शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिरोहिया–सुमार्गी सम्बन्ध : त्यो दोस्ती, यो दुश्मनी

सोमबार, ०१ माघ २०७४, १७ : ११
सोमबार, ०१ माघ २०७४

काठमाडौं –दुई ठुला मिडिया मालिक कैलाश सिरोहिया र अजयराज सुमार्गीबीचको लडाईं आजको दिनमा बढो पेचिलो बन्दै गएको छ । पेचिलो र रोचक यसकारण कि, यी दुईवीच पहिला दोस्ती थियो र अहिले दुष्मनी ।

आपसी लेनदेनमा कुरा नमिल्दा उनीहरुबीचको दोस्ती दुश्मनीमा बदलियो । एकले अर्कालाई सिध्याउन आ–आफ्ना हतियार प्रयोग गरिरहेका छन् ।

उनीहरुवीच विवाद बढ्दैगएपछि लडाईं प्रशासनबाट अदालत हुँदै मिडियासम्म पुगेको छ ।

सिरोहिया–सुमार्गी दोस्तीदेखि दुश्मनीसम्मका केही तथ्य

पहिला दोस्ती

सिरोहिया र सुमार्गीबीच पहिला सुमधुर सम्बन्ध मात्रै थिएन, कारोवार पनि भएको थियो । २०७० सालमा कान्तिपुर मिडिया ग्रुपमा प्रबन्ध निर्देशक कैलाश सिरोहिया र सुमार्गीबीच जग्गा कारोबार भएको थियो । त्यतिन्जेलसम्म उनीहरुवीचको सम्बन्ध राम्रो नै थियो ।

अचानक समाचारको बाढी

जग्गाको कारोवारपछि यो दोस्तीमा उतार–चढाव देखियो । कान्तिपुर मिडिया ग्रुपमामा रहेका संचारमाध्यममा एकपछि अर्को समाचार आए, सुमार्गीसँग जोडिएर र, अहिले पनि सुमार्गीले भित्राएको रकमको स्रोतवारे कान्तिपुर मिडिया ग्रुपका संचारमाध्यममा समाचार आईरहेका छन् ।

तीन बर्ष माैन

२०७४ पुस ९ मा कान्तिपुर मिडिया ग्रुप अन्तर्गतको  कान्तिपुर दैनिकमा ‘सुमार्गीको २२ अर्व रुपैयाँ अवैद्य’ शिर्षकमा समाचार प्रकाशित भयो । समाचार प्रकाशित गरेपछि यी दुई मालिकबीचको झगडा फेरि सार्वजनिक रुपमै छताछुल्ल भयो ।

त्यसपछि प्रशासनतिर

सुमार्गीले आफू र आफ्नो परिवारको ज्यानमाथि खतरा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सुरक्षाको माग गर्दै निवेदन दिए । यो थियो पुस १२ को घटना । आर्थिक लेनदेनको मामिलामा कान्तिपुर मिडिया गू्रपका सञ्चालक सिरोहियाबाट सांघातिक हमला समेत गराउने आशंका व्यक्त गर्दै सुमार्गीले प्रशासन समक्ष निवेदन दिएका थिए । उनले प्रशासनलाई दिएको निवेदनमा सिरोहियाले आर्थिक सौदाबाजी गरेको र आफूले नमानेपछि धम्की दिने गरेको दावी पनि गरेका छन् ।

प्रशासनपछि अदालततिर

प्रशासन गएको ११ दिनपछि सोही मुद्दालाई लिएर सुमार्गी पुस २३ गते अदालत पुगे । अदालतमा उनले कैलाश सिरोहिया, उनको लगानीमा रहेको कान्तिपुर पब्लिकेशन प्रालि, कैलाशकी श्रीमति स्वस्तीका सिरोहिया र कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधिर शर्मालाई विपक्षी बनाएर सुमार्गीले गाली बेइज्जति मुद्दा दायर गरे । उनले त्यसवेला काठमाडौ जिल्ला अदालतमा २५ करोड क्षतिपूर्तिको माग दाबीसहित मुद्दा दर्ता गरेका थिए ।

र, अहिले मिडियातिर

प्रशासन र अदालत गएपछि सुमार्गीले तेस्रो कदमका रुपमा मिडियाकहाँ पुगे । अदालत गएको सात दिनपछि अर्थात माघ १ गते सुमार्गीले आफ्नै कर्पोरेट टावरमा पत्रकार सम्मेलन गरे । सिरोहियाले आफुमाथि ब्ल्याकमेलिङ गरेको दावी गरे ।

अव के होला ?

दुई उद्यमीको लडाईं बन्द कोठाबाट सडकमा आएको छ । नतिजा जे आएपनि यो लडाईं सजिलै टुंगिने छैन । र, तेस्रो पक्षले हेर्नुबाहेक विकल्प पनि छैन ।

याे पनि पढ्नुहाेस्

सुमार्गीको पत्रकार सम्मेलन : कान्तिपुरलाई नजरना नचढाई व्यवसाय गर्न नपाइने नजिर बस्यो

छैटौं तलाबाट कैलाश सिरोहियामाथि सुमार्गीका १५ हमला

कर्पोरेट मालिकहरुको ‘युद्ध’ : अन्य को–को मुछिए ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप