शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१० युवा–विद्यार्थीको नजरमा पार्टी एकता

सोमबार, १० पुस २०७४, १४ : ०२
सोमबार, १० पुस २०७४

काठमाडौँ– पार्टी एकता गर्ने भन्दै संयुक्त घोषणापत्र लिएर चुनावमा होमिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनाव परिणामसँगै फरक फरक धारण सार्वजनिक हुन थालेका छन् ।

यो विषयमा युवा, विद्यार्थी र महिला सङ्गठनका नेताहरूको धारणा भने यस्तो छ ।

नवीना लामा, अध्यक्ष अनेरास्ववियु
पार्टी एकता हुनुपर्छ । आम नेपालीको भाग्य र भविश्यका लागि पनि यो आवश्यक छ । युवाहरूको भविश्य कम्युनिस्टहरूको हातमा छ । यसका लागि एकता हुनुपर्छ । समृद्धिको नेतृत्व, स्थायी सरकारको नेतृत्व कम्युनिस्टहरूले गर्नुपर्छ । चुनावमा हामीले गरेका प्रतिबद्धताहरू मन पराएर जनताले हामीलाई जनमत दिएका हुन् । यसका सम्मान र कदर हुनुपर्छ । साना साना कम्युनिस्ट पार्टी होइन । एउटा देश हाँक्ने समृद्धिको, समाजवादको यात्रा गर्ने पार्टीको खाँचो छ, त्यो खाचो केपी ओली र प्रचण्डले पूरा गर्नुपर्छ ।

रन्जित तामाङ, अध्यक्ष अखिल क्रान्तिकारी
पार्टी एकता हुनुपर्छ । चुनावमा आम जनता र मतदाताहरूमाझ गरेका वाचा पूरा गर्नुपर्छ । चुनावमा दुवै पार्टीका नेता कार्यकर्ताले शान्ति, समृद्धि, स्थायी सरकार, सुशासनमा लैजाने र चुनावपछि पार्टी एकता गर्ने भनेर एउटै घोषणापत्र बनाएर जनतालाई भनेका छौँ । योबाट कसैले पनि दायाँबायाँ हुनुहुँदैन । जनताले मत पनि त्यही आधारमा दिएका हुन् । एमालेको विजयमा माओवादीको मत छ । माओवादीको विजयमा एमालेको मत छ । त्यसकारण दुवै पार्टीले यसमा घमण्ड गर्नु हँुदैन । दुवै पार्टीको इतिहासको सम्मान गर्दै पार्टी एकता गर्नुपर्छ ।

आरती लामा, सचिव अनेरास्ववियु
पार्टी एकता हुनुपर्छ । पार्टी एकताका लागि हो जनमत आएको । स्थायी सरकार, समृद्धि, समाजवादका नारा पूरा गर्न पार्टी एकता हुनु नै पर्छ । नेताहरूले आफैले गरेको एकताको पहलबाट पछाडि फर्कने छुट छैन । चुनावमा बाडेका सपना पूरा गर्नुपर्छ । ती सपना पूरा गर्न जनमत दिएका हुन् जनताले । कम्युनिस्टको बहुमत आएको छ । यसलाई सदुपयोग गर्नुपर्छ ।

पन्चा सिंह, उपाध्यक्ष अखिल क्रान्तिकारी
नेकपा माओवादी र नेकपा एमाले पार्टी एक हुनुको विकल्प छैन । चुनावमा गरेका प्रतिबद्धता पूरा गर्नुपर्छ । हामीले चुनावमा आम नेपाली जनतालाई चुनावपछि पार्टी एकता गर्छाै । २००६ सालमा देखेको समाजवादको सपना, समृद्धिको सपना पूरा गर्छौं भनेको छौँ । यो देशमा अहिले पनि ७० प्रतिशत जनमत कम्युनिस्टको पक्षमा छ । यसलाई अब एकता गरेर देशमा समानता, न्यायपूर्ण समाज निमार्ण गर्न दुई कम्युनिस्ट पार्टी एक हुनैपर्छ ।  हामीलाई जनताले दुई पार्टी एक हुन्छन् भनेर मत दिएका हुन् । यो जनमतको कदर गर्नुपर्छ ।

अनिता गिरी, विदेश विभाग सचिव अनेरास्ववियु
जसरी नेताहरू एक भएर वामगठबन्धन बनाए । एउटै घोषणापत्र बनाएर चुनावमा गएका थियौँ । त्यही आधारमा पार्टी एकता हुनुपर्छ । नेताहरूले गरेको निर्णयलाई जसरी आम कार्यकर्ताहरू र जनताले स्वीकारे त्यही आधारमा जनमत आएको छ । अब नेताहरूले त्यही जनमतको कदर गर्नु पर्छ । जनमतको कदरका लागि पार्टी एकता हुनुपर्छ । चुनावमा स्थायी सरकार, समृद्धि, समाजवाद, समतामूलक समाज, न्यायपूर्ण समाजको सपना जनतालाई बाडेका छौँ । यो पूरा गर्न दुई पार्टी एक हुनै पर्छ । नेताहरूको सही व्यवस्थापनसहितको एकता अहिलेको आवश्यकता हो ।

