शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बालकविताः जाडो पनि कति हो

शनिबार, ०६ माघ २०७४, ०८ : ३१
शनिबार, ०६ माघ २०७४

- रमेशचन्द्र घिमिरे  

बाक्लो हुस्सु उडिरा’छ फुस फुस
जाडो पनि कति हो, उस, उस, उस् !

सहरबाट गलबन्दी ल्याइदिएनन् मामाले
यौटा स्विटर किन्नलाई नि कन्जुस गरिन् आमाले
केटाकेटी आपसमा, कुरा गर्छन् खासखुस
जाडो पनि कति हो, उस, उस, उस !

बाले दे’को जडौरी, थोत्रा लुगा हापिन्छ
नयाँ लुगा नपाइन्जेल बरु आगै तापिन्छ
सल्काइन्छ झिँगल्टा, घसेटा र झ्यासझुस
जाडो पनि कति हो, उस, उस, उस !

कठ्याङ्ग्रिँदो ठण्डीमा पढ्न मन ला’छैन
आँत कामेर थरर्र बोल्न पनि भा’छैन
माघले फेरि रुवाउने भो कट्यो बल्ल पुस
जाडो पनि कति हो, उस, उस, उस !

-भोर्लेटार, लमजुङ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप