शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओली, जनादेश र सङ्कल्प

आइतबार, ०९ पुस २०७४, १३ : ५४
आइतबार, ०९ पुस २०७४

काङ्ग्रेसलाई भीरको डिलमा पुर्याएर चुनावमय भएको यो वर्ष वामगठबन्धका लागि उत्साहप्रद बन्यो । देशको शिर उठाउन र जनताको पीर हटाउन काङ्ग्रेस पाखा लाग्नु र स्वाभिमान र समृद्धिको मुद्दालाई जनादेश मिल्नु अपरिहार्य थियो । जनताको दायित्व पूरा भयो । अब दायित्व निर्वाह गर्ने पालो नेतृत्वको हो । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वामपन्थी गठबन्धनको कठोर अग्निपरीक्षा सुरु भएको छ । किनकि एसियाको संयोग भनौँ पुटिनमय रुस, सी जिनपिनमय चीन र मोदीमय भारतसँगै नेपाल पनि ओलीमय बनेको छ । यसरी भूराजनीतिक महत्व र राजनीतिक रङ्गमञ्च दुवै हिसाबले रुस, चीन र भारतकै हाराहारीमा पुग्नु नेपालका लागि अवसर र चुनौती दुवै हो ।

यो अवसर नेपाली जातिले पाएको सुन्दर अवसरमध्ये एक हो । यो अवसरको उपयोग गर्न एकपटक हामीले आफ्नो अनुहार इतिहासको ऐनामा नियाल्नुपर्ने हुन्छ । इतिहासका हरेक कालखण्डमा नेपालले नेतृत्व नपाएको होइन । पृथ्वीनारायण शाह र बहादुर शाह, बीपी र पुष्पलाल, गणेशमान सिंह र मदन भण्डारी, गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल र पुष्पकमल दाहाल, सुशील कोइराला र केपी ओलीले बोकेका सफलता र असफलताका कथा र व्यथाहरूको सिलसिला यसका उदाहरण हुन् । पृथ्वीनारायण शाहको धार पक्रिन बहादुर शाहले मात्र सके । अन्य उत्तराधिकारी र अनुयायीहरू चुकेका कारण नेपालले मूल्य चुक्ता गर्नुपर्यो । बीपीको धार पक्रिन गणेशमान सिंह सफल भएपछि त्यसको लाभ २०४६ सालमा नेपाली जनताको पोल्टामा पर्यो । पुष्पलाललाई घेर्ने जतिलाई रचनात्मक ढङ्गले जवाफ दिने क्रममा मदन भण्डारीले माले र पछि एमालेले उठाएसँगै नेपालको वामपन्थी आन्दोलनले कोल्टो  फेरेको हो । गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहालको मिलनलाई माधवकुमार नेपालले सुगम पारिदिनुका परिणाम हुन् २०६३÷६३ को जनआन्दोलनको सफलता, गणतन्त्रको कार्यान्वयन र माओवादी लडाकुको व्यवस्थापन । सुशील कोइराला र केपी ओलीको सहकार्यले दोस्रो संविधान सभालाई लक्ष्यवर्ती र कामकाजी बनाइदियो । संविधान निर्माण र घोषणाको बेला माओवादीले देखाएको परिपक्व भूमिका सराहनीय रह्यो । यसरी के देखिन्छ भने लक्ष्यवर्ती र स्वप्नदर्शी नेतृत्व र उसलाई प्राप्त हुने साथ र ढाडस्ले मात्र मुलुकको रथ ठीकसँग अगाडि बढ्छ । बेमेल र घात प्रतिघातले मुलुकलाई या त यथास्थितिमा राख्छ या पछाडितिर धकेल्छ ।

२०५४ को विजय उन्मादले एमालेलाई राम्रो गरेन । २०६४ को विजय  उन्मादकै कारण माओवादीको आँगनमा २०७० सालमा औँसीको अवतरण भयो । अब एमाले र माओवादीले अरू केही गर्नु पर्दैन । विजय उन्मादमाथि विजय पाए पुग्छ । किनकि राजनीतिक दलले सोचेभन्दा बढी नै पुरस्कार दिने र दण्डित गर्दा पनि करङ नै धुलो पारिदिने जनताको बानी छ । नेपाली काङ्ग्रेसको पतनबाट वामपन्थीहरूले पाठ सिक्न सकेमा नेपालले बोकेका विराट सम्भावना वास्तविकतामा बदल्न सकिने छ । वामपन्थीहरूले विजय उन्मादको व्यवस्थापन गर्ने हुन् र काङ्ग्रेसले संयम धारण गर्दै आफ्नो चिन्तन, सङ्गठन, र आचरणमा पुनर्विचार र पुनःसंरचना गरेको खण्डमा नेपालको पोल्टामा सौभाग्य उठाउन सकिने छ ।

सरकार गठनका लागि सङ्ख्या र समीकरण भए पुग्छ । यो नभए सरकार बनाउन सकिँदैन र बनेको सरकार पनि टिक्न सक्दैन । पार्टी एकता गर्नको लागि भने दिल, जवाफदेहिता, इमान र जमान चाहिन्छ । खराब नियत नभए दुई किनारा रूपी यी पार्टी जोड्न सहज हुनेछ । नभए एमाले र माओवादीले गठबन्धन संस्कृतिमै चित्त बुझाए पुग्छ । एकताको रथ हाँक्ने नै हो भने नेतृत्वपङ्क्तिले कार्यकर्ताको अदालतसामु केही यक्ष पश्नहरूको उत्तर दिनुपर्ने हुन्छ । बजारमा छरिएको एकता जनताको आदेश हो भन्ने थेगोका पछाडि व्यक्तिपिच्छेका स्वार्थ र चलाखीको खिचडी पाकिरहेको छैन भन्ने सुनिश्चिता खोज्नु कार्यकर्ताको पङ्क्तिको अर्गेल्याइँ होइन । किनकि पार्टी एकताको सुन्दर वहानामा यो वा त्यो प्रकारले इबि साँध्ने खेल बिगतमा भएकै हुन् र फेरि नहोला भन्ने स्थिति छैन । 

अहिले प्रचण्डको साथ ओलीका लागि जति वरदान हो त्यति नै अभिशाफ हुन सक्छ माघव नेपाल र झलनाथ खनालको असन्तुष्टि र असहयोग । त्यसरी नै सरकार र पार्टीको नेता एउटै व्यक्तिले गर्नु हुन्न भन्ने तुरूपको आशय के ? पार्टी एकताको बहानामा ओलीको विस्थापन गर्ने गैह्रसंस्थापनको हुटहुटी पनि कम घातक हुने छैन । दुई पार्टीका दुई अध्यक्षमध्ये एकले त्याग देखाएर सबैलाई द्रवीभूत पार्ने र त्याग र इमानको सत्ता स्थापित गर्न सक्ने सम्भावनालाई नकुरीकनै हतारमा लेनदेन र मोलमोलाई गर्नु उचित होइन । सबै शक्ति ओलीमा थुपार्न खोजियो भनेर तर्कना गर्नुका पछि पनि दालमा केही कालो छ भन्ने देखिनेछ  । 


सरकार गठनको अस्थायी मुद्दासँग दीर्घकालीन महत्वको पार्टी एकताको मुद्दालाई जोड्ने बाङ्गो नियत पनि समस्या हुन सक्छ । माओवादीलाई एमालेमा विलय गराएर प्रचण्डको ओझको चाँडै विसर्जन गर्नुपर्छ भन्ने माओवादीभित्रकै खेलोफड्को पनि घातक हुन सक्छ । पार्टीभित्रका दुई धारको इवि साँध्ने माध्यम आगन्तुक पक्षलाई बनाउने खेल यसअघि २०५८ सालमा माले एमाले एकतापछि चल्दै आएको थियो । एकता निश्चय नै प्रिय र हितकर कुरा हो । यसका उपासकहरूको नियतमा खोट र मनमा कपट नहुँदा मात्र परिणाम राम्रो आउँछ । भुइँको टिप्न खोज्दा पोल्टाको गुम्न सक्ने खतराको अनुमान लगाउने कलाको अर्को नाम हो विवेक । पार्टी चल्ने दिल, शिल र मेलले हो तिक्डमले होइन । तुषसहितको एकता एम्बुसभन्दा घातक हुन्छ । २०६४ सालमा एमालेले भोग्नु परेको चुनावी पराजयमा तुषसहितको पार्टी एकता सबैभन्दा मोटो कारण भएको उदाहरण हामीसँग छ । यसर्थ नेतृत्वपङ्क्ति पार्टी पङ्क्तिलाई पछि गोलमाल नहुने कुराको दरिलो आधार प्रदान गरेर आश्वस्त पार्न जरुरी छ ।

एमालेको अध्यक्षमा ओलीको आगमनपछि एमालेले एकपछि अर्को सफलता प्राप्त गरेको छ र काँग्रेसलाई पाखा लगाएर राष्ट्रिय राजनीतिको मियो बनेको छ । यसअघि विभाजित अवस्थाका विभिन्न वामघटकको पार्टी प्रमुखका रूपमा सबै शीर्ष नेतालाई नेपाली जनताले पाएको इतिहास हामीसँग छ । 
प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सबैको नेतृत्वकाल औसत रह्यो । एक कार्यकाल पूरा नहुँदै कुनै पनि बहानामा ओलीको बिकल्प खोज्नु गुणग्राहिता होइन ।

आफूलाई यहाँसम्म पुर्याउने सिद्धान्त जबज छोड्न नसक्ने ओलीको अन्तरआत्माको आवाजलाई अहंकार ठान्नु कृतघ्नता नै हुनेछ । कसैको दबाब वा लेनदेनको काप नपरेरै ओली आफैले त्यागको प्रतिमूर्ति भएर एकीकृत पार्टीको अध्यक्ष पद प्रचण्डलाई छाडिदिएर त्याग गर्नु प¥यो या प्रचण्डले ओलीलाई एकीकृत पार्टींको अध्यक्षमा प्रस्ताव गर्ने त्याग देखाउन सक्नु पुर्यो । त्यो नगरी नीति एमालेको जबज भएपछि नेतृत्व माओवादीको हुनुपर्यो भन्ने तृतीय स्वरको आशय भयावहपूर्ण छ । यो एक प्रकारको तुष हो र ओलीको करिष्माप्रतिको ईष्र्या पनि । यस्ता समस्याहरू आफैभित्र विद्यमान छन् भने एमालेले माओवादीलाई विनम्रताका साथ आफ्ना समस्या दर्शाउन धक मान्नु हँुदैन । हाम्रै आन्तरिक समस्याका कारणले एकता अलि ढिलो गर्नु पर्ने भयोभन्दा हुन्छ । ६० र ४० को साझेदारीको लक्ष्मण रेखा कायम राखेर पार्टी एकता अलिपछि गर्दा पनि हुन्छ ।

अहिले एमाले र माओवादीको अवस्था लिभिङ टुकेदरमा रहेका युवायुवतीको जस्तो छ । हतारमा विवाह गरेर पछि पारपाचुके गर्नुभन्दा लिभिङ टुगेदरको अवधि लम्बाएर एक अर्कालाई बुझ्नु बुद्धिमानी भएजस्तै पर्याप्त गृहकार्य र खुल्ला छलफल पछिको पार्टी एकता दिगो भरपर्दो र सुखद परिणामदायी हुनेछ । एमालेले जबज छाड्ने कि माओवादीले २१औँ शताब्दीको जनवाद ? सर्वप्रथम एकताको लागि सैद्धान्तिक आधार खडा गरिनु पर्दछ । त्यसपछि सङ्गठन, जीवनशैली र पार्टी पद्धतिको निरूपण आवश्यक हुन्छ । 

माघवकुमार नेपाल र झलनाथ खनाल केन्द्रबाट भल्लादेव र कटप्पा प्रवृत्तिको खटन र काजसरुवा अर्काे संवेदनशील ठाउँमा भएको छ । यो वा त्यो प्रकारका भल्लालदेव र कटप्पा प्रवृत्तिले ओली र दाहाललाई पनि शिवगामी देवी बनाउने खतरा छ । यो भल्नु हँुदैन कि शक्तिको शिरमाथि नाङ्गो तरवार हरदम झुण्डिएको हुन्छ । वाम धु्रवले गर्ने गल्ती, असावधानी र अहङ्कारले एउटा गलत राजनीति नजिर स्थापित गर्ने खतरा छ । त्यो हो काँग्रेस बिना देश चल्न चक्दैन भन्ने नजिर । घाम जस्तै छलङ्ग छ कि वाम धुव्र नचुक्नुको मूल्य काङ्ग्रेसलाई महँगो पर्ने छ भने चुक्नुको मूल्य वामपन्थीका लागि मृत्यु पत्रमा हस्ताक्षर हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दयालबहादुर शाही
दयालबहादुर शाही
लेखकबाट थप