दिलकुमारी पन्त, उपाध्यक्ष युवा सङ्घ
एकताको कुनै विकल्प छैन । हामीले जनताको घर आगनमा गरेका प्रतिबद्धता पूरा गर्नुपर्छ । आफूलाई प्रतिकूल हँुदा मात्र एकताको कुरा होइन । अब त यो आम कम्युनिस्टको मुद्दा बनेको छ । आम नेता र कार्यकर्ताको भाग्य र भविश्यसँग जाडिएको छ । समृद्ध नेपाल बनाउने हो भने कम्युनिस्ट एक हुनै पर्छ । समानता, न्यायपूर्ण समाज निमार्ण गर्न स्थायी सरकार चाहिन्छ । यसका लागि हाम्रा दुई पार्टी एक हुनुपर्छ । यसमा हारजितको कुनै इगो बनाउनु हँुदैन । दुबै तर्फका नेताहरूको सम्मान जनक रुपमा व्यवस्थापन सहित एकता गर्नुपर्छ ।

दीपशिखा, अध्यक्ष वाईसीयल
पार्टी एकता हुनुपर्छ । चुनावमा हामीले जनतासँग पार्टी एकता गर्छौं भनेर प्रतिबद्धता जाहेर गरेका छौँ । त्यही प्रतिबद्धताको आधारमा जनताले मत दिएका हुन् ।
तर एकता दश वर्षे जनयुद्धको अपमान हुनेगरी होइन । माओवादी र एमालेका कार्यकर्ताहरूको अपमान हुने गरी होइन । एमालेका अध्यक्ष केपी ओली  र महासचिव ईश्वर पोख्रेलले जनयुद्ध जिन्दावाद भन्नुपर्छ । उहाँहरूले भन्नु हुन्छ नै । यति भनेपछि एकता हुन्छ । माओवादी जनयुद्धले गर्दा हो गणतन्त्र आएको ।

नरेश शाही, सचिव युवा सङ्घ
एकता अहिलेको अनिवार्य आवश्यकता हो । यदि हामी समाजवादको यात्रामा जाने हो भने यो नेपालको सन्दर्भमा एक एक्लै कुनै पनि कम्युनिस्ट पार्टीले सम्भव गर्न सक्दैन । त्यही भएर वामगठबन्धन हुँदै एकता भनेका हौँ ।
अहिले नेपाली जनतालाई कुन व्यक्ति सरकारमा छ भन्दा पनि सरकारले के दिन्छ जनताका लागि, जनजीविकाका पक्षमा भन्ने चासो छ । यो काम पूरा गर्न कम्युनिस्टहरू एक भएर मात्र सम्भव छ । यसका लागि स्थायी सरकार पनि चाहिन्छ । हामीले चुनावमा स्थायी सरकार अबको समृद्धिको आधार भनेका छौँ । अब कसैले पनि पार्टी एकताबाट पछाडि हट्न मिल्दैन । जुन व्यक्ति एकताको विपक्षमा लाग्छ त्यो आफै सकिने छ ।

मन्जुु वम, सचिव वाईसीयल
विवेद रहित समाज निमार्णका लागि पार्टी एकता हुनुपर्छ । नेपाली जनताले २००६ सालमा देखेको सपना पूरा गर्न एकता हुनुपर्छ । पुष्पलाल श्रेष्ठले देखेको सपना ६७ वर्षपछि पूरा गर्ने समय आएको छ ।  चुनावमा हामीले पार्टी एकतादेखि समाजवादसम्मका सपना देखाएका छौँ । त्यही भएर जनताले भोट दिएका हुन् । यसको कदर गर्नु अहिलेको प्रमुख आवश्यकता हो ।

पार्वती थापा, सचिव क्रान्तिकारी महिला सङ्घ
नेपाली जनताको वर्षौंदेखिको जनचाहना हो देशमा समानता, समृद्धि र न्यायपूर्ण समाज । यसका लागि यो पटक नेकपा माओवादी केन्द्र र नेकपा एमालेले पहल गरेका हुन् । जसको सुरुवात चुनावमा एउटै घोषणापत्र बनाएर गयौँ । गठबन्धन बनाएर मत मागेका छौँ । जनताले यसलाई धेरै उत्साहका साथ स्वीकारेका छन् । त्यही आधारमा जनमत पाएका छौँ । अब पार्टी एकता गर्न विलम्ब गर्नु हुँदैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप