शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शपथ ग्रहणमा सांसदको मुहार चम्किलो

आइतबार, ०७ माघ २०७४, २१ : २४
आइतबार, ०७ माघ २०७४

–सिद्धराज भट्ट/शेरबहादुर सिंह 

धनगढी- पद तथा गोपनीयताको शपथ लिँदै गर्दा प्रदेशसभाका सांसद कुलवीर चौधरी चम्किलो मुद्रामा देखिनु हुन्थ्यो । 

सङ्घीय संरचनाअनुसार भएको प्रदेशसभाको निर्वाचनमा कञ्चनपुर क्षेत्र नं १ ‘ख’ बाट निर्वाचित चौधरी शपथ ग्रहणसँगै प्रदेशसभा गठनले पूर्णताः पाएको भन्दै खुशी देखिनु भएको हो । “अब देश समृद्धि र विकासको सम्भावना बढेको छ”–चौधरीले भन्नुभयो, “तर यसका लागि स्थायी सरकार गठन जरुरी रहेको छ ।” 

पहिलोपटक आफ्नै प्रदेशको केन्द्रमा प्रादेशिक शासन शुरु भएकामा शपथ ग्रहणस्थल बाहिर उपस्थित सर्वसाधारणले निकै चासोपूर्वक कार्यक्रमको अवलोकन गरेका थिए । “सिंहदरबारको अधिकार गाउँमा आउँदै छ भन्ने सुनिएको थियो”–शपथ ग्रहण समारोहको अवलोकन गर्नुभएका धनगढीका हरि भट्टले भन्नुभयो, “शपथ त गरिएको देखियो, तर सिंहदरबारको अधिकार गाउँमा आएको व्यावहारिक रुपमा पुष्टि हुन बाँकी नै छ ।” 

शपथ लिँदै गर्दा वादी समुदायवाट एक्लो सांसद बन्न सफल उमादेवी वादीको अबीर दलिएको मुहारमा खुशीको सीमा थिएन । “आफन्तले खुशी हुँदै अबीर दले”–सांसद उमा वादीले भन्नुभयो, “आपूmले पछाडि परेको बादी समुदायको हकहितका लागि गरेको कामको पार्टीले मूल्याङ्कन गरेर सांसद चयन गरेको छ ।” 

विगतमा भएको वादी आन्दोलनको नेतृत्व गर्नु भएकी उहाँलाई नेपाली काँग्रेसले समानुपातिक कोटामा सांसद निर्वाचित गरेको हो । “विगतमा वादीको हक हितका लागि लडियो”– उहाँले भन्नुभयो, “सांसदका रुपमा काम गर्दा सबै जनताको हितमा काम गर्ने जिम्मेवारी बढेको छ ।” 

जिल्ला समन्वय समितिको सभा कक्षमा आयोजित शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख मोहनराज मल्लले ज्येष्ठ सदस्य ७४ वर्षीया दिव्येश्वरी शाहलाई पद तथा गोपनीयताको शपथ गराएपछि शाहले अन्य सदस्यलाइ शपथ गराउनु भएको थियो । 

काँग्रेसका तर्फबाट डोटीबाट निर्वाचित प्रदेश सांसद भरत खड्का छोरीको सोमबार हुने विवाहका कारण शपथ ग्रहण सभामा उपस्थित हुन पाउनु भएन । एमालेबाट निर्वाचित समानुपातिक प्रदेश सांसद चुनकुमारी चौधरीले राजधानीबाट आउन ढिलो भएपछि अन्तिममा शपथ लिनुभयो । 

सङ्घीय संरचनाअनुसार भएको निर्वाचनपछि पहिलो प्रदेशसभाका सांसदको शपथ ग्रहणसँगै प्रदेशसभा गठनले पूर्णता पाएको छ । नेपालको राज्य पुनःसंरचनामा प्रदेशसभा गठन पहिलो प्रयोग हो । शपथ ग्रहणसँगै प्रदेशसभाको गठनले पूर्णता पाई यसले गर्ने काम पनि आजदेखि औपचारिक रुपमा शुरु भएको छ । 

प्रदेशसभा गठनको पूर्णतासँगै प्रदेशसभा बैठकद्वारा प्रदेश सभामुख, मुख्यमन्त्री र प्रदेशमन्त्री चयन हुने, विभिन्न विधेयक पारितलगायतका काम अगाडि बढाउन बाटो खुलेको छ । 

प्रदेश प्रमुख मल्लसहित केही सांसद शपथ ग्रहण स्थलमा ढिलो गरी आइपुगेका कारण शपथ ग्रहण पनि ढिलो भएको हो । 

