बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आत्महत्यालाई जितेका फेल्प्स: चार स्वर्ण जितेपछि चार दिन केही खाएनन्

आइतबार, ०७ माघ २०७४, १० : ०८
आइतबार, ०७ माघ २०७४

अमेरिकन प्रख्यात पौडीबाज माइकल फेल्प्सले डिप्रेसनका कारण एक समय आफू आत्महत्या गर्ने मनस्थितिमा पुगेको खुलासा गरेका छन् । सन् २०१२ को लन्डन ओलम्पिकपछि जीवनमा केही बाँकी नरहेको सोच पलाउँदा आत्महत्या गर्ने अवस्थामा पुगेको फेल्प्सले शनिबार सिकागोमा आयोजित एक गोष्ठीमा बताएका हुन् । ‘लन्डन ओलम्पिकपछि म आत्महत्यानजिक पुगिसकेको थिएँ,’ २३ ओलम्पिक स्वर्ण जितेका फेल्प्सले भने ।

बाँच्ने चाहना समाप्त
सिकागोको एक स्वास्थ्य संस्थाले ‘मानसिक सन्तुलन गुमाउँदा के हुन्छ ?’ विषयक गोष्ठी आयोजना गरेको थियो । गोष्ठीमा खेलक्षेत्रबाट फेल्प्सलाई निमन्त्रणा दिइयो । कार्यक्रम सञ्चालकले फेल्प्सलाई जीवनमा कहिले नैराश्य वा मानसिक तनावको सामना गर्नुभएको छ ? भनी प्रश्न राखेका थिए । त्यसको प्रत्युत्तरमा फेल्प्सले कसैले सोच्नै नसक्ने उत्तर दिए । ‘ओलम्पिकको सफलतापछि म डिप्रेसनको सिकार भएँ’ ३२ वर्षीय फेल्प्सले सामान्य रूपमा उत्तर फर्काए । कार्यक्रम सञ्चालकले कुन वेला ? भन्दै फेरि प्रश्न राखे । यो प्रश्नमा फेल्प्सको जवाफ सुन्दा भने उपस्थित सबै स्तब्ध नै बने । फेल्प्सको उत्तर यस्तो आयो, ‘खेलकुदमै सक्रिय हुन मन भएन, मलाई एक क्षण पनि संसारमा बाँच्न मन लागेन, त्यो समय लन्डन ओलम्पिकको वेला थियो ।’ लन्डन ओलम्पिकमा फेल्प्सले चार स्वर्ण तथा दुई रजत पदक जितेका थिए ।

चार दिनसम्म भोकै
अक्सर ओलम्पिकमा स्वर्णपदक जित्दा कुनै पनि एथलेटिक्सको जीवन नै परिवर्तन हुन्छ । स्वर्ण जित्ने खेलाडी एकाएक स्टार बन्छन् । लन्डन ओलम्पिकअघिसम्म दर्जनाैँ स्वर्णपदक जितेका फेल्प्स एक अपवाद खेलाडीमा रहन पुगे । लन्डनमा चार स्वर्ण जितेको रात उनले केही पनि खाएनन् । ओलम्पिक भिलेजको अपार्टमेन्टमा चार दिनसम्म एक्लै बसे । ती चार रात उनले संसारै शून्य भएको मात्र महसुस गरिरहे । ‘मलाई याद छ, स्वर्ण जितेको रात नै म ओलम्पिक भिलेजमा एक्लै बसेको थिएँ, साथीहरूलाई आराम गर्नु छ, डिस्टर्ब नगर भनेँ,’ सात वर्षअघिको घटना सम्झिँदै फेल्प्स भन्छन्, ‘चार दिनसम्म बत्तीसमेत नबाली म कोठाभित्र मात्र बसिरहेँ, ती दिनमा आफैँले आफैँलाई खाना खान र सुत्न बन्देज गरेँ, केवल आत्महत्या गर्ने मात्र सोच आइरहेको थियो ।’

सानो सोच
यसैबीच गोष्ठीमा सहभागी एक समर्थकले फेल्प्सलाई आखिर किन आत्महत्या नै गर्ने सोच बन्यो ? भनी प्रश्न राखे । त्यसको उत्तर फेल्प्सले अगाडि नै दिइसकेका थिए । तर, ती समर्थकलाई फेल्प्सको भित्री कुरा निकाल्न मन लागिरहेको थियो र पुरानै प्रश्न दोहोर्‍याएका थिए । योपटक फेल्प्सले भने, ‘मैले अगाडि नै भनिसकेको थिएँ, ‘डिप्रेसन’को सिकार भएका कारण आत्महत्याको सोच आएको थियो । तर, कतिपय अवस्थामा हामी सानो सोचका साथ अगाडि बढ्यौँ भने पनि आत्महत्या गर्न मन लाग्ने रहेछ ।’ १७ वर्षको स्विमिङ करिअरमा आफूबाहेक अन्य कोही प्रतिस्पर्धी नभेटाउँदा पनि दिक्क लागेको उनको भनाइ छ । ‘स्विमिङ पुलमा जब म हेर्छु, त्यहाँ कोही पनि प्रतिस्पर्धी नै हुँदैनथे, कति जित्नू भन्नेजस्तो पनि हुन्थ्यो,’ उनले भने, ‘यसले मलाई सधैँ पीडा दिइरहन्थ्यो ।’

हल नै सुनसान
फेल्प्सले एकपछि अर्को अप्रत्याशित घटना सुनाउँदै जाँदा गोष्ठीमा उपस्थित सयौँ दर्शक स्तब्ध भए । स्विमिङ जगत्मा सफलताको उच्चतम शिखरमा पुगेका फेल्प्सजस्ता खेलाडी पनि आत्महत्याको प्रयास गर्न सक्छन् भन्ने कसैले पत्याउन सकेका थिएनन् । गोष्ठीमा रहेका समर्थकले आफूलाई सम्हाल्न सकेका थिएनन् । उनीहरू भक्कानिँदै रोएका थिए । फेल्प्सले आफ्ना समर्थकलाई सम्झाउँदै जीवनमा एकपटक त्यस्तो खराब दिन आउन सक्ने जनाए । ‘तपार्इंहरूको जीवनमा पनि एक दिन मनमा यस्तै अनेकौँ नराम्रा कुरा आउन सक्छ, यस्ता कुरामाथि हामीले विजय प्राप्त गर्नुपर्छ,’ आत्मबल बलियो बनाउन सन्देश दिँदै फेल्प्सले भने, ‘कहिलेकाहीँ आत्मबल पनि बलियो बनाउनुपर्दो रहेछ । त्यस दिन मैले आफूलाई धेरै सम्हालेको थिएँ, यदि त्यो चार दिन मैले आफूलाई नरोकेको भए, सम्भवतः आज तपार्इंहरूको सामु म हुन्नथेँ होला !’

ड्रग्सको सिकार
डिप्रेसनकै कारण खराब लतको सामना गर्नुपरेको फेल्प्सले बताएका छन् । सन् २०१२ को ओलम्पिकपछि उनले सन्न्यासको घोषणासमेत गरेका थिए । सन्न्यासपछि उनको जीवन एक्लोझैँ रह्यो । सन् २०१२ देखि २०१५ सम्म फेल्प्स अक्सर रक्सी, महिला र ड्रग्सको लतमा फसेको समाचार मात्र आइरहेका थिए । ती घटनाबारे उनी भन्छन्, ‘उमेर बढ्दै जाँदा नै सन्न्यास घोषणा गरेँ, तर, त्यो मेरो सोचाइ गलत थियो, सन्न्यासपछि जीवनमा केही गर्न मन लागेन र म ड्रग्स र महिलाप्रति मोहित भएँ, जसले मेरो सुनौलो करिअर नै धरापमा पार्‍यो ।’

अटोबायोग्राफीमा उल्लेख
सन् २०१२ मै फेल्प्सको अटोबायाग्राफी आएको थियो । त्यसमा उनले आत्महत्याको कुरा उल्लेख गरेका छन् । तर, अटोबायोग्राफीमा केवल आत्महत्याको विचार मात्र आएको उनले लेखेका छन् । सिकागोमा भएको गोष्ठीमा के कति कारण त्यो दिनको सामना गर्नुपर्‍यो भन्ने उनले विस्तृत रूपमा बताएका हुन् । सन् २००४ मा ग्रिसमा सम्पन्न ओलम्पिकमा फेल्प्सले पहिलो स्वर्ण जितेका थिए । सन् २०१६ मा रियो ओलम्पिकमा समेत स्वर्ण जित्दै उनले सधैँका लागि स्विमिङबाट सन्न्यास लिए । गोष्ठीको अन्तिम सत्रमा फेल्प्सले जीवनलाई सुन्दर बनाइराख्न मानसिक तनावमुक्त रहन सल्लाह दिए । ‘वास्तवमै जीवनलाई सफल बनाउन चाहना राख्नुहुन्छ भने कहिले पनि मानसिक रूपमा आफूलाई दबाब नदिनुस्, यही नै मेरो सन्देश हो,’ उनले भने ।

-नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप