शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बैंककबाट फर्केलगत्तै ओलीलाई मोदीको फोन आउनुको अर्थ के हुन सक्छ ?

सोमबार, ०८ माघ २०७४, ११ : ३८
सोमबार, ०८ माघ २०७४

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आइतवार अपराह्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरे ।

ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार अध्यक्ष ओली र प्रधानमन्त्री मोदीको फोन वार्तामा अंग्रेजी नयाँ वर्ष २०१८ को शुभकामना आदानप्रदान भएको थियो ।
 
प्रधानमन्त्री मोदीले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिएका छन् ।

मोदीले अध्यक्ष ओलीले प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गरेपछि आफू भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताए । अर्थात् मोदीले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा स्वीकार गरिसके ।

उता, अध्यक्ष ओलीले प्रधानमन्त्री मोदीको प्रस्ताव स्वीकार्दै उनलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिए ।

अध्यक्ष ओलीले मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आग्रह गरेका थिए ।

प्रधानमन्त्री मोदीले यसअघिको नेपाल भ्रमणमा यी तीर्थस्थल भ्रमणको इच्छा व्यक्त गरेका थिए ।

कुनै उल्लेखनीय राजनीतिक घटनाक्रम विकसित नभई आइतवार भारतीय प्रधानमन्त्री मोदीले जसरी एमाले अध्यक्ष ओलीलाई फोन गरे । यसले कुटनीतिकवृतमा केही प्रश्न उब्जाएको छ ।


 
केही श्रृखला हेरौँ, एमाले अध्यक्ष ओली विहिवार अर्थात माघ ४ गते बैंककबाट फर्केका थिए । उनी उपचारका लागि बैंकक गएका थिए । उपचार सकिएपछि पनि केही दिन ओली बैंकक बसेका थिए ।
ओलीले बैंकक बसाई लम्बिएपछि राजनीतिकवृतमा केही टिप्पणी भए र त्यसमा पनि मुख्य थियो ओलीले केही महत्वपूर्ण राजनीतिक भेट गरेको ।
 
आफ्नो बैंकक बसाई लामो पारेर ओलीले चिनियाँ र भारतीय दुवै पक्षसँग राजनीतिक भेट गरेको दाबीहरु पनि बाहिर आएका थिए । तर, यसको स्वतन्त्र पुष्टी हुन भने सकेको छैन । 
तर, ओली बैंककबाट फेर्कको तेस्रो दिन मोदीको फोन आउनु संयोग मात्रै हो त ? चासो देखिएको छ ।

कतिपय राजनीतिक स्रोतहरु भन्छन्, ‘आफ्नो विशेष दूतले वैंकक भेटको बिफ्रिङ सुनाएपछि मोदीले ओलीलाई फोन गरेका हुन् ।’
 
मोदी तिनै नेता हुन्, जसले प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको १५ दिनपछि औपचारिक रूपमा स्वागत गर्दै शीर्ष नेताहरूलाई बधाई दिएका थिए ।
 
मोदीले पुस ६ मा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बेग्लाबेग्लै टेलिफोन गरी बधाई दिएका थिए ।
 
मोदीले ओलीसँग ‘भावी प्रधानमन्त्री’का रूपमा कुराकानी गर्दै प्रधानमन्त्री भएपछि भारत भ्रमण गर्न निमन्त्रणासमेत दिएका थिए ।


 
त्यसबेला पनि मोदीले आफ्ना दूतमार्फत ब्रिफिङ सुनेपछि नेपालका नेताहरुलाई फोन गरेर बधाई दिएका थिए ।
 
नेपालका लागि भारतीय राजदूत पुरी पुस ४ गते दिल्ली गएका थिए । त्यसको अर्को दिन उनले त्यहाँ उनले नेपालमा आफूले गरेका उच्च राजनीतिक भेट, चुनावी नतिजा, भावी सरकारको स्वरुप, चिनियाँ चासो र लोकतान्त्रिक गठबन्धनको शक्तिबारे भारतीय भारतीय प्रधानमन्त्री मोदीलाई विफ्रिङ गरेका थिए ।
 
राजदूत पुरीको ब्रिफिङको अर्कोदिन मोदीले प्रधानमन्त्री देउवा, एमाले ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बेग्लाबेग्लै टेलिफोन गरी बधाई दिएका थिए ।
 
भारतजानु अगाडि पुरीले पुस ३ गते प्रचण्डसँग भेट र मंसिर २८ गते एमाले अध्यक्ष ओलीसँग भेट गरेका थिए । त्यसबीचमा उनले प्रधानमन्त्री देउवासँग पनि कुराकानी गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप