शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रसूति तथा स्त्रीरोग विशेषज्ञका अनुसार -यी हुन् महिलामा हुने मुख्य स्वास्थ्य समस्या

शनिबार, २९ पुस २०७४, १२ : ५९
शनिबार, २९ पुस २०७४

तुलनात्मक रूपमा पुरुषभन्दा महिलामा स्वास्थ्य समस्या धेरै हुन्छन् । महिलामा प्रजननसम्बन्धी स्वास्थ्य समस्या धेरै हुन्छ । विशेषगरी पाठेघर क्यान्सर तथा ट्युमर, विभिन्न यौन रोग र स्तन क्यान्सर गम्भीर समस्या हुन् । यस्ता छन् महिलामा हुने प्रमुख स्वास्थ्य समस्या :

डा. मीरा झा, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

सेतो पानी बग्ने
सेतो पानी बग्ने समस्या पछिल्लो समयमा धेरै नेपाली महिलामा देखिएको छ । यो समस्याका धेरै कारण छन् । स्वास्थ्यजाँचपछि मात्रै समस्याको कारण पहिल्याउन सकिन्छ । सेतो पानी बग्ने प्रमुख कारण योनी र पाठेघरमा हुने संक्रमण नै हो । एकभन्दा बढी व्यक्तिसँग असुरक्षित शारीरिक सम्बन्ध राख्ने महिलामा यो समस्या बढी देखिन्छ । यौनांग सरसफाइमा ध्यान नदिँदा पनि संक्रमणको खतरा रहन्छ । मधुमेह रोग लागेका महिलामा पनि सेतो पानी बग्ने समस्या हुन्छ । पाठेघरमा क्यान्सर भएको छ भने पनि यस्तो समस्या हुन्छ । पिल्स खाने महिलामा र गर्भावस्थामा सेतो पानी बग्नु भने सामान्य अवस्था हो । यो अवस्थामा उपचारको आवश्यकता पर्दैन । गर्भवती महिलामा ओस्टोजोन हर्मोन बढी हुने भएकाले सेतो पानी बग्छ । तर, गन्हाउने र योनांग चिलाउने भयो भने उपचार गराउनुपर्छ ।

यौनांग चिलाउने
योनिमा हुने इन्फेक्सनका कारण चिलाउने समस्या हुन्छ । कहिलेकाहीँ पाठेघरको मुखमा क्यान्सर भयो भने पनि योनि चिलाउँछ । पाठेघरभित्र र योनिबाहिर क्यान्सर भयो भने योनी चिलाउँछ । असुरक्षित यौनसम्पर्क पनि यो समस्याको एक प्रमुख कारण हो ।

महिनावारी गडबडी
स्वास्थ्यमा कुनै समस्या नहुँदा पनि कहिलेकाहीँ महिनावारीमा गडबडी हुन्छ । महिनावारी गडबडी विशेषगरी १९ देखि ४९ वर्ष उमेरका महिलामा देखा पर्छ । यो उमेरमा बढी रगत जाने, महिनावारी एक्कासि बन्द हुने समस्या देखा पर्छ । पाठेघरमा क्यान्सर हुँदा, अण्डासयमा ट्युमर हुँदा पनि धेरै रगत जाने र महिनावारी रोकिने हुन्छ । पाठेघरको मुखमा क्यान्सर भएका तथा थाइराइडले सताएका महिलामा पनि रगत बढी जाने हुन्छ । कहिलेकाहीँ थाइराइडले महिनावारी सुकाइदिने पनि गर्छ ।

 

पाठेघरको ट्युमर
शरीरमा हर्मोनको मात्रा बढी भयो भने पाठेघरमा ट्युमर हुन्छ । यो समस्या जेनेटिक पनि हुन्छ । आमाको पाठेघरमा ट्युमर छ भने छोरीलाई पनि हुने सम्भावना रहन्छ । परिवारनियोजनको साधन डिपो सुई लिने महिलाले यसमा विशेष ध्यान दिनुपर्छ ।

पाठेघर तल झर्ने
पाठेघर तल झर्ने प्रमुख कारण बच्चा धेरै जन्माउनु, सानो उमेरमै बच्चा जन्माउनु हो । बच्चा जन्माउने क्रममा पाठेघरको मुख नखोलिँदै आमाले धेरै बल गरे, बच्चा जन्मिएपछि साल राम्रोसँग नछुट्टिँदै ताने पनि पाठेघर खस्ने समस्या हुन्छ । यस्तो वेला पाठेघरलाई सपोर्ट गर्ने लिगामेन्ट छुट्टिन्छ र पाठेघर तल झर्छ । धेरै खोक्दा, सुत्केरी भएको ६ साताभन्दा अगाडि काम गर्दा, गह्रौँ काम गर्दा, पाठेघरमा ट्युमर हुँदा पाठेघर झर्ने हुन्छ । पौष्टिक आहारको कमी भएका महिलामा पनि पाठेघर झर्ने समस्या धेरै हुने गरेको छ ।

अस्थायी साधनको गलत प्रयोग
परिवारनियोजनका अस्थायी साधन धेरै प्रयोग गर्ने महिलामा पनि धेरै समस्या देखिने गरेको छ । पछिल्लो समय युवा पुस्ताले गर्भपतनका औषधिलाई परिवारनियोजनको साधनका रूपमा लिने क्रम बढ्दो छ । यस्ता महिलाको रगत धेरै जाने समस्या हुन्छ । निलोकन चक्कीको धेरै प्रयोग गर्दा पनि रगत धेरै बग्ने हुन्छ । इम्प्लान्ट प्रयोग राम्रोसँग नहुँदा समस्या आउँछन् । परिवार नियोजनका साधनको सही तरिकाले प्रयोग नगर्दा क्यान्सर भएका र रगत जाने बिरामी धेरै छन् ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप