पर्यटन क्षेत्रसँग मिलेर काम गर्दै उपभोक्ता समूह
अर्जुनधारा– पर्यटन व्यवसाय फष्टाउँदै गएपछि अर्जुनधारा नगरपालिकामा रहेका सामुदायिक वन उपभोक्ता समूहले सो क्षेत्रसँग मिलेर काम गर्न थालेका छन् । नगरपालिकामा रहेका जुकेखाडी, हचुमासा र हलुवागढ सामुदायिक वन उपभोक्ता समूहले पर्यटन क्षेत्रसँग जोडिएर काम गर्न थालेका हुन् । चालु आवमा जुकेखाडीले रु १२ लाखदेखि रु १५ लाख र हलुवागढले रु ७० लाख बराबरको काम गरेको छ ।
हचुमासाले गत आवमा ३० हेक्टर जग्गामा रु १० लाख बराबरको काम सम्पन्न गरेको समितिका अध्यक्ष रामबहादुर निरौलाले बताए । काम गर्न १७ सदस्यीय पर्यटन सम्भाव्यता समिति गठन गरिएको छ । “हामीले सामुदायिक वनलाई पर्यटनसँग जोडेर काम गर्न थालेका छौँ,” उनले भने ।
जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिव्यप्रसाद कट्टेल वनलाई वैकल्पिक स्रोतको रुपमा लिई काम गर्न थालेको बताउँछन् । सो क्षेत्रमा पोखरी निर्माणको लागि जिल्ला भूसंरक्षण कार्यालयसँग सम्झौता भइसकेको उनले बताए । वनभोजस्थल निर्माण, धारा जडान, विद्युत् विस्तार तथा वन क्षेत्रमा रहेको रुखबिरुवामा रंगरोगन लगाउने काम भइरहेको छ ।
हलुवागढ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चक्रप्रसाद तामाङले वन पैदावर बिक्रीसँगै पर्यटन क्षेत्र पनि आम्दानीको राम्रो स्रोत हुने हुँदा समूहले पर्यटन क्षेत्र निर्माणको योजना ल्याएको बताए ।
गत भदौबाट वनको छ हेक्टरमा डुंगा शयरका लागि पोखरी, वनभोजस्थल, भ्यूटावर, बाल उद्यान, वन्यजन्तु आरक्षण केन्द्र, विभिन्न बहुउपयोगी प्रजातिका बिरुवाको संरक्षण गर्नेलगायत काम भइरहेको छ ।
“करिब ४० लाख खर्च भइसकेको छ,” उनले बताए । वैशाखसम्म काम सम्पन्न हुनेछ । सामुदायिक वन उपभोक्ता समूहले आन्तरिक स्रोत परिचालन गरी पर्यटन क्षेत्रसँग जोडिएर शुरु गरेको काम नमूना काम भएको अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले बताए ।
अर्जुनधारा नगरपालिका–९ सालबाडीमा रहेको नमूना सामुदायिक वन उपभोक्ता समूहको २२.४ हेक्टर जग्गामा २०७० सालदेखि सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालको प्रवद्र्धनमा सुखानी शहीद स्मृति उद्यान सञ्चालनमा छ ।
वि.सं २०२९ फागुन २१ गते शहादत प्राप्त गर्नुभएका शहीद रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको स्मारक तथा शहीद स्मृति उद्यान निर्माणका लागि सो जग्गा प्रतिष्ठानलाई प्राप्त भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै रास्वपाले स्वास्थ्यमन्त्री यादवलाई बुझायो २६ बुँदे सुझाव
-
महिलामैत्री बजेट ल्याउन सम्बन्धित मन्त्रालयसँग छलफल भैइरहेको छ : मन्त्री चौधरी
-
युवाको विदेश पलायन घटाउन ‘रिटर्नी’को पुनर्स्थापना कसरी गर्ने ?
-
सयौँ आयोजना खारेज गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
अस्ट्रेलियाले विदेशी विद्यार्थीको भिसा नियम कडा बनायो