आन्दोलन तत्काल स्थगित गराएर निर्वाचनको वातावरण बनाउन यादवको आग्रह
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनलाई सहज ढंगले सम्पन्न गर्ने वातावरण बनाउन सरकारलाई पुनः आग्रह गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले दाङ र डोटीमा निर्वाचन प्रतिकूल हुनेगरी भइरहेको आन्दोलन तत्काल स्थगित गराएर राष्ट्रिय सभा निर्वाचनलाई सहज ढंगले सम्पन्न गर्ने वातावरण बनाउन सरकारलाई पुनः आग्रह गरेका हुन् ।
त्यस अवसरमा उनले निर्वाचनका लागि आवश्यक वातावरण बनाउने जिम्मेवारी पूरा गर्न सबै राजनीतिक दलहरुको गम्भिर ध्यानाकर्षण गराए ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले राष्ट्रिय सभा निर्वाचनलाई निष्पक्ष ढंगले सम्पन्न गर्ने दायित्व सरकार र सम्बन्धित राजनीतिक दलहरुको रहेको पनि स्पष्ट पारे ।
प्रदेश राजधानीको माग गर्दै दाङ र डोटीमा आन्दोलन भइरहेको छ । सोही आन्दोलनका कारण राष्ट्रिय सभाको निर्वाचन प्रभावित हुने भन्दै निर्वाचन आयोगले चिन्ता व्यक्त गर्दै आएको छ ।
आगामी माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । १० गते बुधबार राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्ने कार्यतालिका समेत तय भइसकेको छ ।