प्रदेशसभा सदस्यहरुको शपथग्रहणका लागि वीरेन्द्र सभागृहको साजसज्जा शुरु
विराटनगर। प्रदेशसभा सदस्यहरुको शपथग्रहणका लागि विराटनगरको वीरेन्द्र सभागृहको साजसज्जा सुरु भएको छ ।
आइतबार विहान १० बजे प्रदेश प्रमुखबाट प्रदेशका ९३ जना सदस्यहरुलाई सोही सभागृहमा सपथ गराउने कार्यक्रम तय भएपछि हतारमा भवन सजाउने काम सुरु गरिएको हो ।
लामो समयदेखि मर्मतको पर्खाइमा रहेको सभागृह विराटनगर महानगरपालिका मातहतको संरचना हो । महानगरले भाडा लिएर सार्वजनिक प्रयोजनमा ल्याउदै आएको भवनको भित्री अवस्था नाजुक रहेको छ । खुइलिएको रंगरोगनको अवस्थालाई तत्काल पर्दा लगाएर छोपिने छ भने पुराना कुर्सीहरु निकालिने छ । मैला कुर्सीहरुलाई बाहिरबाट खोल लगाएर सजाइने छ ।
अँध्यारो हल भएको हुँदा अस्थाई रुपमा हलभित्र लिड लाइटहरु धमाधम फिट गर्ने काम भइरहेको विराटनगर महानगरपालिकाका प्राविधिकले जानकारी दिनुभयो । शौचालय, पानी, धारा आदिको मर्मत कार्यपनि जारी रहेको छ ।
करिव ५ सय जनाको क्षमता रहेको सो सभागृह प्रदेश संसदको रुपमासमेत प्रयोग हुने प्रस्ताव गरिएकोले पहिलो बैठक पछि त्यसको विस्तृत मर्मत सम्भार र पुर्ननिर्माण गर्ने बताइएको छ ।
तत्कालका लागि भने सजावट गरेर शपथ ग्रहण तयारी गरिएको छ ।
पहिलो बैठक भने जिल्ला समन्वय समिति मोरङको सभाहलमा राख्ने तयारी भएको छ ।