केन्द्रीय संस्करण

‘एमाले दाल, माओवादी घ्यू’

person access_timeपुस २८, २०७४ chat_bubble_outline0

हरेक क्षेत्रमा ‘सिजन’ हुन्छ तर राजनीतिमा हुँदैन । राजनीतिक दलहरूको चटारो पनि कहिल्यै सकिँदैन । सङ्गठन निर्माण, बैठक, भेला र चुनाव उनीहरूको खेती मानिन्छ । कतिपयका लागि त राजनीति पेसा नै बन्ने गरेको छ । कम्युनिस्ट पार्टीमा त पूर्णकालीन नेता, कार्यकर्ता हजारौँको सङ्ख्यामा रहने गर्छन् । सानै (२०४६ को जनआन्दोलनपूर्व) देखि नै कम्युनिस्ट आन्दोलनमा सहभागी भएर २०५२ सालदेखि हालसम्म पूर्णकालीन रहनेमध्येका एक नेता हुन् रामजीप्रसाद बराल । उनी नेकपा (माओवादी केन्द्र), कास्कीका पूर्वइन्चार्ज र केन्द्रीय पोलिटब्युरो सदस्य पनि हुन् । हाल उनी प्रदेश नं. ४ अन्तर्गतको कास्की जिल्ला निर्वाचन क्षेत्र नं ३ (ख) बाट प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी प्रभावशाली नेतृ शारदा पौडेललाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । बरालसँग पछिल्लो राजनीतिक घटनाक्रमबारेको कुराकानी :
 

निर्वाचन जितेपछि कस्तो अनुभूति भइरहेको छ ?
 
विजयी हुँदा खुशी र पराजित हुँदा दुःखी हुनु मानवीय स्वभाव नै हो । मेरो हकमा पनि यही भयो । तर धेरै उन्माद छैन । मलाई स्वभाविकजस्तो लागिरहेको छ । चुनावपूर्व र पछिमा खास फरक अनुभूति छैन । जिम्मेवारीको भारी थपिएजस्तो मात्रै भइरहेको छ ।
 
चुनावी परिणामलाई कसरी लिनुभएको छ ?
 
चुनावी मतपरिणाम स्वभाविक र अपेक्षित नै आएको छ । देशैभर वामपन्थीको पक्षमा जनमत छ भन्ने परिणामले पुष्टि गरेको छ । समानुपातिकको मत हामीले अपेक्षा गरेजस्तो आएन । यसबाट काङ्ग्रेस पार्टीलाई पनि कमजोर ठान्नु हुँदैन भन्ने देखिन्छ । मधेसवादी दलको पक्षमा पनि जनमत राम्रै देखियो । राप्रपाजस्ता शक्तिहरूलाई जनताले रुचाएनन् । नयाँ र वैकल्पिक भनिएका पार्टीहरूको पक्षमा पनि जनमत देखिएन । यसबाट के पुष्टि हुन्छ भने जनता ‘सबै वाम, एक ठाम’ नै चाहन्छन् ।
 
मतदातालाई के भन्नुहुन्छ ?
 
अमूल्य मत दिएर विजयी गराउने मतदातालाई औपचारिकताका निम्ति सामान्य धन्यवाद दिएर मात्रै पुग्लाजस्तो लाग्दैन । सामूहिक रूपमा त हामीले धन्यवाद ज्ञापन गरिसक्यौँ । तर एउटा जनप्रतिनिधिको हैसियतले उम्मेदवार हुँदा गरेका प्रतिबद्धता पूरा गराउनेमा म निरन्तर क्रियाशील नै छु । म विशेष रूपमा के भन्न चाहन्छु भने– यो मुलुक शिवजीको धुनषजस्तो होइन । कुनै बहादुर एक्लैले केही गर्न सक्दैन । विकास र समृद्धिका लागि सबैले आआफ्नो ठाउँबाट सकरात्मक पहल गर्नुपर्छ । मलाई निश्चित ठाउँका जनताले मत दिएर निर्वाचित गरे पनि म प्रदेश सभाको सदस्य भएको हुनाले समग्र प्रदेशबारे नै ध्यान दिनुपर्छ र सोच्नुपर्छ भन्ने लाग्दछ । मलाई निरन्तर सुझाव, खबरदारी, माया र सहयोग गर्नुहुन सबै मतदातासँग मेरो निरन्तर अनुरोध रहन्छ ।
 
 
पार्टी एकता गर्छौँ भनेर मत माग्नुभयो । एकताको खास पहल भएजस्तो देखिँदैन । सबैतिर आशङ्का उत्पन्न हुन थालेको छ । किन ढिला ? एकता के हुन्छ ?
 
हो, हामीले मत माग्ने क्रममा वाम शक्तिहरू मिल्छौँ भनेकै हो र मिल्नुपर्छ भन्नेमा हामी अहिले पनि दृढ छौँ । तर ठूलो इतिहास बोकेका दुई ठूला पार्टी एमाले र माओवादी एकताको कुरा सामान्य र सहज कुरा पनि होइन । नीति र नेतृत्वबारे बहस र छलफल गरेपछि मात्रै टुङ्गोमा पुगिन्छ । एकतालाई सजिलो हुनेगरी बहस गर्नु नाजायज पनि होइन । तर एकता भाँड्ने गलत तत्वलाई फाइदा पुग्नेगरी गलत प्रयत्न हुन्छ कि यतातर्फ भने सचेत र सतर्क बन्नुपर्छ । बहस एकतालाई केन्द्रमा राखेरै गर्नुपर्छ । एकताका निम्ति दुवैपार्टीको केन्द्रीय नेतृत्व गृहकार्यमै हुनुहुन्छ । एकता हुँदैन कि भनेर कसैले आशङ्का नगरे हुन्छ । एकता त हुन्छ, हुन्छ । हाम्रो अध्यक्ष प्रचण्डले भनिसक्नुभएको छ– हामीले पुल भत्काएर अघि बढेका छौँ । पछाडि फर्कनै मिल्दैन । माओवादी पार्टी एकताको निम्ति आतुर नै छ ।
 
गोपाल किराँती, विश्वभक्त दुलाललगायतका नेताहरू एमालेसँगको एकता बिसर्जन हो भन्दैछन् नि ? एमालेमा विलय हुन लागेजस्तो लाग्दैन ?
 
हो, केही कमरेडहरूले फरक ढङ्गले पनि बहस थाल्नुभएको छ । तर, उहाँहरूको बहस समय सापेक्ष देखिँदैन । किनभने एकता किन ? कोसँग ? र, कसरी ? भन्ने प्रश्नको उत्तर उहाँहरूसँग छैन । त्यसको उत्तर पार्टीको मुख्य नेतृत्वले दिँदै आएको छ । एकता स्थायित्व र समृद्धिका लागि हो । वामपन्थीसँग हो । समाजवादमा पुग्ने लक्ष्यसहित हो भन्नेमा नेतृत्वले प्रष्ट पारिसकेपछि बखेडा झिक्नु वैयक्तिक असन्तुष्टिबाहेक अरू बढी केही हो जस्तो लाग्दैन । झन्, आहुती कमरेडले त त्यसो भन्नै मिल्दैन । दुवै पार्टीको चुनावी घोषणापत्र लेख्ने उहाँ नै हो । उहाँ आफैँले लेखेको  घोषणापत्र लागू गर्न एकताबिना सम्भव छ त ? यो प्रश्न हामीले उहाँलाई सोध्नुपर्छ ।
 
अनि, यो एमाले र माओवादीको एकता प्रचारमा गरिएजस्तो बिसर्जन वा विलय केही होइन । हामीले दुवै पार्टी भत्काएर नयाँ पार्टी बनाउन लागेका हौँ । एमाले माओवादीमा जाने र माओवादी एमालेमा जाने कुरा विल्कुल होइन । बरु, एमाले र माओवादी एक–अर्कोमा जाने–आउने कुरा हो । बिसर्जन र विलयको कुरा गर्ने त एकताविरोधीले मात्रै हो । यो दुवै शक्तिशाली पार्टी एउटै विशाल पार्टी बन्ने प्रक्रिया हो । यसले प्रगतिवादी सोच राख्ने कसैलाई घाटा गर्दैन, सबैलाई फाइदै पुग्छ । त्रिशूलीमा मस्र्याङ्दी मिसिएपछि त्रिशूली नै हुन्छ भन्ने तर्क पनि सुनिन्छ । तर एक कचौरा दालमा एक चम्ची घ्यू हाल्दा घ्यूको स्वाद आउँदैन र ? एमाले दाल र माओवादी घ्यूजस्तो हो । तसर्थ, आजसम्म कम्युनिस्ट आन्दोलनमा देखिएको टुट–फुट र विभाजनले परिवर्तनशील शक्ति र मुलुकलाई पुगेको क्षतिलाई पूर्ति गर्ने सुवर्ण मौकाका रूपमा हामीले यसलाई लिनुपर्छ । एकताको पक्षमा एकढिक्का हुनुको विकल्प छैन ।
 
‘जबज’ र ‘माओवाद’को गाँठो परिराछ, कसरी फुक्छ त ?
 
जबज र माओवादलाई गाँठो पार्न खोजिँदैछ तर यहाँनेर गाँठो पर्दैन । बिहेको मिति तोकेपछि जन्ति सङ्ख्याको छलफलले बिहे रोकिँदैन । छलफल र समझदारीबाट सबै विषय हल हुन्छन् । दुवै पार्टीले ठुल्ठुला बहस, सङ्घर्ष गर्दै एकताबद्ध हुने अभ्यास गर्दै आएको इतिहास साक्षी नै छ । नीति र नेतृत्वबारे उच्च बहस गर्ने थलो महाधिवेशन भएकाले महाधिवेशनबाटै विचारको बहस टुङ्गिन्छ । अहिलेको विश्वमा वादभन्दा व्यवहार नै महत्वपूर्ण हो । गन्तव्य मिलेपछि बाटो पनि अवश्य मिल्छ । ‘जबज’ र ‘एक्काइसौँ सताब्दीको जनवाद’को फ्युजन गरेर नयाँ सिद्धान्त निर्माण गर्नेगरी हामीले सोच्नुपर्छ ।
 
चुनाव जितेपछि सांसदहरू मन्त्री बन्ने दौडमा रहेको देखिन्छ । यहाँको दौड कत्तिको भइरहेको छ ?
 
सम्भावनाले आकाङ्क्षा जन्माउँछ । त्यसभित्र मान्छेको स्वभावले पनि भूमिका खेल्ने गर्छ । प्रदेश सभाको सदस्यका रूपमा जनताले निर्वाचित गरेको प्रतिनिधिले मन्त्री बन्ने आकाङ्क्षा राख्नु अस्वभाविक कुरा पनि होइन । तर म मन्त्री नै बन्न नेतृत्वको दैलोमा तेल लिएर पुगेको छैन । जताततैबाट नाप्दा र न्यायिक निर्णय हुँदा हाम्रो पार्टीबाट म प्रदेश मन्त्री नबन्ने सम्भावना देख्दिनँ । मन्त्री बन्ने पर्याप्त आधार मसँग छन् । मैले २०५७ सालदेखि निरन्तर रूपमा माओवादी पार्टी, कास्कीको नेतृत्व गर्दै आइरहेको छु । पर्वत जिल्लाको पनि नेतृत्व गरेको हुँ । अन्य जिल्लाहरूसँग पनि मेरो भावनात्मक निकटता छ । प्रदेशभित्र माओवादी पार्टीबाट निर्वाचन जितेका सबैजसो साथीहरू जनयुद्धदेखि नै सहकार्य गर्दै आएका छन् । हामी एकलाई अर्कोको पृष्ठभूमि सबैजसो थाहा छ । तसर्थ, मन्त्री भएर समग्र प्रदेशको हितमा काम गर्न मलाई असाध्यै अनुकूल देख्छु । यद्यपि, पार्टीले निर्णय नगर्दासम्म म यसो हुन्छु, उसो हुन्छु भन्दा ठूलो भाग खोजेको अर्थ लाग्न सक्छ । मन्त्री हुने कुरा मेरो व्यक्तिगत इच्छा र आवश्यकतासँग मात्रै पनि सम्बन्धित छैन ।
 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