मातृ भाषामा शपथ 

सात नं प्रदेशको मुख्यमन्त्रीको चर्चामा रहेका नेकपा (माओवादी केन्द्र)का नेता वीरमान चौधरीलगायत प्रदेश सभामा प्रतिनिधित्व गर्ने थारु समुदायका सांसदले आफ्नो मातृ भाषामा शपथ लिनुभएको छ । नेपालीमा लेखिएको शपथ पत्रलाई थारु समुदायका केही सांसदले आफ्नो मातृ भाषामा पढेर शपथ लिनु भएको हो । 

प्रदेश सभामा वामको बहुमत 

वाम गठबन्धनको बहुमत रहेको प्रदेश नं ७ को प्रदेशसभाका कुल ५३ सांसदमध्ये नेकपा (एमाले)का तर्फबाट २५, माओवादी केन्द्रका तर्फबाट १४ र काँग्रेसका तर्फबाट १२, राष्ट्रिय जनता पार्टीबाट दुई जना सांसद रहेका छन् । 

यस प्रदेशमा सबैभन्दा बढी एमालको प्रत्यक्षतर्फ १७, समानुपातिबाट आठ सांसद निर्वाचित भएका छन् । यस्तै प्रत्यक्षतर्फ माओवादी केन्द्रको १० र समानुपातिकतर्फ चार, काँग्रेसको प्रत्यक्षतर्फ चार र समानुपातिकतर्फ आठ सांसद निर्वाचित भएका छन् । यसैगरी राष्ट्रिय जनता पार्टीको प्रत्यक्ष र समानुपातिकमा क्रमशः एक÷एक जना निर्वाचित भएका छन् । 

प्रदेश नं ७ का ५३ सदस्यमध्ये ३५ सांसद खस आर्य समुदायका, आठ सांसद थारु समुदायका, छ सांसदको दलित समुदायबाट प्रतिनिधित्व रहेको छ । दलित समुदायबाट प्रत्यक्षमा निर्वाचन जित्ने कञ्चनपुरको निर्वाचन क्षेत्र ३ बाट मानबहादुर सुनार एक्ला सांसद हुनुहुन्छ । 

आसिदवासी जनजातिबाट प्रदेशसभामा जम्मा दुई जना मात्र सांसद रहेका छन् । एमालेका गेल्वुसिंह बोहरा दार्चुला र तारालामा तामाङ कञ्चनपुरबाट निर्वाचित हुनुहुन्छ । 

प्रदेशसभामा महिलाको सांसदको संख्या १८ भए पनि प्रदेशसभाको प्रत्यक्ष तर्फबाट भने एक जनाले मात्र निर्वाचनमा जित हासिल गर्नु भएको छ । बझाङबाट माओवादी केन्द्रका तर्फबाट निर्वाचित देवकी मल्ल थापा प्रदेश सभामा एक मात्र प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । 

प्रदेश प्रमुखको पद बहाली 

प्रदेश प्रमुख मोहनराज मल्लले आइतबार प्रदेश कार्यालयमा पुगेर पदभार ग्रहण गर्नु भएको छ । धनगढीमा रहेको घरेलु तथा साना उद्योग कार्यालयमा प्रदेश प्रमुख कार्यालयको व्यवस्थापन गरिएको छ । पदभार ग्रहण गर्नुअघि प्रदेश प्रमुख मल्लको सम्मानमा नेपाली सेनाको टोलीले सम्मान दिएको थियो । 

पदवहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेश प्रमुख मल्लले आफू संविधानले दिएको अधिकारभित्र रही काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जीवनको उत्तरार्धमा राज्यले दिएको दायित्व आफूले इमान्दारीपूर्वक निर्वाह गर्ने उहाँले बताउनुभयो । 

अपार सम्भावनाको प्रदेश 

सेती र महाकाली अञ्चलका नौ वटा जिल्ला रहेको ७ नं प्रदेशको क्षेत्रफल १९ हजार ५३९ वर्ग किमी रहेको छ । यो नेपालको क्षेत्रफलको करिब १३ प्रतिशत हो । 

पछिल्लो जनगणनाअनुसार २५ लाख ५२ हजार ७१४ जनसंख्या रहेको यो प्रदेशमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, पश्चिम सेती उच्च सम्भावना बोकेका विकास आयोजना हुन् । अपि, साइपाल, खप्तडजस्ता हिमाली क्षेत्र, मध्य पहाडको महाभारत पर्वत शृङ्खलामा रहेका दुर्लभ जडीबुटी, वन पैदावार पनि विकासका सम्भावना हुन् । 

धनगढी, भीमदत्तनगर (महेन्द्रनगर) दीपालय, डडेलधुरा, टीकापुर, साँफेबगर, अत्तरिया, लम्की, बेलौरी यस क्षेत्रका मुख्य व्यापारिक केन्द्र हुन् । धान, गहुँ, जौ, मकै र तेलहन बाली मुख्य रुपमा उत्पादन हुने यो क्षेत्रमा बाहुन, क्षेत्री, ठकुरी, थारु र दलितलगायत विभिन्न जातजातिको बाहुल्यता रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप