कविताः निर्क्योल
– प्रकाश आचार्य
एकनाशसँग निस्किरहने दर्दको सङ्गीत
नित्यरुपमा गुञ्जिरहने मर्मको धून
मेरा कानहरुले हरेक दिन श्रवण गरिरहन्छन्
मलाई बताइदेऊ न महोदय, तिमीले के सुन्छौ ?
तिम्रो उत्तरपश्चात् एकरुपता वा भिन्नताबारे
म निक्र्योल गर्न चाहन्छु ।
घाम झुल्केसँगै व्युझिँरहने समस्याका ओछ्यानहरु
सारङ्गीको तार चुँड्दासँगै चुँडिरहने रहरका पालुवाहरुलाई
मेरा चक्षुहरुले प्रत्येक पल देखिरहन्छन्,
मलाई भनिदेऊ न महोदय, तिमीले के देख्छौ ?
तिम्रो उत्तरपश्चात् एकरुपता वा भिन्नताबारे
म निक्र्योल गर्न चाहन्छु
हरेक साँझबिहान भकारो सोहोर्दा आउने गोबरको खुस्बु
त्यस्तै प्रत्येक दिवापख कर्म गरिरहँदा शरीरबाट बगिरहने पसिनाको सुगन्ध
मेरो नाकले सिलसिलाबद्ध रुपमा बास्ना लिइरहन्छ,
मलाई बताइदेऊ न महोदय, तिमीले लिने गरेको बास्ना केको हो ?
तिम्रो उत्तरपश्चात् एकरुपता वा भिन्नताबारे
म निक्र्योल गर्न चाहन्छु
बिहान आहाराको जोहो गर्न निस्कँदा जङ्गलका तिखा काँडाहरु
दिउँसोपख श्रम पोख्न जाँदा फलामका धारिला किलाहरु
मेरा पइतालाहरुले दिनुहँ स्पर्श गरिरहन्छन्
मलाई भनिदेऊ न महोदय, तिमीले कहाँ टेक्छौ ?
तिम्रो उत्तरपश्चात् एकरुपता वा भिन्नताबारे
म निक्र्योल गर्न चाहन्छु
हरेक जोर बार मेरो भान्छामा पाक्ने मकैको च्याख्ला,
त्यस्तै, प्रत्येक बिजोर बार पाक्ने सिस्नुको तिउन
मेरो जिब्रोले एवम् रीत तवरमा स्वाद लिइरहन्छ,
मलाई बताइदेऊ न महोदय, तिमीले के खान्छौ ?
तिम्रो उत्तरपश्चात् एकरुपता वा भिन्नताबारे
म निक्र्योलगर्न चाहन्छु ।