बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस नेता पौडेल र एमाले नेता श्रेष्ठको चुनावी खर्च कति ?

बुधबार, ०३ माघ २०७४, ०८ : २५
बुधबार, ०३ माघ २०७४

२६ जना उम्मेद्वारले मात्र बुझाए चुनावी खर्च विवरण, साना दलले बुझाएनन्

तनहुँ - प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सकिएको ३७ दिन वितिसक्दा तनहुँमा जम्मा २६ जना उम्मेदवारले मात्रै चुनावको खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन् ।

गएको मंसिर २१ गते सम्पन्न चुनावमा भएको खर्चको विवरण उम्मेदवारहरुले निर्वाचन कार्यालयमा बुझाएका हुन् । चुनावमा तनहुँ बाट प्रतिनिधिसभा २१ जना र प्रदेशसभा ३३ जना गरी जम्मा ५४ जनाको उम्मेदवारी परेको थियो ।

५४ जना उम्मेद्वारहरुमध्ये हालसम्म २६ जनाले मात्रै चुनावको खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख बाबुराम घिमिरेले जानकारी दिए । जिल्लामा अझै २८ जना उम्मेदवारले चुनाव खर्च विवरण बुझाउन बाँकी छ ।

जिल्ला निर्वाचन कार्यालय तनहुँका सुचना अधिकारी अशोक नेपालीका अनुसार वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका एमालेका नेता कृष्ण कुमार श्रेष्ठ किसानले १९ लाख ९७ हजार तिन सय रुपैयाँ चुनाव खर्च विवरण पेश गरेका छन्।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले २२ लाख १८ हजार दुई सय रुपैयाँ चुनाव खर्च विवरण पेश गरेका छन् । 

वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका एमालेका नेता केदार सिग्देलले १५ लाख ५१ हजार २८५ रुपैयाँ, नेपाली काङ्ग्रेस बाट उम्मेदवार बनेका शंकर भण्डारीले २२ लाख ७४ हजार ९४० रुपैयाँ, वाम गठबन्धनबाट प्रदेशसभाका उम्मेदवार बनेका एमालेका नेता राम बहादुर गुरुङले ७ लाख २४ हजार १०१ रुपैयाँ, वाम गठबन्धनबाट प्रदेशसभाका उम्मेदवार बनेका एमालेका नेता किरण गुरुङले ८ लाख ८५ हजार ७ सय ९८ रुपैयाँ, वाम गठबन्धनबाट प्रदेशसभाका उम्मेदवार बनेका माओवादी केन्द्रका नेता हरि बहादुर चुमानले ८ लाख ४२ हजार ७५५ रुपैयाँ , बाम गठबन्धनबाट प्रदेशसभाका उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी नेतृ आशा कोइरालाले ८ लाख ५२ हजार १४९ रुपैयाँ चुनाव खर्च विवरण पेश गरेकी छन् ।

नेपाली कांग्रेसबाट प्रदेशसभाका उम्मेदवार बनेका प्रदिप पौडेलले १३ लाख २७ हजार ६ सय रुपैया चुनाव खर्च विवरण पेश गरेका छन् । 

नयाँ शक्तिबाट क्षेत्र नम्बर १ प्रदेशसभा क मा उम्मेदवार बनेका नारायण बहादुर कार्कीले ३ लाख ३७ हजार ८ सय ५० रुपैयाँ चुनाव खर्च विवरण पेश गरेको निर्वाचन कार्यालयले जनाएको छ । 

तनहुँमा मंसिर २४ गते चुनावी परिणाम घोषणा भएको थियो । निर्वाचन आयोगले निर्धारण गरेको खर्चको सीमा भित्र रहेर तनहुँका उम्मेदवारले खर्च विवरण पेश गरेका छन् । आयोगले प्रतिनिधिसभाका उम्मेदवारलाई अधिकतम २५ लाख र प्रदेशसभाका उम्मेदवारलाई अधिकतम १५ लाख खर्च गर्न पाउने सीमा तोकेको थियो ।

संवैधानिक व्यवस्थाअनुसार निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिन भित्र आयोग वा आयोगले तोकेको कार्यालयमा पेश गर्नुपर्ने छ ।


साना दलले खर्च विवरण बुझाएनन्
मंसीर २१ गते भएको निर्वाचनमा साना दलका  उम्मेदवारले  खर्च विवरण बुझाउन अटेर गरेका छन् ।
विवरण नबुझाउने साना राजनितिक दलहरु नेपाल कम्युनिस्ट पार्टी माक्सवादी, एकीकृत राष्टिय पार्टी, स्वतन्त्र, नेपाल कम्युनिस्ट पार्टी माले, मंगोल नेशनल अर्गनाइजेसन लगायतका दलहरु रहेका छन् ।  
जिल्ला निर्वाचन कार्यालय तनहुँका सूचना अधिकारी अशोक नेपालीले खर्चको विवरण समयमै बुझाउने उम्मेदवारको सुची र नबुझाउने उम्मेदवारको सुची निर्वाचन आयोग काठमाडौं पठाउने जानकारी दिए । 
हामीले समयमै बुझाउन उम्मेदवारलाई ताकेता लगाएका थियौ तर उम्मेदवारहरु अटेर गरेर आउनुभएन उनले भने, “समयमा खर्चको विवरण नबुझाउने उम्मेदवारलाई  निर्वाचन आयोगले कारबाही गर्छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप