कु सुवेदीलाई झड्का लागेको छ । उनी नेपाली कांग्रेसका नेता तथा रक्षामन्त्री भीमसेनदास प्रधानसँग पराजित भएका हुन् । प्रधानले १६ हजार ७ सय ८५ मत ल्याँउदा सुवेदीले १५ हजार ४ सय ८५ मत ल्याएका छन् । २०६४ सालमा भएको संविधान सभा निर्वाचनमा झक्कुले एमाले नेता माधवकुमार नेपाललाई पराजित गरेका थिए । 

रवीन्द्र मिश्र
बीबीसीका पूर्व पत्रकार विवेकशील साझा पार्टीका प्रमुख रवीन्द्र मिश्र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भए । काठमाडौं क्षेत्र नं. १ मा नेता सिंहले १० हजार ९ सय ३७ मत ल्याए भने विवेकशील साझाका मिश्रले १० हजार २ सय १८ मत ल्याए । निर्वाचन अगाडि यसबर्ष राष्ट्रिय दल बन्ने र अर्को पटक सरकारको नेतृत्व गर्ने नारा बनाएको उनको पार्टीलाई झड्का लागेको छ । सामाजिक सञ्जालबाट निर्वाचन प्रचार प्रसारलाई तीब्र बनाएको उनको दलले काठमाडौंका अन्य क्षेत्रहरुमा पनि जित निकाल्न सकेन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप