शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री र पार्टी अध्यक्ष को बन्ने भन्ने सहमति भइसक्योः नेता महासेठ

आइतबार, ०७ माघ २०७४, १७ : ३१
आइतबार, ०७ माघ २०७४

काठमाडौँ । नेकपा एमालेका नेता रघुवीर महासेठले माओवादी र एमालेबिचको एकता नजिक पुगेको बताएका छन् । महासेठले एकताका लागि कुनै विवाद नभएको भन्दै सरकार बनाउनुअघि नै एकता गरिने दाबी गरे । 

एकतापछि प्रधानमन्त्री र पार्टी अध्यक्ष को बन्ने ? भन्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भइसकेको खुलासा गरे । योग्यताअनुसार कार्यविभाजन गरेर पार्टी एकता गरिने महासेठको भनाई थियो । उनले जनताको बहुदलीय जनवादलाई नै मुख्य आधार मानेर पार्टी एकता हुने भएकोले त्यसलाई छाडेर एकता हुनै नसक्ने स्पष्ट पारे । 

पूर्वमन्त्री समेत रहेका नेता महासेठले कांग्रेसले जनमत गुमाइसकेपछि पनि सत्ता छाड्न नसकेको आरोप लगाए । संविधानमा भएका त्रुटीलाई प्रयोग गरेर सरकार र निर्वाचन आयोगले गलत काम गरेको उनको आरोप थियो । 

उनले सरकारले अयोग्य र विवादित व्यक्तिलाई प्रदेश प्रमुखमा नियुक्ति गरेको आरोप लगाउँदै नयाँ सरकारले त्यसलाई निरन्तरता नदिने बताए । “विवादित र पार्टीको मान्छेलाई प्रदेश प्रमुख बनाइएको छ । हामी मान्दैनौँ । देशका लागि अहित हुने र कानुन विपरितका सबै निर्णय खारेज हुन्छ,” उनले भने । 

त्यस्तै, नेकपा माओवादीका केन्द्रका नेता शक्तिबहादुर बस्नेतले पार्टी एकता प्रक्रिया अगाडि बढिरहेको बताउँदै दुवै पार्टीको वैचारिक पक्षका सकारात्मक कुरालाई समेटेर नयाँ पार्टी बनाइने बताए । 
पार्टी एकता गरेर नयाँ सरकार गठनको प्रक्रियामा जाने उनको भनाई थियो । 

पार्टी एकता संयोजन समितिले सम्मानजनक तरिकाले कार्यविभाजन गरेर एकता प्रक्रिया टुङ्ग्याउने बस्नेतको भनाई छ । एमालेको शान्तिपूर्ण कम्युनिष्ट धार र माओवादीको सशस्त्र कम्युनिष्ट आन्दोलनका भावनालाई समेटेर एकता गर्ने बस्नेतको जिकिर थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप