शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीमा होमस्टे लोकप्रिय बन्दै

शुक्रबार, १४ पुस २०७४, १४ : ३२
शुक्रबार, १४ पुस २०७४

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता) पूर्वको अग्यौलीमा रहेका होमस्टे आन्तरिक र बाह्य पर्यटकका लागि लोकप्रिय बन्दै गएका छन् ।  बोटे र थारु समुदायका बासिन्दा मिलेर सञ्चालनमा ल्याइएका होमस्टेमा आउने आन्तरिक र बाह्य पर्यटकको संख्या बढ्दै गएको छ । 

पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको अग्यौलीको अमलटारी गाउँलाई पर्यटकको केन्द्रबिन्दु बनाई चार वर्षअघि होमस्टे सञ्चालन गरिएको हो । यहाँका २० घरमा होमस्टेको व्यवस्था गरिएको छ । 

होमस्टे सञ्चालक धनमायाँ महतो होमस्टेमा एक पटकमा ४० वटा कोठामा ८० जना पाहुनाको व्यवस्थापन गर्न सकिने बताउछन् । उनीहरुलाई नारायणी नदीमा डुङ्गामा यात्रा गर्ने व्यवस्था समेत मिलाइएको छ । रमणीय क्षेत्र चितवन राष्ट्रिय निकुञ्जको अवलोकन र हात्ती सफारी गर्दै वन्यजन्तुको निरीक्षण गर्दै पर्यटकलाई लोभ्याउन सकिन्छ । 

आन्तरिक र बाह्य पर्यटकलाई गाउँगाउँसम्म पुर्याउने , स्थानीय रहनसहन र कला संस्कृितमार्फत आकर्षित गर्नका लागि होमस्टे सञ्चालनमा ल्याइएको महतोले बताए । होमस्टेका कारण सो क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा परिचित छ । आम्दानीको मुख्य स्रोत होमस्टे बन्नुका साथै पर्यटन व्यवसायमा टेवा पुगेको छ । 

“होमस्टेबाट यहाँका बासिन्दाको जीवनस्तरमा परिवर्तन आएको छ,” उनले बताए । होमस्टे आम्दानीको भरपर्दो स्रोत बनेको छ । यहाँ वर्षमा आन्तरिक र बाह्य गरी २५ हजारभन्दा बढी पर्यटक आउने गरेका छन् । होमस्टे सञ्चालनमा आएपछि प्रतिघरपरिवारले मासिक न्यूनतम रु ५० हजारसम्म आम्दानी गर्दै आएका छन् । 

यहाँ आउने पर्यटकलाई प्रत्येक घरमा आलोपालो गरेर राख्ने व्यवस्था मिलाइएको छ । होमस्टेमा पाहुनाका लागि उनीहरुको रोजाइअनुसारको चिचर, माछा, घोगीँ, कुखुरा, हाँसको मासु, छोयलालगायत परिकार बनाइन्छ ।

यहाँबाट आम्दानी भएको रकम एकमुष्ट समितिमा जम्मा गर्ने र आम्दानीलाई विभाजन गरेर ९० प्रतिशत रकम होमस्टे सञ्चालकलाई दिइने गरेको छ भने १० प्रतिशत रकम विकास निर्माण र समाजसेवामा खर्च गरिँदै आएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप