पराजयपछि पनि युवा नेता अनिल शर्मा मतदातासँगै, भन्छनः ‘तलब नलिने कामदार बनेर जनताकै सुखदुखमा रहन्छु’
काठमाडौं – काठमाडौं क्षेत्र नं १ प्रतिनिधिसभाको रोचक चुनावबाट प्रतिस्पर्धात्मक हिसाबले पराजित बन्न पुगेका युवा नेता अनिल शर्माले टोलटोलमा र समुह समुह बीचमा अन्तरक्रिया कार्यक्रमबाट मतदाताहरुलाइ धन्यवाद दिदै राजनीतिमा नयाँ कोर्षको सुरुवात गरेका छन् ।
काठमाडौ क्षेत्र नं १ को विकासको लागि र यहाँको जनताको सुख दुखको लागि आफ्नो भुमिकालाइ सधैं उर्जाशिल बनाइराख्ने प्रतिबद्धताका साथ अहिले शर्मा पुन मतदाताका बीच पुगीरहेका छन् ।
आज शुक्रबार बेलुका उनि काठमाडौं १० को शान्तिबिनायक टोलमा यस्तै मतदाताका बीच कार्यक्रम राख्दै थिए । त्यस समय मतदाताहरुको मन पनि बद्लिएको सजिलै देख्न सकिन्थ्यो । एक मतदाताले रातोपाटीसँग कुरा गर्दै भने ‘हारेपछि आफ्नो अनुहार नै नदेखाउने राजनैतिक संस्कारलार्र्इ अनिल जी को उम्मेदवारीले परिवर्तन गरेको छ ।’
पराजित बनिसकेपछि अनिलको अनुहारमा खास्सै चमक र मुस्कान घटेको थिएन । उनले भने, ‘मैले प्रतिबद्धता अनुसारको काठमाडौं बनाउन म मेरो ल्याकतले भ्याएसम्म निरन्तर लागिरहनेछु र म काठमाडौ क्षेत्र नं १ का जनताको तलब नलिने कामदार बनेर सुख दुखमा साथ दिनेछु ।’
उनले चुनावी अभियानमा सहयोग गर्ने सबैलाइ धन्यवाद पनि दिए ।
उनले चुनावी नतिजा आफ्नो पक्षमा नआउने बित्तिकै मतदाताहरुमा धन्यवाद र बिजयी प्रकाशमानलार्इ बधाइ दिदै चुनाव सक्किने बित्तिकै सबै कुरा नसक्किने कुरा बिज्ञप्तिमार्फत सार्वजनिक गरेका थिए ।
विज्ञप्तिमा भनिएको थियो, ‘यसपाली जनताको मन मात्रै जितियो, अर्को पटक चुनाव जित्नेछु । विजयी प्रकाशमान श्रेष्ठ दाइलार्इ बधाइ तथा कार्यकाल सफलताको शुभकामना दिन चाहन्छु । युवाको काँधमा नेतृत्व प्रदान गर्न अहोरात्र खटिएका सबै कार्यकर्ता तथा शुभचिन्तक र मतदाताहरुमा बिशेश धन्यवाद । लाग्ला चुनाव सकिने बित्तिकै, सबै कुरा सक्कियो । तर चुनाव सक्किने बित्तिकै सबै कुरा सकिन्न ।’
‘मुख्य त हामीले युवाको भविष्य बनाउनु छ र हामीले यो देशको भविष्य बनाउनु छ’, उनले भने, ‘साँच्चै भन्ने हो भने, देशको युवाको भविष्य भनेकै, यो देशको भविष्य हो। देशको समृद्धि गर्ने यो महाअभियानमा र मैले काठमाडौ क्षेत्र नं १ का जनतासङ्ग गरेका प्रतिबद्धताहरु पुरा गर्न मेरो तहबाट भूमिकालाइ हराउन दिने छैन ।’