अवरुद्ध सडक खुल्यो
शनिबार, २९ पुस २०७४, २० : १९
पाल्पा- सिद्धार्थ राजमार्गको पाल्पा–बुटबल सडकमा यातायातका साधन सञ्चालनमा आएको छ ।
माथिबाट खसेको ढुङ्गा हटाएपछि पाल्पा–बुटबल सडकखण्ड भएर सञ्चालन हुने सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका प्रहरीले जनाएको छ । आज दिउँसो तिनाउ गाउँपालिका–३, दोभानको नजिकै तल्लो सिद्धबाबा क्षेत्रमा माथिबाट ढुङ्गा खस्दा सडक अवरुद्ध बनेको थियो ।
बुटबलदेखि पाल्पा हुँदै स्याङ्जा, पोखरा, गुल्मी, बागलुङतर्फ जाने सवारीसाधन बीच बाटोमा रोकिँदा यात्रुले सास्ती खेप्न बाध्य थिए ।
करिब तीन घण्टापछि यातायातका साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पाल्पा–बुटबल सडकमा यात्रा गर्दा यात्रु तथा चालकले ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य हुँदै आएका छन् ।