बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बानेश्वर र थापाथलीको बीचमा कैलाश र सुमार्गीको भेट !

आइतबार, २३ पुस २०७४, १५ : ५०
आइतबार, २३ पुस २०७४

काठमाडौं–बानेश्वरस्थित आइसीसीको मुख्य प्रवेशद्वारको ठीक अगाडि छ, मुक्ति श्री टावर । यो टावरमा उद्यमी अजय सुमार्गीको व्यापारिक कार्यालय पनि छ ।

र, थापाथलीस्थित नेपाल राष्ट्र वैंकको छेउमै रहेको सेन्ट्रल बिजनेस पार्कमा छ कान्तिपुर पब्लिकेशनको मुख्य कार्यलय, जुन केही समय अगाडि तीनकुनेबाट सरेको हो ।

 
आ–आफ्नो व्यापार व्यावसायमा रहेका यी दुई मालिकवीच पछिल्लो पटक सम्बन्ध राम्रो छैन । बरु, एकले अर्कालाई सिध्याउन आ–आफ्नो कोशिष जारी राखेका छन् ।

यस्तो तनावपूर्ण सम्बन्धका कारण उनीहरुबीच भेट पनि भएको छैन ।

तर अब, परिस्थिति यस्तो भएको छ कि, दुुई घरानाकाबीच मुक्ति श्री टावर र सेन्ट्रल बिजनेस पार्कको बीचमा पर्ने बबरमहलमा भेट हुँदैछ । हो, बबरमहल । बबरमहलमा रहेको जिल्ला अदालतमा मुद्दाको छिनोफानो हुनेछ ।

दुई ठूला कर्पोरेट मालिकको लडाइँ : कैलाश र अजयराज सुमार्गीबीचको लेनदेन विवाद अदालत पुग्यो

मालिकहरु आफै भौतिक रुपमा उपस्थित नभएपनि उनका वकिलहरु अब त्यहीँ भिड्नेछन् । आइतबार सुमार्गीले कैलाशबिरुद्ध गाली बेइज्जतीको मुद्दा दर्ता गराएका छन् । मुद्दा दर्तासँगै कैलाश र सुमार्गीबीचको लडाईं अरु पेचिलो बनेको छ ।

कैलाश सिरोहिया, उनको लगानीमा रहेको कान्तिपुर पब्लिकेशन प्रालि, कैलाशकी श्रीमति स्वस्तीका सिरोहिया र कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधिर शर्मालाई विपक्षी बनाएर सुमार्गीले गाली बेइज्जति मुद्दा दायर गरेका छन् । कानुन व्यावसायी तुलसीबहादुर कार्कीलाई वारेशनामा दिएर सुमार्गीले मुद्दा दर्ता गराएका हुन् ।

२५ करोड क्षतिपूर्तिको माग दाबीसहित मुद्दा दर्ता भएको सुमार्गीका वकिल मोहन पोखरेलले बताए ।

मुद्दामा सुमार्गीले विपक्षी मध्यका कैलाश सिरोहियाले आर्थिक सौदावाजी गरी आफुबाट अनुचित लाभ लिने नियत राखेर आफ्नो इज्जतमा धक्का पुग्ने हिसाबले पटक–पटक झुठा समाचार प्रकाशन गरेको दाबी गरेका छन् ।

योजनाबद्ध रुपमा आफुलाई बद्नाम गराउने, उत्तेजित गराउने र शारिरिक क्षती समेत पुर्याउनसक्ने परिस्थितिको सृजना गरी गाली वेइज्जती गरेकाले मुद्दा दायर गर्नुपरेको मुद्दामा दावी गरिएको छ ।

‘जानीजानी मेरो व्यवसायिक तथा समाजिक साख मान मर्दन गर्ने, नेपाली जनता, नेपाल सरकार र सरकारी निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारी अन्तर्राष्ट्रिय छविमा समेत आँच पुर्याउने काम भएकाले गाली वेइज्जती ऐन १०१६ को दफा ३ द्धारा परिभाषित कसर अनुसार ५ जनालाई सोही ऐनको दफा ५ अनुसार हदैसम्मको कारवाही गरी पाउँ’ दायर मुद्दामा भनिएको छ ।

सुमार्गीले विपक्षीहरुले आफूलाई गरेको गाली वेइज्जतीबाट आफ्ना उद्योगहरुमा नकारात्मक असर पुगेको, बैदेशिक लगानी आउने वातावरण अवरुद्ध भई विभिन्न बैंक तथा वितिय संस्थाहरुबाट ऋण लिई त्यसको व्याज भुक्तानिमा करोडौँ खर्च हुनुका साथै बैदेशिक लगानीकर्तामा समेत नकारात्मक सन्देश जाँदा ठूलो नोक्सानी व्यहोर्नु परेको उल्लेख गरेका छन् ।

यस अघि सुमार्गीले आफू र आफ्नो परिवारको ज्यानमाथि खतरा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग सुरक्षाको माग गरेका थिए ।

आर्थिक लेनदेनको मामिलामा सिरोहियाबाट सांघातिक हमला समेत गराउने आशंका व्यक्त गर्दै मुक्तिश्री सिमेन्ट इन्डष्ट्रिज प्रालिका अध्यक्ष समेत रहेका सुमार्गीले प्रशासन समक्ष सुरक्षाको माग गरेका थिए । यो निवेदन पुस १२ गते दर्ता गरिएको थियो ।

सिरोहियाले आर्थिक सौदाबाजी गरेको र आफूले नमानेपछि धम्की दिने र कान्तिपुर मिडिया गु्रपका सञ्चार माध्यममा आफूविरुद्ध नभएका समाचार सम्प्रेषण गराएको सुमार्गीले उल्लेख गरेका छन् ।

२०७० साल असार १६ गते सिरोहियाकै अनरोधमा आफूले सिरोहियाको झण्डै ६ रोपनी जग्गा किनेको र एक वर्षपछि सिरोहियाले पुरानै मुल्यमा जग्गा फिर्ता मागेकोमा आफूले नमानेको, त्यसपछि सिरोहियाले आर्थिक सौदावाजी गर्दै धम्की दिएको सुमार्गीले उल्लेख गरेका थिए ।

सुमार्गीले निवेदनमा भनेका छन् –‘जग्गा पुनः मैले सोही मूल्यमा फिर्ता गर्न इन्कार गरेपछि निज कैलाशप्रसाद सिरोहियाले आर्थिक सौदावाजी गर्दै निजले भने बमोजिम नभएमा मलाई सिध्याउन जे जस्तो कार्य गर्न पनि पछि नपर्ने भनी धम्की दिनुभएको थियो ।’

त्यसपछि सिरोहियाले कान्तिपुर दैनिक, द काठमाडौं पोष्ट, नेपाल साप्ताहिक,कान्तिपुर टेलिभिजन, रेडियो कान्तिपुरका माध्यमबाट आफू विरुद्ध कपोकल्पित र आधारहीन समाचार संप्रेषण गराएको सुमार्गीको निवेदनमा उल्लेख छ ।

कान्तिपुर दैनिकमा पुष ९ गते प्रकाशित सुमार्गीको २२ अर्ब रकम अवैध भन्ने समाचार पनि झुठा एवं आधारहीन र मनगढन्ते भएको निवेदनमा उल्लेख थियो ।

। पटक–पटक झूठा समाचार प्रकाशन गर्दै मानसिक रूपमा प्रताडित गर्दै आतंकित गराउने र जनमानसमा आफूप्रति नकारात्मक प्रभाव र भ्रम फैलाउने प्रयत्न गरिएको सुमार्गीको गुनासो छ ।

सुमार्गीले दिएको निवेदन दर्ता गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले महानगरीय प्रहरी परिसर काठमाडौंँमा आवश्यक कारवाहीका लागि पत्राचार गरिसकेको छ ।

सुमार्गीले जिल्ला प्रशासनमा निवदेन दर्ता गराएपछि कैलाशको पनि भनाई आएको थियो ।

कान्तिपुर दैनिकमा ‘व्यापारी अजेयराज सुमार्गीका शंकास्पद आर्थिक कारोबारसम्बन्धी समाचार कान्तिपुरमा प्रकाशित भएपछि उनले त्यस मामिलालाई विषयान्तर गर्न आफू असुरक्षित रहेको जिकिर गर्दै सञ्चार माध्यमविरुद्ध लाञ्छना लगाएको’ समाचार थियो ।

समाचारमा ‘सुमार्गीले विदेशबाट ल्याएको र पुनः ल्याउन लागेको २२ अर्बभन्दा बढी रकम ‘अवैध रहेको’ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले तयार पारेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ,’ भनिएको थियो ।

त्यससम्बन्धी समाचार कान्तिपुरमा प्रकाशित भएकोमा उनले आफूमाथि बदनियतले गालीगलौज गरेको केएमजीका अध्यक्ष सिरोहियाले उल्लेख गरेको समाचारमा जनाइएको थियो ।

‘मैले सुमार्गीलाई करिब तीन वर्षदेखि देखेको पनि छैन । मैले उनलाई धम्की दिएको हो भने कुन माध्यमबाट कहाँ–कसरी दिएँ भन्ने आधार पनि होला नि, प्रशासनले त्यसको निष्पक्ष छानबिन गर्नुप‍र्यो,’ प्रकाशित समाचारमा सिरोहियाले भनेका छन्, ‘त्यो प्रमाणित भएन भने मलाई बदनाम गर्न खोज्ने र व्यावसायिक सञ्चारगृहविरुद्ध आधारहीन लाञ्छना लगाउने व्यक्तिविरुद्ध कारबाही हुनुपर्छ ।’

यसबाहेक उक्त समाचारमा भनिएको थियो, ‘सुमार्गीले नेपालमै अवैध तरिकाले आर्जन गरिएको रकम विदेश लैजाने र त्यसैलाई विदेशी लगानी भन्दै नेपाल भित्र्याएर ‘ह्वाइट मनी’ बनाउने गरेको सरकारी अध्ययन प्रतिवेदनमा उल्लेख छ  ।’

कान्तिपुरका मालिक कैलाश सिरोहिया र थाहा संचारका मालिक अजय सुमार्गीवीच गोप्य वार्ता भएको समाचार गत बुधवार जनआस्था साप्ताहिकले लेखेको थियो । पत्रिकाले उनीहरुबीच दुवईमा रातभर संवाद भएको समाचार लेखेको थियो ।

भेटको समाचारवारे दुवै पक्षबाट सार्वजनिक खण्डन चाहिँ आएको छैन ।

पत्रिकाका अनुसार फ्लाई दुवईको जवाजबाट सुमार्गी पुस १३ गते दुवई गएको र त्यसको अर्को दिन कैलाश पनि सोही उडानबाट त्यहाँ पुगेका थिए । कैलाश त्यहाँ पुगेपछि दुईबीच भेट भएको समाचारमा उल्लेख छ । सुमार्गी १५ गते काठमाडौं फर्केका छन् भने कैलाश भने अझै उतै रहेको पत्रिकाले आफ्नो समाचारमा उल्लेख गरेको थियो । कैलाशले सुमार्गीलाई स्वामी भनेर सम्बोधन गर्ने गरेको पनि जनआस्थाको समाचारमा थियो ।

सुमार्गीले पुस १२ गते काठमाडौं जिल्ला प्रशासन कार्यलयमा कैलाशबाट ज्यानधनको सुरक्षा गरी पाउँ भन्दै निवेदन दिएका थिए । लगत्तै उनी त्यसै दिन दुवई गएका थिए । त्यसको भोलिपल्ट सम्पत्ति शुद्धिकरण मुद्दामा पक्राउ पर्ने डरले सुमार्गी विदेश उडेको भन्दै कान्तिपुरमा समाचार प्रकाशित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप