शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नयाँ शक्तिमा आउने कि नयाँ शक्ति जाने ?

आइतबार, ०७ माघ २०७४, १३ : ३६
आइतबार, ०७ माघ २०७४

यतिबेला मुलुकको राजनीतिमा वैकल्पिक राजनीतिक शक्तिको व्यापक चर्चा छ । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मैदानबाट एकाएक चर्चामा आएका नयाँ वैकल्पिक राजनीतिक शक्तिको मूल्य र मान्यता जनतामा स्थापित हुँदै गएको छ । चुनावी दौरानमा नयाँ र पुराना राजनीतिक शक्तिबीचको अन्तर र परिणामलाई जनताले नजिकबाट नियालिरहेका छन् । यसले अगामी निर्वाचनमा जनतालाई फरक ढङ्गले निर्णय लिन सहज हुन्छ ।

चुनावी अभ्यासले वैकल्पिक राजनीतिक शक्तिका अभियन्ताहरूमा सकारात्मक बहस छिरेका छन् । चुनावी झड्काले नयाँ वैकल्पिक राजनीतिक शक्तिहरू बीचको एकता, सहकार्य र ध्रुवीकरणको सवाल पनि उठेका छन् । सरल राजनीतिक वृत्तमा पुरानै नयाँ र नितान्त नयाँ वैकल्पिक राजनीतिक शक्तिलाई इतिहाससँग जोडिरहेका छन् । कतिपय सन्दर्भमा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिलाई विवेकशील साझासँग विलय गराउने शब्दको प्रयोग भैरहेका छन् अर्थात् चिया गफको रूपमा नयाँ शक्ति विवेकशील साझालगायतको अन्य पार्टीमा जाने कि सतहमा देखिएका वैकल्पिक राजनीतिक शक्ति नयाँ शक्तिमा आउने बहस पनि हुने गरेका छन् ।

परिणाम जेजस्तो आए पनि वैकल्पिक राजनीतिक शक्तिहरू बीचको एकता वा सहकार्यलाई नजिकबाट नियाल्नुभन्दा त्यसलाई होच्याएर सखाप पार्ने बहस यदाकदा बजारमा हुने गरेका छन् । यो समानजनक बहस होइन । वैकल्पिक राजनीतिक शक्तिलाई सखाप पार्ने बहस हो । वैकल्पिक राजनीतिक शक्ति भनेको मिहिनेतविना भर्याङ लगाएर एकाएक आकाशमा पुग्ने कोरा कल्पना होइन । यो धेरै मिहिनेत र परिश्रमसँग जोडिएको राजनीतिक भविष्य हो । हिंसाविनाको कठोर लडाइँ हो । यसमा मिहिनेत र दुःखको धेरै ठूलो खाँचो छ । तर यसलाई सरल तरिकाले बुझ्ने र व्याख्या गरिँदै छन् ।

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिको आम महत्व र नितान्त नयाँ राजनीतिक शक्तिबीचको अन्तर ठूलो छ । सामान्य हिसाबले एउटै रूपमा देखिए पनि त्यसको सैद्धान्तिक र वैचारिक ओज र गरिमा आफैमा फरक छन् । यसलाई सामान्य रूपमा अर्थाउनु हुँदैन् । चुनावी परिणाम नै ठूलो विषय होइन् । चुनाव त मुलुकमा सात सालदेखि हुँदै आएका छन् ।

आज सतहमा देखिएका र बहुमत पाएका राजनीतिक शक्तिहरू हिजो पनि बहुमतमै थिए । तर तिनीहरूले गर्ने राजनीतिक कार्य र व्यवहारमा अन्तर छन् । आज राज्य सताको सतहमा देखिएका राजनीतिक दलको नियत नै विगतदेखि जनहित विरोधि छन् । उनीहरूकै कारण आज मुलुकको राजनीति बदाम भएको छ । अहिले पनि बहुमत पाएर राज्यसताको नेतृत्व आफ्नो कब्जामा राख्न चाहन्छन् । शक्तिको सही विन्यास र जनतामा समानजनक हकअधिकार दिने पक्षमा देखिँदैन् । जनताले प्राप्त गरेका लोकतन्त्रक अधिकार पनि यो वा त्यो बाहानामा अपदस्त गर्ने राजनीतिक गेमप्लानमा हुँदैछन् ।

इतिहसमा नयाँ राजनीतिक शक्ति पुरानामा विलय हुने र नयाँको सुरूवात हुने परम्परानै छ । तर, त्यसलाई टिकाउने र संस्थागत गर्नुभन्दा कार्ड देखाएर प्रयोग गर्ने साधनको रूपमा प्रयोग गरिरहेका छन् । यसले यथास्थितिवादी राजनीतिक शक्ति सबैतिर वाहीवाही हुने चरित्रको विकास भएको छ । यो परिवर्तनशील राजनीतिक चरित्र होइन् ।

एकल जातीय अधिनायकत्व राजनीतिक चरित्रको प्रदर्शन हो । यसले देश र  जनताको हित हित गर्दैन् । त्यसैले नयाँ वैकल्पिक राजनीतिक शक्ति नयाँ र पुरानाको नाममा विलय हुने होइन् । बरू नयाँ नयाँबीचको एकता, सहकार्य र ध्रुवीकरणको खाँचो छ । यसमा पुराना वा थप प्रगतिशील लोकतान्त्रिक शक्तिको पनि खाँचोको जरूरी छ । निर्वाचनमा नयाँ शक्तिले पाउँने मत सङ्गाठनिक मत हो । सतहमा अरू नयाँ दलले पाएको मत सङ्गठनविनाको मत हो । सङ्गाठनिक मत र बिना सङ्गाठनिक मतमा ठूलो अन्तर छ । यसलाई सम्मान मूल्याङ्कनका रूपमा लिनु हुँदैन । विस्तृत रूपमा लिने र बुझ्ने गर्नुपर्छ ।

नेता कार्यकर्ताको तर्क
निर्वाचनपछि नेता कार्यकर्तामा फरक प्रभाव परेको छ । यसलाई व्यवस्थित र सङ्गठित गर्नुपर्छ । सबैको आआफ्नै निर्वाचन मूल्याङ्कन छन् । त्यसलाई एकरूपतामा ढाल्नुपर्छ । सप्तरी नयाँ शक्ति पार्टी निर्वाचन क्षेत्र न.१ को प्रतिनिधि सभाका उम्मेदवार कृष्णकुमार गुप्ता र प्रदेशसभा सदस्य उम्मेदवार अशोक चौधरी र राजीव पैकडाका त्यस्तै ४ नं. क्षेत्रका शिवदर्शन पासवानका अनुसार नयाँ शक्ति पार्टी जन्मेको एक वर्षमा नसोचेको प्रगति गर्यो ।

मुलुकका सबै राजनीतिक शक्तिको इतिहासलाई एक ठाउँमा र नयाँ शक्तिलाई एक ठाउँमा राखेर मूल्याङ्कन गर्नुपर्छ । अनि नयाँ शक्ति पार्टी वैकल्पिक राजनीतिक उन्मुख शक्ति हो कि होइन मूल्याङ्कन गर्नुपर्छ । यसलाई अरू पार्टीमा विलय गराउने होइन, बरू सबै वैकल्पिक राजनीतिक शक्तिलाई नयाँ शक्तिमा ल्याउने र इतिहासको आवश्यक्तालाई पूरा गर्ने साँचिकै वैकल्पिक राजनीतिक शक्तिका रूपमा मुलुकको बागडोर हातमा लिनुपर्छ । मुलुक समृद्धिको सपना सकार पार्नु पर्छ भन्दै सामूहिक तर्क गर्छन् ।

त्यस्तै नयाँ शक्तिबाट सिरहा निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा सदस्यका उम्मेदवार कमलप्रसाद यादव  र क्षेत्र नं. ४ प्रदेशसभाका उमेदवार प्रभात महतोका अनुसार नयाँ शक्ति पार्टी वैकल्पिक राजनीतिक शक्ति बनिसकेको छैन, बन्ने प्रकृयामा छ । चुनावमा हामी पराजित भए पनि नयाँ शक्ति पार्टी पराजित भएको छैन । झन् संसारभरी छोटो समयावधिमा फैलिएका छन् । त्यसैले नयाँ शक्तिको अरूमा विलय होइन, अबको पाँच वर्षमा अरू राजनीतिक शक्ति विलय हुनेगरी वैकल्पिक राजनीतिक शक्ति रूपमा आउने आशा व्यक्त गरे ।

बाह्य प्रभाव
विपक्षीहरूले डा. बाबुराम भट्टराईलाई लक्षित गरी नयाँ शक्तिलाई सखाप पार्ने भ्रम चौतर्फी छरेका छन् । चुनावैपिच्छे फरक फरक चुनावचिन्ह प्रयोगको भ्रम र विगतको राजनीतिक अभियानसँग जोडोर पुरानै प्रकृतिका राजनीतिक व्याख्या गरेर वैकल्पिक राजनीतिक शक्तिलाई सखाप पार्ने अभियानमा लागेका छन् । त्यसको सकारात्मक र नाकारात्मक प्रभाव जनतामा परेका छन्  । जसलाई चिरफार गरेर अगाडि बढ्न चुनौती थपिदिएका छन् । 

यी तमाम खाले बहसलाई हेर्दा नयाँ शक्ति कतै विलय होइन, बरू देशको भलो चिताउने राजनीतिक शक्तिको आगमन नयाँ शक्तिमा हुनुपर्छ । अबको निर्वाचनमा नयाँ स्वरुपबाट वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाउने आसा गरेका छन् । यसका लागि सबै नयाँ र लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभेर मुलुकको समाजवाद उन्मुख लोकतन्त्रलाई हरेक हिंसाबले समृद्ध बनाउनुपर्छ भन्ने सामूहिक अपेक्षा आम जनता राजनीतिक कार्यकर्तामा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश विद्रोही
राजेश विद्रोही
लेखकबाट थप