शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर दुईमा मधेशवादी दललाई मात्र प्रदेश सरकार गठन गर्न कठिन !

मङ्गलबार, २६ मङ्सिर २०७४, १२ : २०
मङ्गलबार, २६ मङ्सिर २०७४

काठमाडौँ । प्रदेश नम्बर दुई को प्रदेश सभामा कुनै पनि पार्टी वा गठबन्धनको स्पष्ट बहुमत आउने सम्भावना कम रहेको देखिएको छ । पछिल्लो तथ्यांकलाई आधार मान्ने हो भने कसैको पनि स्पष्ट बहुमात नआउने संकेत पाइएको हो ।

प्रदेश नम्बर २ को प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी जम्मा १०७ सिट रहेका छन् । जसमध्ये प्रत्यक्षमा ६४ र समानुपातिकमा ४३ सिट रहेका छन् । बहुमतका लागि ५४ सिट आवश्यक हुन्छ ।

अन्य प्रदेशमा सजिलै बहुमत ल्याए पनि बाम गठबन्धनले यो प्रदेशमा त्यही अनुसारको नतिजा ल्याउन सकेन । त्यसो त यो प्रदेशमा बाम गठबन्धनभन्दा पनि मधेशवादी दलहरुकै बहुमत आउन पूर्वानुमान गरिएको थियो ।स–साना दल मिलेर राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले गठबन्धन बनाएर चुनाव लडेपछि मधेसमा उनीहरुले सजिलै बहुमत पुर्याउने अनुमान धेरैको थियो । तर, प्रदेश सभामा नतिजा त्यही अनुसारको देखिएको छैन ।

यस्तो छ नतिजा
प्रत्यक्षमा रहेका ६४ सिट मध्ये संघीय समाजवादी फोरमले सर्वाधिक १७ सिट जितेको छ भने नेकपा एमाले र राजपाले समान १४–१४ सिट जितेको छ । बाँकी सिट माओवादी र काँग्रेसले जितेको छ । समाचार तयार पार्दासम्म अझै एउटा सिटको नतिजा आउन बाँकी छ जसमा नेपाली काङ्ग्रेसले अग्रता लिइरहेको छ । यसरी प्रत्यक्षबाट मात्र कसैको बहुमत पुग्ने देखिँदैन । 

यता समानुपातिकमा ४३ सिट रहेको छ । समानुपातिकतर्फको पछिल्लो मतगणना अनुसार अग्रस्थानमा ३१ प्रतिशत मतसहित काङ्ग्रेस रहेको छ । दोस्रो स्थानमा २७ प्रतिशत मतसहित राजपा, तेस्रोमा संघीय समाजवादी फोरम र एमालेको १४–१४ प्रतिशत, माओवादी केन्द्रको ७ र अन्यको ७ प्रतिशत रहेको छ ।

यही प्रतिशतलाई आधार मानेर सिट विभाजन गर्ने हो भने कङ्ग्रेसले कम्तिमा १३, राजपाले १२, फोरम र एमालेले ६ र माओवादीले ३ तीन सिट जित्ने देखिन्छ । बाँकी ३ सिटको बाँडफाँड अन्तिम नतिजा आएपछि कसको पोल्टामा जाने निश्चित हुनेछ ।

बहुमत पुर्याउन सकस

प्रदेश सरकार गठन गर्न बहुमतका लागि ५४ सिट आवश्यक हुन्छ । तर, कुनै पनि गठबन्धन वा दलले यति सिट ल्याउने सम्भावना कम देखिन्छ । संघीय समाजवादी फोरमको प्रत्यक्षमा १७ र समानुपातिकमा अनुमानित ६ तथा राजपाको प्रत्यक्षमा १४ र समानुपातिकमा अनुमानित १२ सिट जोड्दा ४९ सिट हुन आउँछ । यो बहुमतभन्दा कम हुन्छ ।

यसरी मधेसमा प्रदेश सरकार गठन गर्न मधेसवादी दलले नेपाली काङ्ग्रेस, माओवादी वा एमालेमध्ये एकलाई साथमा लिन पर्ने देखिन्छ ।

बाम गठबन्धनबाट एमाले र माओवादीको मत जोड्दा बहुमतबाट निकै टाढा रहेको छ । दुई पार्टीले पनि सरकार बनाउँदा अन्य पार्टीहरुसँग सहकार्य गर्नुपर्ने देखिन्छ ।

मुद्दामा निकटता र यसअघि गठबन्धन निर्माणको प्रयासलाई हेर्दा प्रदेश नम्बर दुईमा मधेशवादी दल र नेपाली काङ्ग्रेस मिलेर प्रदेश सरकार गठन गर्ने प्रबल सम्भावना रहेको छ ।

यद्यपि, यसका लागि अझै अन्तिम परिणाम भने पर्खनै पर्ने हुन्छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप