शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हिमताललाई चिनाउन नयाँ पदयात्रा मार्ग खोलिँदै

बिहीबार, २७ पुस २०७४, १२ : ४५
बिहीबार, २७ पुस २०७४

पोखरा– होचो स्थानमा रहेको दाबी गरिएको कास्कीको कफुचे हिमताललाई देश विदेशमा चिनाउन नयाँ पदयात्रा मार्ग सञ्चालनको तयारी अगाडि बढाइएको छ ।  पछिल्ला एक दुई वर्षयता बढी चर्चामा आउन थालेको यो ताल जिल्लाको मादी गाउँपालिका–१ स्थित समुद्री सतहबाट २४५० मिटरको उचाइमा रहेको छ । 

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले उक्त तालको प्रबद्र्धनका लागि नयाँ पदमार्ग खोल्न हालै एक खोज तथा अनुसन्धान अभियान सञ्चालन गरेको थियो । 

अन्नपूर्ण दोस्रो र लम्जुङ हिमाल 

बीचबाट आउने हिमपहिरोबाट बनेको यो हिमतालले पर्यटनको अथाहा सम्भावना बोकेका कारण खोज तथा अनुसन्धान अघि बढाइएको टान पश्चिमाञ्चल संघका अध्यक्ष दीपकराज अधिकारीले बताए । 

पोखरा लेखनाथ महानगरपालिकाको दीपबाट पदयात्रा शुरु गरी कास्कीकै अर्मला,आँटीघर मौजा, थाक, तारा हिल, सिक्लेस, हुगु हुँदै कफुचे पुग्ने यो मार्ग कम्तीमा एक हप्ता लामो हुन्छ । 

पदयात्रा मार्गमा पर्ने गाउँ, पानीका स्रोत, भञ्ज्याङलगायतलाई समेटेको नक्सा बनाउन जिपिएससहितको एक टोलीसमेत खटिएको छ । केही महिनाभित्र सो मार्गको नक्सा र ब्रोसर निर्माण गरी सो मार्ग सञ्चालनको क्रम अगाडि बढाइने टान क्षेत्रीय संघ पोखराका पूर्व सचिव एवं खोज तथा अनुसन्धान अभियानका संयोजक विनय आचार्यले जानकारी दिए । 

पदयात्रा मार्गको अधिकांश भाग अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्छ । गुरुङ संस्कृतिको अवलोकन, हरियाली जंगल, लामो हिमाली शृङ्खलाको दृष्य, कोटहरु, चरा अवलोकन, विभिन्न जंगली जनावरको अवलोकन गर्दै होचो स्थानमा हिमताल र त्यहाँ आउने हिमपहिरो हेर्न पाउनु यो मार्गको विशेषता हो । 

केम्पिङ र होमस्टेमा आधारित यो पदयात्रा मार्गलाई १० दिनमा विस्तार गरी मादी गाउँपालिकामा रहेको हुगुबाट कोरी, थुर्जु, दूधपोखरी हुँदै नामून पासबाट मनाङ जिल्ला निकाल्ने योजना रहेको पर्यटन व्यवसायी बताउँछन् । 

पदयात्रा मार्गहरु सडक मार्गको चपेटामा पर्दै जान थालेपछि वैकल्पिक मार्गका रुपमा यो मार्ग सञ्चालनको तयारी थालिएको टान वेष्टर्न रिजनल एशोसिएसन पोखराका कार्यकारी सदस्य रामचन्द्र अधिकारीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप