शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सोमबारको वृद्धिपछि के करेक्सन हुँदैछ पूँजीबजारमा ? यस्तो छ तथ्य र कारण

मङ्गलबार, १८ पुस २०७४, १३ : ४८
मङ्गलबार, १८ पुस २०७४

काठमाडौँ– वाम गठबन्धनले करिब करिब दुई तिहाई मत प्राप्त गरेपछि अनेकन रुपमा चलाइएका हल्लाका कारण नेपालको पूँजीबजार एकपछि अर्को गर्दै ओरालो लाग्न थाल्यो ।

लगातार ११ दिनदेखि ओरालो लागेको बजार सोमबार भने ४४ अंकले उकालो लागेको छ । बजार करेक्सनको दिशामा अगाडि बढेको पनि बताइएको छ । तर तथ्यहरु भन्छन्, ‘बजार करेक्सनको दिशामा गएपनि अझै केही दिन यसै भन्न सकिने अवस्था छैन ।’

पछिल्लो पटक नेपाल धितोपत्र बोर्डले बजारमा अनकेन चलखेल भएको भन्दै सेयर ब्रोकरहरुलाई समेत बोल्न प्रतिबन्ध नै लगाएको थियो ।

राजनीतिक कारण देखाएर बजारमा चलखेल बढेपछि बोर्डले हस्तक्षेप त गर्यो । तर बोर्डको हस्तक्षेप प्रभावकारी हुन सकेन । आइतबार मात्रै बोर्डले फेरि अर्को निर्देशन जारी गर्यो । जलविद्युत आयोजनाको हकमा ।

वित्तीय अवस्था खराब भएका कम्पनी पनि एकपछि अर्को गर्दै साधारण सेयर जारी गर्न थालेपछि बोर्डले कडाइ गरेको प्रवक्ता निरज गिरीको भनाइ छ ।

बजार ओरोलो लागिरहेको बेला वित्तीय अवस्था खराब भएका कम्पनीको दबदबा बढेपछि बोर्डले जलविद्युत् कम्पनीको हकमा पनि कडा निर्देशन जारी गरेको जनाएको छ ।

बैंकको व्याजदर एक पछि अर्को गर्दै बढेको अवस्थामा लगानीकर्तालाई सेयरमा लगानी गर्नु भन्दा बैंकमा नै पैसा जम्मा गर्नु प्रतिफलका हिसाबले प्रभावकारी देखिएको हो ।

बैंकहरुले १२ प्रतिशतसम्म निक्षेपको व्याज दिन थाले । पूँजीबजारमा लगानीमा लागि आउने रकम समेत बैंकमा केन्द्रित हुन थालेको विज्ञहरुको भनाइ छ ।

त्यसो त प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको क्रममा खर्च भएको पैसा बैंकिङ च्यानलमा आएको छैन ।

सेयर बजारको विश्लेषण गर्दै आएका निरव पुडासैनीले  बजारलाई मनोवैज्ञानिक रुपमा प्रभावित पार्ने काम भएको बताए । 

सामान्य अवस्थामा पनि पुसदेखि चैतसम्मको अवधिमा बजार घट्ने नै भए पनि यस पटक अनावश्यक रुपमा चलाइएका हल्लाका कारण बजार प्रभावित पारिएको उनको भनाइ छ ।

सेयर लगानीकर्ता संघले मुलुकको वित्तीय क्षेत्रमा देखिएको समस्या समाधान गरी लगानीमैत्री वातावरण बनाउन सोमबार मात्रै सरकारसँग माग गरेको छ ।

संघले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ज्ञापनपत्र बुझाएर सो माग गरेको हो । वित्तीय क्षेत्रमा देखिएको तरलताको समस्या समाधान गर्न सेयर लगानीकर्ता संघले सरकारलाई तत्काल हस्तक्षेप गनुपर्ने माग गरेको संघका सदस्य केशव भण्डारीले बताए ।

बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता अभावमा नियामक निकायले हस्तक्षेप नगरेका कारणले वित्तीय क्षेत्रमा ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा बढेको संघले जनाएको  छ ।

संघको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री कार्कीले वित्तीय क्षेत्रमा देखिएको समस्या समाधान गर्न केन्द्रीय बैंक, सरोकार भएका निकाय र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग सरकार निरन्तर छलफलमा रहेको बताए ।  

मन्त्री कार्कीले राष्ट्रिय रुपमा देखिएको समस्या समाधान गरी वित्तीय समस्याको निरुपण गर्न अर्थमन्त्रालय लागिपरेकाले केही दिन भित्रै उपयुक्त निकास निस्कने धारणा राखेको सदस्य भण्डारीले जानकारी दिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप