शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रेपलाञ्चोकमा ४६ जनाको जमानत जफत,  निर्वाचित सांसद सबै नयाँ

आइतबार, ०२ पुस २०७४, ११ : ०८
आइतबार, ०२ पुस २०७४

बनेपा ।   प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा काभ्रेपलाञ्चोकका स्वतन्त्रसहित सबै साना राजनीतिक दलका ४६ जनाको जमानत जफत भएको छ । 

प्रतिनिधिसभा क्षेत्र नं १ मा स्वतन्त्रसहित १३ दल, प्रतिनिधिसभा क्षेत्र नं १ (क) मा पाँच जना, प्रतिनिधिसभा क्षेत्र नं १ (ख) मा आठ जना, प्रतिनिधिसभा क्षेत्र नं २ मा नौ जना, प्रतिनिधिसभा क्षेत्र नं २(क) मा पाँच जना र प्रतिनिधिसभा क्षेत्र नं २ (ख) मा छ जनाको जमानत जफत भएको हो । 

देशभक्त गणतान्त्रिक मोर्चा, नेकपा (माले), विवेकशील साझा पार्टी, संघीय समाजवादी फोरम नेपाल, नेपाल मजदुर किसान पार्टी, नेपाली जनता दल, राष्ट्रिय जनता पार्टी र स्वतन्त्रसहित विभिन्न साना राजनीतिक दलको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

सदर मतको १० प्रतिशत मत नभए जमानत जफत हुने कानूनी प्रावधान रहेको जिल्ला निर्वाचन अधिकारी मधुकर पोखरेलले जानकारी दिनुभयो । प्रतिनिधिसभा क्षेत्र नं १ मा स्वतन्त्रसहित १५ दल, प्रतिनिधिसभा क्षेत्र नं १ (क) मा सात जना, प्रतिनिधिसभा क्षेत्र नं १ (ख) मा १० जना, प्रतिनिधिसभा क्षेत्र नं २ मा ११ जना, प्रतिनिधिसभा क्षेत्र नं २ (क) मा सात जना र प्रतिनिधिसभा क्षेत्र नं २ (ख) मा आठ जनाको उम्मेदवारी परेको थियो । दलका उम्मेदवारले प्रतिनिधिसभाका लागि रु १० हजार र प्रदेशसभाका लागि रु पाँच हजार जमानत बुझाएका थिए । 

निर्वाचित सांसद सबै नयाँ 

प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित सांसद सबै नयाँ अनुहार हुन् । प्रतिनिधिसभा क्षेत्र नं १ मा निर्वाचित गंगाबहादुर तामाङ दोङ, स्थानीय तहको निर्वाचनमा तेमाल गाउँपालिकामा पराजित हुनुभएको थियो । उहाँ माओवादी केन्द्रको जिल्ला राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । तामाङ यस पटक पहिलो चोटि संसद् छिर्दै हुनुहुन्छ । 

प्रतिनिधिसभा क्षेत्र नं २ मा निर्वाचित पत्रकार गोकुल बाँस्कोटा संविधानसभा निर्वाचन २०७० मा नेपाली काँग्रेसका कञ्चनचन्द्र वादेसँग पराजित हुनुभएको थियो । उहाँ नेकपा (एमाले) काभ्रेपलाञ्चोकका अध्यक्ष पनि रहिसक्नुभएको छ । 

प्रतिनिधिसभा क्षेत्र नं १ (क) बाट निर्वाचित रत्नप्रसाद ढकाल, प्रतिनिधिसभा क्षेत्र नं १ (ख) बाट निर्वाचित चन्द्र लामा, प्रतिनिधिसभा क्षेत्र नं २ (क) बाट निर्वाचित लक्ष्मण लम्साल, प्रतिनिधिसभा क्षेत्र नं २ (ख) बाट निर्वाचित वसुन्धरा हुमागार्इं सबै नयाँ हुनुहुन्छ । काभ्रेपलाञ्चोकमा प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार निर्वाचन क्षेत्र छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप