बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नवनिर्वाचित सांसद सुरेशकुमार राई ‘हिमाल’ को जीवन : सिमलको भुवाजस्तै प्रतिनिधि बन्ने ध्याउन्न

सोमबार, १० पुस २०७४, ११ : ३०
सोमबार, १० पुस २०७४

अनेरास्ववियु प्रारम्भिक कमिटीदेखि सशस्त्र जनयुद्धका ब्रिगेड कमिसारसम्मको भूमिका निर्वाह गरेका सुरेशकुमार राई ‘हिमाल’ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । वर्गीय र राष्ट्रिय मुक्ति आन्दोलन निरन्तरताका लागि नवनिर्वाचित राईको पहिलोपटक सिंहदरबार यात्रा तय भएको छ । राजनीतिक नेताका रूपमा सक्रिय रहँदा आफ्नो विचार, भावना, मनोविज्ञान र ‘ट्रेन्ड’ सँग प्रत्यक्ष जोडिएर काम गर्न सक्ने पंक्ति निर्माण गर्ने सपना देखेका सांसद सुरेशकुमार राई ‘हिमाल’सँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी : 

मेरो खाना
सामान्यतः नेपाली खाना मन पर्छ । धानभन्दा मकैको भात, ढिँडो र गुन्द्रुक रोजाइमा पर्छन् । सामाजिक आन्दोलनक्रममा जुनेलो र कागुनोको भात दुई–तीनपटक खाएको छु, त्योचाहिँ खान नपरे हुन्थ्योजस्तो लाग्छ । विभिन्न शीर्षकमा पुगे पनि खानकै लागि रेष्टुरेन्ट जाने बानी छैन । रेष्टुरेन्ट पुगिहाल्दा सलाद, पपकर्न र बदाम माग्छु । पाककलाबारे राम्रै ज्ञान छ । 

मेरो पोसाक
१२–१३ वर्षको हुँदासम्म दौरासुरुवलाल र स्टकोट लगाएँ । त्यसपछि सर्टपाइन्ट लगाउन थालें । लगाउँदा सजिलो हुने कपडा भए पुग्छ । आफन्त, साथीभाइ, शुभचिन्तकले उपहार दिने भएकाले कपडामा त्यति खर्च हुँदैन । मैले आठ वर्षपछि दुई–दुईवटा पाइन्ट, सर्ट र पाइजामा सिलाएँ । निर्वाचनअघि किनेको उल्लिखित कपडाको १० हजार रुपैयाँ परेको थियो । विशेषतः जिन्स कपडा किनेर सिलाएको पाइन्ट लगाउन सजिलो लाग्छ । जिन्सको पाइन्ट सिलाउँदा भक्तपुर र पूर्वमा धरान र विराटनरतिर सिलाउँछु । मैला नदेखिने रङका कपडा रोजाइमा पर्छन् । सानोमा ढाकाटोपी लगाउँथे, हिजोआज ह्याट, क्याप सबै लगाउँछु ।

मेरो फिटनेस
कहिले कहाँ, कहिले कहाँ पुगिरहने भएकाले शारीरिक अभ्यास नियमित छैन । एकैठाउँमा नियमित बस्दा बेलुका खाना खान्न । तर, बाहिरफेर निस्कँदा त्यो पनि सम्भव छैन । सकेसम्म थोरै खाने गर्छु । 

मेरो अध्ययन
नेपालको संविधान दोहोर्याएर पढ्दै छु । ग्रामीण विकास र समाजसम्बन्धी किताब पनि सँगसँगै पढ्दै छु । अध्ययनको विषय राजनीतिशास्त्र भएकाले राजनीति र समाजसम्बन्धी किताब पढ्न जाँगर चल्छ । ‘कहर’ नामक किताब, र रामप्रसाद राईको जीवनी पनि अध्ययन गरिरहेको छु । पुष्पलालको किताब दोहोर्याइरहेको छु ।
म लेख्छु । तर, लेख्न पाइरहेको छैन । म पार्टीको पूर्णकालीन कार्यकर्ता हुँ । किताब धेरै ठाउँमा छन् । काठमाडौं, उदयपुरको गाईघाट, मोरङको विराटनगर र सुनसरीको इटहरीमा गरी झन्डै ३५ सय किताब छन् । सालिन्दा एक लाख रुपैयाँको किताब किन्ने गर्छु । 

मेरो घुमफिर
घुमफिरमा रुचि छ । अरूले राम्रो भनेको ठाउँ पुगे पनि मैले रमाइलो गर्न सकिनँ । नेपालका झन्डै ६० जिल्ला पुगेको छु । चीन, भारतलगायत घुमेको छु । समुद्रमुनिको सहर हङकङको विकासले सीमा नाघेको पाएँ । चीनको सांघाइमा बहुराष्ट्रिय कम्पनीका सबै कार्यालय छन् । त्यहाँको सामाजिक जनजीवन, मानिसको मनोविज्ञानभन्दा विकास अगाडिजस्तो लाग्यो । भारतको दार्जिलिङ, सिक्किम र नयाँदिल्ली पनि लोभलाग्दो छ । 

सगरमाथा आधारशिविरसम्म पुग्ने असाध्यै रहर छ । हिमालपारिका जिल्ला मनाङ, मुस्ताङसम्म पुग्ने रहर मरेको छैन । 

मेरो फुर्सद
फुर्सद नभए पनि निकाल्न सक्नुपर्छ । समय व्यवस्थापन गर्ने हो । परिवारभन्दा टाढा रहेकाले सबै काम आफैंले गर्नुपर्छ । त्यसैले अध्ययन गर्ने समय पर्याप्त निकाल्न पाएको छैन । राज्य समिति प्रदेश समितिमा रूपान्तरण भएपछि त्यसको सचिवको भूमिका निर्वाह गर्दै आएको छु । सचिव भएपछि प्रदेश समितिअन्तर्गतका १४ जिल्लाको सबै सदरमुकाम वर्षमा दुई–तीनपटकसम्म पुग्नुपर्छ ।

फुर्सद पाइहालेमा इन्टरनेटमा रमाउँछु । आफूलाई काम लाग्ने आलेख सेभ गरेर राख्छु । अनलाइन म्यागेजिनका समाचार पढ्छु । आजसम्म परिवारसँग घुम्न र फिल्म हेर्न जान पाएको छैन । तर, आक्कलझुक्कल रेष्टुरेन्टसम्म पुगेका छौं । 

मेरो खेलकुद
फुटबल र बक्सिङ असाध्यै मन पर्छ । जिल्लास्तरसम्म फुटबल खेलेको थिएँ । क्रिकेट, कबड्डी र रेस्लिङ मन पर्दैन । नेपाली फुटबल टिम नै मन पर्छन् । खेलाडीमा विमल घर्तीमगर र नवयुग श्रेष्ठ मन पर्छ । 

मेरो मोबाइल
नेक्सस सिक्स र सामसुङ गरी दुई मोबाइल सेट प्रयोग गर्दै आएको छु । नेक्सस सिक्स भाइले पठाइदिएका हुन् भने सामसुङको ३ हजार २ सय परेको थियो । कामै नलाग्ने भएपछि मात्रै मोबाइल सेट फेर्ने गर्छु । मोबाइलका प्रायः ‘एप्लिकेसन्स युज’ गर्छु । 

मेरो टेलिभिजन
बसाइ एकैठाउँ नभएकाले टेलिभिजन नियमित हेर्न पाउँदिनँ । हेर्न पाउँदा समाचार, टक शो, जोग्राफी च्यानल, फुटबल र बक्सिङ हेर्न मन पराउँछु । टीभी हेर्न समय बेलुका जुर्छ । काठमाडौंको कोठामा ४२ इन्चको सोनी टीभी छ । 

मेरो चलचित्र
म चलचित्र तथा डकुमेन्ट्री हेर्नेमै पर्छु । समय पाउनासाथ ‘पार्टपार्ट’ गरेरै भए पनि हेर्छु । हलमै पुगेरै पनि हेर्न मन पराउँछु । मैले पछिल्लोपटक ‘तुइन’ नामक चिनियाली फिल्म हेरें । हेरकामध्ये कबड्डी–१, २, कुसुमेरुमाल मन पर्यो । दयाहाङ राई, श्रीकृष्ण श्रेष्ठ, मह जोडी, तृप्ति नाड्कर, मौसमी मल्ल, गौरी मल्ल, चिनोको शिव श्रेष्ठ, कुसुमेरुमालको भुवन केसी र नृत्यांगना एलिसा राई मन पर्छ । 

मेरो रोग
आजका दिनसम्म स्वस्थ छु । दीर्घरोग छैन । खानामा सचेत छु । ६ वर्षदेखि सालिन्दा होलबडी चेकअप गराउँदै छु । खानेकुरामा किचकिच गर्दिनँ । 

मेरो भाषणशैली
मेरो भाषणशैली प्रशिक्षणजस्तो हुन्छ । समय परिस्थिति हेरेर बौद्धिक र आक्रामक भाषण गर्न सक्छु । भाषण गरेकै आधारमा जबरजस्ती विवादमा तान्न खोजिएको थियो । संवत् २०७० को निर्वाचनमा उदयपुर गाईघाटको ढिम्कीमा कार्यक्रम थियो । मलाई निम्ता गरिएको थियो । त्यहाँ भाषण गर्दा श्रोता आकर्षित भए । श्रोतामध्येका एकजनाले सोधे– चुच्चे र थेप्चे कसले बनाएको ? म उभिइरहेको पछाडि मन्दिर थियो । मैले भनें– भगवान्लाई सोध्नुपर्छ । उनले फेरि त्यही प्रश्न सोधे । मैले भनें– म द्वन्द्वात्मक भौतिकवादी माओवादी हुँ । यो प्रकृतिले बनाएको हो । अध्यात्मकवादअनुसार भन्ने हो भने भगवान्ले बनाएको भन्ने हुन्छ । तसर्थ, प्रकृतिको व्याख्या गर्ने हो भने अलि लामो हुन्छ । उसले पुनः तेस्रोपटक त्यही प्रश्न सोधे । चुच्चे र थेप्चे माओवादी, काँग्रेस र एमाले कसैले बनाएको होइन, प्रकृतिले बनाएको हो भनेर उत्तर दिएँ । अध्यात्मवादअनुसार भगवान्ले बनाएको हो भनेर जोड दिएँ ।

सो प्रश्न सुनियोजित ढंगले सोधिएको रहेछ । मलाई जबरजस्ती चुच्चो र थेप्चो शब्द ओकल्न लगाउन त्यस्तो प्रश्न सोधिएको थियो । सो शब्द उच्चारणपछि प्रश्नकर्ताले बरगाछी भन्ने ठाउँमा सुरेशकुमार राईले किरात राज्य ल्याउने हो, किरात राज्य ल्याएपछि क्षेत्री, बाहुन लखेट्ने रे, यहाँ बस्ने चुच्चेको नाक काट्ने रे भन्ने अफवाह फैलाइएको थियो । त्यसरी मलाई विवादमा तान्न खोजिएको थियो । 

भाषण गर्नअघि मोटामोटी तयार हुन्छ । 

मेरो मापसे
कहिलेकाहीं लिने गरेको छु । लहरमा लहर मिलाउन सभासमारोहमा लिन्छु । आजसम्म एक्लै पिएको रेकर्ड छैन । धेरैमा एक नत्र आधा पेगसम्म लिने गरेको छु । 

मेरो संगीत
जनवादी गीत प्राथमिकतासाथ सुन्छु । त्यसपछि आधुनिक गीत सुन्ने गरेको छु । कहिलेकाहीं गीत पनि गाउँछु । शम्भु राई, खुसीराम पाख्रिन, जीवन शर्माका स्वर कर्णप्रिय लाग्छ । 

मेरो भूल
मानिस भएपछि जान अन्जानमा गल्ती हुन्छन् । तर, पश्चाताप लाग्नेगरी गल्ती गरेको छैन । गोठाला जाँदा गुच्छा र क्यारेमबोर्ड खेल्दा गाईबस्तुले बाली खाइदिएपछि बुवाले तीन दिनसम्म घर पस्न दिनुभएन । भूल नगरी सजाय नपाए पनि हिमालले आफ्नो समुदायलाई मात्रै काखी च्याप्छ । साँघुरो घेरामा रमाउन चाहन्छ भन्ने आरोपचाहिँ लगाइएको छ । सो आरोप १० वर्षदेखि खण्डन गर्दै आएको छु ।

मेरो घर
बुवाआमाको घर बेलका नगरपालिका–४ उदयपुरमा रहेको छ । मेरो घर छैन । 

मेरो राशी
मेरो राशी कुम्भ हो । ग्रहदशा हेराउने गरेको छैन । 

मेरो सौन्दर्यचेत
कपालमा नरिवल र तोरी तेल लगाउँछु । फेसियल गर्दिनँ । फेसवासले अनुहार धुन्छु । कहिलेकाहीं पफ्र्युम प्रयोग गर्छु । मैले कुन्डलिनीमा फिजियोथेरापी गराएको थिएँ । 

मेरो प्रेम
हाम्रो मागीबिहे हो । बिहे हुनुअघि दुईजनासँग दुईतर्फी प्रेम थियो । प्रेम जनयुद्धले खाइदियो । हामी एउटै संगठनमा थियौं । म पूर्णकालीन भएँ । म जनमुक्ति सेनाको ब्रिगेड कमिसारसम्म भएँ । उहाँ (जोसँग प्रेम थियो) हरूले भूमिका बढाउन सक्नुभएन । जनयुद्धका कारण दुवै प्रेम बलिदान भयो । हिजोआज पनि उहाँहरूसँग भेट हुन्छ । हार्दिकता छ । यो कुरा मैले मेरो परिवारलाई पनि भनेको छु ।

मेरो सपना
संसारकै सुन्दर देशमध्ये नेपाल पनि एक हो । नेपालमा राजनीतिक अवस्था नयाँ ढंग (हिमालदेखि तराईसम्म सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म फरकफरक मनोविज्ञान छ) ले एकीकृत गर्दै समृद्ध मुलुक बनाउनुपर्छ ।

म विचारको राजनीति गर्ने मानिस हुँ । अहिले संसदीय प्रणालीमा चक्कर लगाउनुपर्ने बाध्यता छ । म सांसद भएपछि जिम्मेवारी थपिएको छ । संसदीय राजनीतिमा पनि केही फेरबदल र सुधार गर्न सकिन्छ भन्नेमा भएको छु । अघिल्ला निर्वाचनहरूमा उदयपुरबाट निर्वाचितहरूले गरेका सकारात्मक नकारात्मक प्रवृत्तिको केन्द्रीकृत अभिव्यक्ति बन्न सकूँ भन्ने सपना छ । त्यो सपना पूरा गर्न मन्त्री नै बन्नुपर्छ भन्ने छैन । सिमलको भुवाजस्तो जनप्रतिनिधि बन्ने चाहन्छु ।

उदयपुर प्राकृतिक स्रोत साधनले असाध्यै धनी छ । सुनकोसी, दूधकोसी, सप्तकोसी र कमला नदीले घरेको सुन्दर बगैंचा हो– उदयपुर । जहाँ, थारू, दनुवारमात्रै नभएर पहाडबाट झरेका जनजाति (मगर, तामाङ, राई, थामी) छन् । क्षेत्री, बाह्मण छँदै छन् । सबैको मनोविज्ञान केन्द्रीकृत गर्ने अवसर पाएको छु, त्यसलाई व्यवहारमा उतार्नु छ । यहाँका प्राकृतिक स्रोत साधन परिचालन गरी समृद्ध उदयपुर बनाउने योजनाबद्ध योजना बनाएको छु ।

मेरो मृत्यु
मृत्यु अनिवार्य सर्त हो । जन्म अनिश्चित र मृत्यु अवश्यम्भावी हो । तसर्थ, मृत्युलाई आश्चर्य, दुःखदायी मान्नैपर्दैन । चलचित्र हेर्दा आँखाको डिलसम्म आँसु आउँछ तर मानिस मर्दा अहिलेसम्म रोएको छैन । मृत्युसँग डर लाग्दैन । मृत्युको नजिकनजिक पुगेको घटना थुप्रै छन् । सेकेन्डसेकेन्डले बाँचेको मानिस हुँ । एक हातमा जीवन, अर्को हातमा मृत्यु बोकेर हिँडिएको थियो । 

राजनीतिक कर्म भनेको मलामी धेरै बनाउने काम पनि हो । तर, नेपालमा भ्रष्टाचारी पनि मन्त्री भएका छन् । माओले भनेजस्तो, मेरो मृत्यु कुखुरा प्वाँखजस्तो नभएर पहाडजस्तो होस् भन्ने लोभ छ । मेरो मृत्युमा कसैले शोक नमनाऊन् । मृत्युअघि मेरो विचार, भावना, मनोविज्ञान र ‘ट्रेन्ड’ सँग प्रत्यक्ष जोडिएर काम गर्न सक्ने पंक्ति निर्माण गर्नुपर्नेर्छ । गरिरहेकै छु । त्यति गर्न सकें भने मात्रै, मेरो सपना, योजना अघि बढ्न सक्छ । 

यो जीवनकथा पनि पढ्नुहोस्

नवनिर्वाचित सांसद कृष्णकुमार राईको जीवन : समाजवादभन्दा अर्को सपना देखेको छैन

 

रहबर अन्सारीको जीवन : अहिलेसम्म कसैसँग प्रेममा छुइनँ

‘गीतकार’ उद्योगमन्त्री सुनील थापाको जीवन : प्रधानमन्त्री बन्ने शुभसंकेत

गोर्खा भूतपूर्व संघ अध्यक्ष कृष्णकुमार राईको जीवन : आमाको निधनपछि मृत्युसँग डर लाग्नै छाड्यो

पत्रकार देवप्रकाश त्रिपाठीको जीवन :  किसुनजीलाई हराउन संलग्न भएकोमा पश्चाताप छ

काँग्रेस केन्द्रीय सदस्य डा. डिला पन्त संग्रौलाको जीवन : ‘भिजन’ र ‘मिसन’ सहित बाँचे राजनीतिक जीवन सार्थक

अभिनेत्री दीपाश्री निरौलाको जीवन : ऊसँग बिहे नभएपछि प्रेममा विश्वास छैन

कृष्ण पाउरोटी भण्डार सञ्चालक राजकर्णिकार भन्छन्– मृत्युपछि बाँच्नका लागि साहित्य लेख्छु

धावक वैकुण्ठ मानन्धरको जीवन : पाँचजनासँग प्रेम गरे पनि असफल

सूचना विभाग महानिर्देशक वीरबहादुर राईको जीवन : गुरुको टाउको टेक्दा थप्पड

काँग्रेस महासमिति सदस्य सुवास पोखरेलको जीवन : उनलाई एकतर्फी प्रेम गरेको थिएँ

मसाल महामन्त्री मोहनविक्रम सिंहको जीवन : जलजलासँग प्रेम गर्दा पार्टीबाट निष्कासित

प्रेमबारे रञ्जु : यो प्रश्न ‘स्कीप’ गरौं न ‘प्लीज’

कृषिविद् मदन राईको जीवन : मेरो मलामी श्रीमती पनि नजाऊन्

नेपाल टेलिकम प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको जीवन : नेपाल टेलिकमलाई ‘लिडिङ रोल’ मा राख्न प्रतिबद्ध

अमेरिकाका लागि नेपाली वाणिज्यदूत कृसु क्षेत्रीको जीवन : माफी माग्दै उनले प्रेमपत्र पठाइन्

खिमलाल देवकोटाको जीवन : जेलमा मार्ने योजना बनाइए पनि संयोगले बाँचें

साहित्यकार खगेन्द्र संग्रौलाको जीवन  : विद्यार्थी छँदा ब्रिटिस काउन्सिल र अमेरिकन लाइब्रेरीको किताब चोरें

लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायको जीवन : तीनपटक मृत्युका नजिकनजिक पुगेर बाँचेँ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप