शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

बुधबार, २७ मङ्सिर २०७४, १५ : ५५
बुधबार, २७ मङ्सिर २०७४

पर्सा– मतदाता शिक्षाको कमीका कारण पर्सामा १० प्रतिशत भन्दा बढी मत बदर भएको छ ।  निर्वाचन आयोग तथा राजनीतिक दलले मतदातालाई मतदानबारे जानकारी दिन नसकेका कारण पर्साबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ १० दशमलव ०९ प्रतिशत मत बदर भएको हो । 

चार निर्वाचन क्षेत्र रहेको पर्सामा २ लाख ६ हजार ४७२ मत खसेको थियो । तीमध्ये २० हजार ८३५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

राजनीतिक दलका नेता कार्यकर्ताले मतदातालाई मतदान बारे जानकारी नगराएको र तीनवटा मत पत्रका कारण मतदाता अलमलमा परेकाले बदर मतको संख्या बढी भएको पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिए । 

एउटै मतपत्रमा चारवटासम्म स्वस्तिक छाप लगाएको मतपत्र मतगणनाका क्रममा भेटिनुले पनि मतदाता शिक्षाको कमि देखिएको छ, उनले भने, प्रत्यक्षको मतपत्र समानुपातिकको मतपेटिकाबाट पनि फेला परेको अवस्था छ । 

पर्सामा मतदाता शिक्षा कार्यक्रमका लागि रु ३६ लाख खर्च गरिएको जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए । उनले पर्साको चार निर्वाचन क्षेत्रका लागि ३५१ जना मतदाता शिक्षा कार्यकर्तालाई प्रशिक्षित गर्दा ३५ लाख र सञ्चार माध्यमका लागि एक लाख खर्च गरिएको बताए । 

कूल ७१ दशमलव ४२ प्रतिशत मतदान भएको पर्सामा राजनीतिक दल तथा निर्वाचन कार्यालयको कमजोरीकै कारण २० हजार भन्दा बढी मत सदुपयोग हुन सकेको छैन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप