बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश नं ५ को राजधानी बुटबल बनाउनुपर्ने माग

आइतबार, ०२ पुस २०७४, १२ : ३०
आइतबार, ०२ पुस २०७४

कृष्ण दर्नाल

पाल्पा । यहाँका बासिन्दा, राजनीतिक दल र जनप्रतिनिधिले प्रदेश नं ५ को राजधानी रुपन्देही जिल्लाको बुटवलमा बनाउनुपर्नेमा जोड दिएका छन्। 

पाल्पाका जननिर्वाचित सांसद, राजनीतिक दल, पूर्वसांसद र बासिन्दाले प्रदेशको राजधानी तोक्दा प्रशासनिक सुगमता, पूर्वाधारको विकास र भूगोलको सुगमतालाई ध्यानमा राखी बुटवलमा नै राजधानी बनाउन उपयुक्त रहेको जनाएका छन् । 

पूर्वाधारको विकास, अन्तर्राष्ट्रिय विमानस्थल, प्रशासनिक पहुँच र सुगमता, पर्यटकीय क्षेत्र लुम्बिनी र शान्तिका अग्रदूत गौतम बुद्ध जन्मस्थल नजिकको शहर भएकाले पनि ५ नं प्रदेशको केन्द्र बुटवलमै हुनुपर्ने पाल्पालीको माग रहेको नेकपा एमालेका केन्द्रीय सदस्य तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेयले बताए । 

“देशको सन्तुलित विकास, जनताको हित र सुविधालाई सम्बोधन गर्न केन्द्र, प्रदेश र स्थानीय तहको व्यवस्था गरिएको केन्द्र तोक्दा सबैलाई पायक पर्छ”, उनले भने । 

नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा नवनिर्वाचित प्रदेश सांसद तुलाराम घर्तीले प्रदेश राजधानी तोक्दा प्रशासनिक सुगमता, पूर्वाधारको विकास र भूगोलको सुगमतालाई हेर्नुपर्ने बताए । 

नेकपा एमालेका पोलिटब्यूरो सदस्य दलबहादुर राना, प्रदेशसभा सदस्य पुरनमान बज्राचार्य, युवराज खनाल र नारायण आचार्यले प्रदेशको राजधानी बुटबल सबैलाई पायक पर्ने जिकिर गरे । 

एमालेका धनेन्द्रराज घिमिरे, माओवादी केन्द्रका चक्रब्यू थापा, राप्रपा प्रजातान्त्रिकका डुलबहादुर कुँवर, नेकपा मालेका धनराज पौडेल, सरोकार भएका टीकाराम पौड्याल, जिल्ला समन्वय समितिका सभापति दयाराम बस्याल, तानसेन नगरपालिका प्रमुख अशोक शाहीले पनि बुटबललाई राजधानी तोक्नुपर्ने माग गरे । 

४१ को धरौटी जफत 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अधिकांश दलका उम्मेदवारको धरौटी रकम जफत भएको छ । गत मंसिर २१ गते सम्पन्न निर्वाचनमा खसेको मतको १० प्रतिशत मत ल्याउन नसक्ने दलका उम्मेदवारको धरौटी जफत हुने कानूनी व्यवस्थानुरुप नै प्रतिनिधिसभा र प्रदेशसभामा दल तथा तथा स्वतन्त्र उम्मेदवार गरी ४१ जनाको धरौटी रकम फिर्ता हुन सकेन । 
दुई प्रतिनिधिसभा रहेको पाल्पामा २१ जनाको उम्मेदवारी परेको मध्ये नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहेक दलका धरौटी जफत भएको हो । 

दश प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको धरौती जफत भएको मुख्य निर्वाचन अधिकृत शंकरराज बरालले जानकारी दिए । पाल्पामा प्रतिनिधिसभासर्फ १७ र प्रदेशसभा २३ उम्मेदवारको धरौटी जफत भएको हो । दुई प्रतिनिधिसभामा एमाले तथा चार प्रदेश क्षेत्रमध्ये तीनमा एमाले र एकमा माओवादी केन्द्र विजयी भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप