शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ब्रिगेड कमान्डरदेखि सांसदसम्म

शुक्रबार, ०७ पुस २०७४, १२ : १०
शुक्रबार, ०७ पुस २०७४


तीनपटक मन्त्री र चारपटक सांसद भएका बलबहादुर केसीले निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरिसकेका छन् । पूर्वमन्त्री केसी संवत् २०६४ को संविधानसभा निर्वाचनमा पूर्वमन्त्री गोपाल किरातीसँग समेत पराजित भएका थिए । उनी यसपटक पूर्वब्रिगेड कमान्डर हेमकुमार राई ‘सुरवीर’ सँग पराजित भएका हुन् । प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि केसीले आइन्दा निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरिसकेका छन् । 

को हुन् नवनिर्वाचित सांसद सुरवीर ?

प्रतिनिधिसभा सदस्यमा निर्वाचित हेमकुमार राई ‘सुरवीर’ ०६१ मा मकनवानपुर, धादिङ, बारा, पर्सा, रौतहटमा थिए । त्यतिबेला रामबहादुर थापा ‘बादल’ पूर्वी कमान्ड (काठमाडौंपूर्व सबै) इन्चार्ज थिए । वर्षमान पुन ‘अनन्त’ डिभिजन कमान्डर थिए भने सुरवीरचाहिँ बटालियन कमान्डर ।  

पूर्वी कमान्डअन्तर्गत मकवानपुरमा रहँदा उनी पूर्वी कमान्ड तथा डिभिजन कार्यालय सरुवा भए । त्यतिबेला कमान्ड तथा बटालियन कमान्ड कार्यालय दोलखा, रामेछाप, सोलुखुम्बु, ओखलढुंगा, ताप्लेजुङ र संखुवासभाको हिमाली क्षेत्रमा थियो । सेक्युरिटी बटालियन कमान्डमा बढुवासहित सरुवा भए पनि उनी सेक्युरिटी बटालियन कमान्डरको हैसियतले सेक्युरिटी मुख्य काम हुँदाहुँदै पनि मोर्चामा समेत गइरहन्थें । ‘बादलको सुरक्षार्थ सेक्युरिटीको एउटा कम्पनी रहन्थ्यो,’ उनले सुनाए, ‘म पनि कहिलेकाहीँ रहन्थें । मेरो बटालियनमा ३ सयजना थिए । मोर्चाको अग्रभागमा पनि हुन्थें । झन्डै वर्ष दिनजस्तो सेक्युरिटी बटालियन कमान्डरको भूमिका निर्वाह गरें ।’ 

कामको मूल्यांकन हुँदै गयो । उनी ब्रिगेड भीसीमा पदोन्नति भए । कार्यक्षेत्र मोरङ तोकियो । उनी मोरङ पुगे । त्यहाँ पुगेको केही समयपछि शान्तिप्रक्रिया सुरु भयो । ‘नेताहरू खुला राजनीतिमा गए । वृहत् शान्ति सम्झौताको नीतिअनुसार, लडाकु अस्थायी शिविरमा खुम्चियौं,’ उनले अतीत सम्झे, ‘युद्धको औचित्य सकिइसकेको थियो । राजतन्त्र अन्त्य र गणतन्त्र स्थापना भइसकेकाले रुचि हुनेहरू राजनीतिक क्षेत्रमा आउँछौं भन्दा पनि पार्टीले दिएन । चार–पाँच वर्ष अस्थायी शिविरमै बस्नुपर्यो ।’ सेना समायोजनपछि राजनीतिक क्षेत्रमा आएका उनी स्वेच्छिक अवकाश लिँदा ब्रिगेड कमान्डर थिए । 

सशस्त्र युद्धमा बम बनाउन, एम्बुस थाप्न, दुस्मनलाई आक्रमण र कब्जा गर्न जानेका उनी राजनीतिक कार्यकर्ता बनेर जनताको सेवा गर्न लोभिए । लोभ गरेअनुसार उनी प्रनिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । 

‘जनताले परिवर्तनसँगसँगै विकास र समृद्धि चाहेका छन् । थिए,’ नवनिर्वाचित सांसद राईको तर्क छ, ‘उनीहरूले युवापुस्तालाई टेस्ट गर्न चाहेका छन् । एउटै व्यक्ति पटकपटक निर्वाचित भए पनि सम्बन्धित नेताबाट सीमितको मात्रै आकांक्षा पूरा भए भन्ने गुनासो सुनिन्छ । त्यही सोचले मतदाताले मलाई निर्वाचित गरेका हुन् ।’ 
सोलुखुम्बुवासीले नयाँ नेतृत्व खोजेको पुष्टि भएको छ । युवाले नेतृत्व गर्नुपर्छ भन्ने उनीहरूको जनचाहना बुझिन्छ । ‘जनताप्रति निष्ठावान् बनेर पाँच वर्षमा उदाहरणीय र अर्थपूर्ण काम गर्नेछु,’ उनले प्रतिबद्धता व्यक्त गरे, ‘वाम गठबन्धनसम्बद्ध नेता तथा कार्यकर्ता र मतदाताको बलले निर्वाचित भएको हुँ । कसैको भावना र चाहनामा ठेस लाग्ने काम गर्ने छैन ।’ 

वाम गठबन्धनसम्बद्ध नेता तथा कार्यकर्ता र मतदातामात्रै होइन, विभिन्न सामाजिक संघ–संस्थासम्बद्ध शुभचिन्तकको सकारात्मक सहयोगले उनको सिंहदरबार यात्रा तय भएको हो । सिंहदरबार यात्रा तय गर्नअघि मतदाताले उनलाई सडक, खानेपानी, विद्यालय र स्वास्थ्यचौकी भवन, मिललगायत अन्य थुप्रै मागेका छन् । माग पूरा गर्न सकिने नै छन् । निर्वाचन प्रचार प्रसारमा सोलुखुम्बुवासीले उनीसँग आधारभूत आवश्यकबाहेकका पूरा गर्नै नसकिने माग गरेका छैनन् । ‘मतदाता सबैको माग पूरा गर्न नीतिगत समस्या हुन सक्ला,’ उनले कूटनीतिक उत्तर दिए, ‘तर, मतदाताको गाउँमा सडक, विद्यालय, स्वास्थचौकी भवन, खानेपानी पुर्याउन असम्भव छैन । जुन माग पाँच वर्षभित्र पूरा गरिछाड्छु ।’ 

नवनिर्वाचित सांसदको प्राथमिकतामा परेका पाँच काम ।
(१) विकास निर्माण । 
(२) गुणस्तरीय शिक्षा ।
(३) गुणस्तरीय स्वास्थ्य ।
(४) पर्यटन प्रवद्र्धन ।
(५) रोजगारी सिर्जना ।

गर्न चाहने र इच्छाशक्ति भएका नेतालाई पाँच वर्ष भनेको थोरै होइन । नवनिर्वाचित सांसद राई पाँच वर्षे समय अधिकतम सदुपयोग गर्ने प्रतिबद्ध छन् । उनी जिल्लाको विकास निर्माणमा त्यत्तिकै सचेत छन् । गुणस्तरीय शिक्षा र स्वास्थ्यबारे अनभिज्ञ छैनन् । 

बेरोजगारको चर्को समस्या नजिकबाटै बुझेका छन् । जिल्लाका सबै युवालाई सरकारी जागिरे बनाउन सकिँदैन । तर, सबैलाई सम्बन्धित युवाको इच्छाअनुसार सीपमूलक तालिम गराएर उत्पादनमूलक काममा लगाउने, व्यापार व्यवसायमा ‘इन्गेज’ गराउने उनको भनाइ छ ।

संसारकै सर्वोच्च शिखर सगरमाथा सोलुखुम्बुमा पर्छ । सोलु र खुम्बु क्षेत्र जोडिएर बनेको जिल्लाको खुम्बु क्षेत्र पर्यटकीय हिसाबले प्रचुर सम्भावना भएको ठाउँ हो । ‘तर, प्राकृतिक दृश्यावलोकनभन्दा अरू पर्यटनको सम्भावित ढोका खोलिएन,’ उनले भने, ‘यहाँ विविध जातजातिको बसोवास छ । त्यसैले सोलुखुम्बुमा सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्न सकिन्छ ।’ त्यसका लागि पर्याप्त र व्यवस्थित पूर्वाधार निर्माणमा उनको परीक्षा लिने थालिएको छ । जिल्लाको दक्षिण क्षेत्र कृषिका लागि उर्वर मानिन्छ । जिल्लामा पाँच जलविद्युत् आयोजना निर्माणाधीन छ । झोलामा खोला राख्ने दोब्बर होलान् । निर्माणाधीन जलविद्युत् आयोजना र झोलामा रहेको खोला सञ्चालनमा ल्याएर उज्यालो सोलुखुम्बु बनाउने उनको इन्द्रेणी सपना उनैले पूरा गर्नुपर्नेछ । जनताले लिने पाँचवर्षे परीक्षामा सुरु भइसकेको छ । उनी पास हुन्छन् कि हुँदैन अहिल्यै भन्न सकिँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप