मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एकता संयोजन समितिको बैठक : मुख्यमन्त्री र सभामुखको जिम्मा कार्यदललाई नै

आइतबार, ०७ माघ २०७४, १८ : २४
आइतबार, ०७ माघ २०७४

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकले राष्ट्रिय सभा निर्वाचनको लागि कार्यदलले प्रस्तुत गरेको सिट बाँडफाँडको प्रस्तावलाई अनुमोदन गरेको छ । 

दुई पार्टीका शीर्ष नेता सम्मिलित कार्यदलले गत माघ ३ गते राष्ट्रियसभाको लागि संख्यासहितको सिट बाँडफाँड गरेको थियो । जसअनुसार राष्ट्रिय सभाको ४३ सिटमध्ये एमालेले २९ जना र माओवादी केन्द्रले १४ जना उम्मेदवार राष्ट्रिय सभामा उठाउने सहमति भएको थियो ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कार्यदलले गरेको निर्णयलाई नै एकता संयोजना समितिको बैठकले अनुमोदन गरेको जानकारी दिए ।

बामदेवको नेतृत्वमा समिति

आजको बैठकले अब बन्ने बाम गठबन्धनको सरकारका लागि विकास र सुशासनको कार्ययोजनाहरु तय गर्न एमाले नेता बामदेव गौतमको नेतृत्वमा एउटा समिति बनाउने पनि निर्णय गरेको छ ।

समितिमा गिरिराजमणि पोखेरल, वर्षमान पुन, भीम रावल, विजय पौडेल, युवराज खतिवडा र मिनबहादुर श्रेष्ठ रहने बताइएको छ ।

त्यस्तै, पार्टी एकताको विषयमा पनि आज छलफल भएको थियो । तर, यसबारे ठोस निर्णय भने हुन सकेन ।

यस विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले थप छलफल गर्ने बताइएको छ । 

‘अध्यक्षद्वयबीच जारी छलफललाई निष्कर्षमा पुर्‍याएर वैचारिक र सांगठानिक कार्यदल बनाउने निर्णय भएको छ,’ माओवादी अध्यक्ष प्रचण्डका प्रेस संयोजक मनहरी तिमिल्सिनाले जानकारी दिए ।

मुख्यमन्त्री र सभामुखको जिम्मा कार्यदललाई

बैठकमा सहभागी एक नेताका अनुसार मुख्यमन्त्री र सभामुखको बाँँडफाँडबारे सहमति गर्न कार्यदललाई जिम्मा दिएको छ । 

बाम गठबन्धनले जित्ने पक्का रहेको सात मध्ये ६ वटा प्रदेशमध्ये ४ वटामा मुख्यमन्त्री एमालेले र २ वटामा माओवादी केन्द्रले लिने गरी लगभग सहमति भइसकेको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप