मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

गुण्डा नाइके मनोज पुनका सहयोगी पक्राउ

शनिबार, २९ पुस २०७४, १७ : ०३
शनिबार, २९ पुस २०७४

काठमाडौं - गुण्डा नाइके मनोज पुनका सहयोगी तुल बहादुर सिंजाली पक्राउ परेका छन् । प्रहरीका अनुसार बाबु भनिने तुलबहादुर सिँजालीलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको छ । कतार एयरवेजबाट काठमाडौं उत्रने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी प्रवक्ता डिआइजी मनोज न्योपानेले सिँजाली दुर्गा तिवारीको हत्यामा संलग्न रहेको बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थलबाट तुलबहादुर सिँजाली पक्राउ परेका छन् । उनी दुर्गा तिवारी हत्यामा संलग्न अभियुक्त हुन् । उनीमाथि अब थप कानुनी कारबाही हुनेछ ।’

रुपन्देही देवदह–८ का तिवारीमाथि ४ पुस ०७३ मा गोली हानी हत्या गरिएको थियो । हत्या लगत्तै सिंजाली बेपत्ता भएका थिए । प्रहरीले उनलाई रेड कर्नरमा राखेर खोजिगरिरहेको थियो । यही क्रममा उनी कतारमा रहेको खुलेपछि प्रहरीले कतार इन्टरपोलमार्फत कतारी प्रहरीसँग सहयोग लिएको थियो । कतारी प्रहरीले सिंजालीलाई पक्राउ गरेर जहाजमार्फत नेपाल फिर्ता गरेपछि प्रहरीले अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।

डिआइजी न्यौपानेले भने, ‘तिवारी हत्यालगत्तै सिँजाली बेपत्ता थिए । खोज्दै जाँदा उनी कतारमा रहेको खुल्यो । उनलाई पक्राउ गर्न नेपाल इन्टरपोलले कतार इन्टरपोलबीच समन्वय गर्‍यो । अन्ततः कतारले उनलाई समातेर नेपाल फिर्ता गर्‍यो । उनलाई प्रहरीले अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गर्‍यो ।’

प्रहरीले उनलाई थप अनुसन्धानका निम्ति इलाका प्रहरी कार्यालय बुटवलमा पेस गर्ने भएको छ । प्रहरीका अनुसार सिँजालीले तिवारी हत्यामा गोली र पेस्तोलको व्यवस्थापन गरिदिने काम गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप