बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कविताः सीमान्तकृत प्रतिभा

शनिबार, ०६ माघ २०७४, ०८ : ४३
शनिबार, ०६ माघ २०७४

-दिल थापा   

उसलाई एउटा युगले 
अझ भनौँ एउटा शताब्दीले 
तलबाट पनि 
माथिबाट पनि 
फलामका पाटाहरुले 
थिचाई राखेर होला । 
उसले लेख्न कहिल्यै आँट गरेन
 विषयवस्तु पनि भेटेन  
तर एक साझ उसले 
उसको समाज लेख्न आँट गर्यो 
लेख्यो पनि 
तर उसको लेखनको कहिल्यै मोटाई  नापिएन 
अनि गहिराई पनि 
खाली उसको नापिए त लम्बाइ 
अनि मात्रा चौडाइ

उसको प्रतिभा आञ्चालिक थियो
 उसको प्रतिभा सीमान्तकृत थियो
 अनि जापानी हाइकु जस्तै 
प्रयोगवादी कविता जस्तै कडा पनि
त्यसैले उसको प्रतिभा कसैको आखामा परेन
 कतिले छामे 
कसैले मिटरमा नापे
 एउटा साहित्यकारमा हुनुपर्ने मापदण्ड नै पुगेन
 तर उसले आफूजस्तै सीमान्तकृतमा परेका्
प्रतिभालाई खै किन हो ? 
कहिल्यै मारेन
 तर पनि उसले लेखिरह्यो
 आफ्नै समाजलाई 
आफ्नै समाजकै दपर्णहरुलाई
त्यही राज्यको एउटा समाजको कथालाई

उसको प्रतिभा जहिल्यै पनि उपेक्षाको कुहिरो लाग्ने 
कुहिरोमा रोमलिरहने एउटा राज्यको थियो । 
अनि उसको प्रतिभा मूलधारको पनि थिएन 
प्रसिद्ध साहियकारहरुले लेख्ने खालको पनि थिएन
 थियो त बेग्लै 
असाहित्यिक किसिमको 
अनि रसहीन
 स्वादहीन 
साहित्यिक तत्वहीन

उसले दशौं वर्ष लगाएर आफ्नो  त्यही समाज लेख्यो । 
उसले त्यसलाई सधैँ एउटा महाकाव्य सम्झ्यो ।
आफ्नो महाकाव्यलाई प्रकाशनमा ल्याउनलाई होला 
ऊ सधँै राजधानी धायो । 
आफ्नो महाकाव्य प्रकाशनमा ल्याउनलाई होला 
प्रकाशन गृहहरुलाई देखायो 
प्रसिद्ध महाकाव्यकारलाई पनि देखायो
उसको समाजको कथा  विशेष खालको भएन रे 
उसको महाकाव्यमा भएको झुलबहादुर पात्रा विशेष क्षमता भएको भएन रे !
धिरोदत्ताजस्तो
अनि अरु पात्रापात्रहरु पनि 
परिवेश पनि
ऊ आज साच्चिकै निकै निराश भयो 
फेरि आफ्नो समाज सम्झ्यो 
झुल बहादुरहरुजस्ता सयौँ पात्राहरु सम्झ्यो 
आफ्नो झोलाको महाकाव्य सम्झ्यो 
पाँच रुपियाँमा किनेको कलम अनि कापी पनि सम्झ्यो । 
झोलाको हस्तलिखित महाकाव्य झिक्यो ।
त्यही हातले लेखेको काव्य
 फेरि त्यही हातले च्यात्यो 
खुला आकाशतिर उडाइदियो 
सबै टुक्राहरु तलतल गर्दै जमिनमा झरे 
उसले आफ्नो प्रतिभालाई राजधानीमा नै अन्तिम दाहसंस्कार गरेर फक्र्याे ।

-हाल जापान

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप