शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

२३ माघअघि सबै प्रदेश सभाको अधिवेशन, ३ फागुनभित्र मुख्यमन्त्री

शनिबार, ०६ माघ २०७४, ०८ : २५
शनिबार, ०६ माघ २०७४

आइतबार प्रदेश सदस्यको शपथ

प्रदेश सभा सदस्यलाई आइतबार प्रदेश प्रमुखले शपथ गराउने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालयमा शुक्रबार प्रदेश प्रमुखसँग आयोग पदाधिकारीले गरेको अनौपचारिक छलफलमा आइतबार ११ बजेभित्र प्रदेश सभा सदस्यलाई शपथग्रहण गराउने सहमति भएको हो । आजको नयाँ पत्रिकामा खबर छ ।

‘आइतबार बिहान प्रदेशको सम्बन्धित राजधानीमा प्रदेश सभा सदस्यलाई शपथग्रहण गराउने तय भएको छ,’ प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले नयाँ पत्रिकासँग भने । आयोगले सोही दिन दिउँसो राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाताको नामावली सार्वजनिक गर्दै छ । राष्ट्रिय सभा निर्वाचनका मतदाता स्थानीय तहका प्रमुख र उपप्रमुखसहित प्रदेश सभा सदस्य पनि हुन् ।

२३ माघअघि सबै प्रदेश सभाको अधिवेशन, ३ फागुनभित्र मुख्यमन्त्री
संविधानको धारा १८३ अनुसार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले २० दिनभित्र प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आह्वान गर्नेछन् । निर्वाचन आयोगले ३ माघमा अन्तिम नतिजा सार्वजनिक गरेको थियो । सोही दिनबाट गणना हुँदा २३ माघभित्र अधिवेशन बोलाइसक्नुपर्नेछ । प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थका अनुसार आइतबार प्रदेश सभा सदस्यको शपथग्रहण मात्रै हुनेछ ।

अधिवेशन कहिले बोलाउने भन्नेबारे टुंगो नलागेको उनले जानकारी दिए । ‘प्रदेश सदस्यले शपथ लिएपछि राष्ट्रिय सभा सदस्य निर्वाचको कार्यतालिका प्रभावित हुँदैन, त्यसैले प्रदेशमा छलफल गरेर २३ माघअघि नै पहिलो अधिवेशन आह्वान गर्छौैँ,’ कायस्थले नयाँ पत्रिकासँग भने ।

संविधानको धारा १६८ अनुसार प्रदेश सभा सदस्य निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र मुख्यमन्त्री निर्वाचित हुनुपर्नेछ । ३ माघमा निर्वाचन परिणाम सार्वजनिक भएकाले बढीमा ३ फागुनभित्र मुख्यमन्त्री निर्वाचित भइसक्नुपर्नेछ । २४ माघमा राष्ट्रिय सभा निर्वाचन हुने कार्यतालिकाअनुसार निर्वाचन सम्पन्न भएलगत्तै मुख्यमन्त्री निर्वाचित हुनेछन् । यसरी हेर्दा प्रतिनिधिसभाबाट केन्द्रीय सरकार बन्नुभन्दा पहिला नै प्रदेशको मुख्यमन्त्री बन्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप