बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सन् २०१७ बारे पर्यटन बोर्डको समीक्षाः बाह्य पर्यटक भित्र्याउन सफल भइयो

सोमबार, १७ पुस २०७४, १३ : २०
सोमबार, १७ पुस २०७४


काठमाडौँ– नेपाल पर्यटन बोर्डले विभिन्न प्रवद्र्धनात्मक अभियान चलाएर सन् २०१७ मा बाह्य पर्यटक आगमनमा महत्वपूर्ण योगदान पुगेको जनाएको छ ।  बोर्डले ‘भिजिट नेपाल–२०१७’, घुमफिर वर्ष–२०१७’ जस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय अभियान चलाएर बढी बाह्य पर्यटक भित्र्याउन सफल भएको हो । 

सन् १९९८ देखिको १० लाख पर्यटक पुर्याउने लक्ष्य सन् २०१७ मा सार्थक बनाउन सावित भएको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले बताए । बोर्डको १९औँ वार्षिकोत्सवको अवसरमा आइतबार प्रगति विवरण प्रस्तुत गर्दै सिइओ जोशीले निजी क्षेत्रसँगको साझेदारीमा चलाइएका विभिन्न अभियानले यस वर्ष १० लाख पर्यटक पुग्ने आशा गरिएको बताए । 

“छिमेकी देश भारतबाट स्थलगत रुपमा आउने पर्यटकको यकिन गणना भएको छैन, अब पर्यटक तथ्यांकलाई व्यस्थित गर्ने प्रणालीको विकास गर्छौं,” उनले भने । 

बोर्डले जारी गरेको विज्ञप्तिअनुसार ‘भिजिन युरोप–२०१७’ अभियान सफलतापूर्वक सम्पन्न भएको छ । अभियानको प्रभावले अघिल्लो वर्षको तुलनामा सन् २०१७ मा युरोपका पर्यटक ३० प्रतिशतले बढेका छन् । युरोपस्थित नेपाली राजदूतावास, गैरआवासीय नेपाली तथा व्यवसायीसँग समन्वय गरी चलाइएको प्रवद्र्नात्मक अभियानले नेपालमा पर्यटक आकर्षण गर्न मद्दत पुगेको अभियानको जिम्मेवारी लिएका एक्सपोजिसन नेपालका प्रमुख दिपेशमान शाक्यले बताए । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले भिजिन नेपाल सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्यलाई सार्थक तुल्याउन निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई समयमै सम्पन्न गर्ने गरी कार्ययोजना अघि बढाउन सम्बन्धिन निकायको ध्यानाकर्षण गराए । 

पर्यटकको संख्या बढाउने भन्दा पनि बढी खर्च गर्नसक्ने पर्यटक भित्र्याउने र त्यहीअनुरुपको गुणात्मक सेवा अभिवृद्धिका लागि व्यवसायीले सक्रियता देखाउनुपर्नेमा शाक्यले जोड दिए । 

वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठले गुणस्तरीय पर्यटक बढाउन सेवा गुणस्तर र पर्यटकीय पूर्वाधार विकासमा जोड दिए । बोर्डले सन् २०१८ मा पर्यटक आकर्षणका लागि छिमेकी देश भारत र चीनका पर्यटकलाई लक्षित गरी ‘डिजिटल मार्केटिङ’ लाई तीव्रता दिई अन्तर्राष्ट्रिय मिडियामा प्रवद्र्धनात्मक गतिविधि बढाउने भएको छ । यस्तै यस वर्ष ‘चुलो नेपाल, सफा नेपाल’ जस्ता अभियान चलाइनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप