शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जाडोले होइन गरीबीले मान्छे मर्छन् यहाँ

सोमबार, ०८ माघ २०७४, १५ : ५४
सोमबार, ०८ माघ २०७४

माघ लागेको छ । सामान्य घर । घुजुमुजु छन् । बाक्लो बस्ती छ । सामान्य पहिरन । सडकमै परालको आगो तापेर बसेका भेटीन्छन् मान्छेहरु । यी बस्तीमा पुग्दा लाग्छ मान्छे अहिलेपनि २१ औ शताब्दीमा होइन । भरखर खेति गर्ने युगमा प्रवेश गदै छन् । चरचरी फुटेका पैतला । शरीरिमा कपडा छ त र त्यो मौसम अनुसार होइन लगाउनै पर्ने भएर लगाइका छन् । 

यहि दृष्य हो. केहि दिन पहिला देखेको पर्सिको पकहामैनपुर गाउँपालिकाको वडा नं ४ र ५ को । विरगन्ज शहरबाट यो गाउँ पालिका करिब करिब ३०–३५ किमि टाढा छ । 

मौसम जाडो र शितलहरको हो । तराइमा शितलहर चलिरहेको छ । यो हरेक हिँउदमा हुन्छ । तराईमा चल्ने शितलहर र जाडोकोका कारण हरेक बर्ष धेरैले ज्यान गुमाउछन् । 

यो बर्ष माघको शुरुको दिनमा पर्साको पकाहमैनपुर गाउँ पालिकाको वडा नं ४ र ५ मा पुग्दा कसको मन दुख्दैन होला । शितलहरले छोपिएको पकाहमैनपुर देख्न भौगोलिकरुपमा जति सुन्दर थियो त्यसको कयौ गुणा अभाव गरीबी र चेतनाले पिल्सीएको थियो । 

यो ठाउँ पुग्दा एउटा जाडोले मात्र होइन कयौ चिजले पिल्सीएका देखिन्छन । उनीहरुसंग छ त केबल नेपाली भएको प्रमाणपत्रको रुपमा नेपाली नागरिकता । राज्यबाट पाउने  सेवा सुविधामा हेल्थपोस्ट,प्रावि स्कुल र नागरिकता । राजधानीबाट करिब ८ घण्टाको दूरीमा रहेको पकहामैनपुर गाउँपालिका भारतसंग सिमाना जोडिएको छ । 

यहि भएर होला यहि छ एउटा सिमा सुरक्षा बल शसस्त्रको क्याम्प । यहि क्याम्पका इन्र्चाज लेप्साङ तामाङले राजधानीबाट हामिलाई बोलाएका थिए । अथवा जाडोले आक्रान्त त्यहाँ बासीन्दा लाई अलिकति भएपनि राहत होस भनेर कपडा लिएर आउन सुझाएका थिए । उनको सल्लाह र सुझावमा पुगीयो पर्साको पकाहमैनपुर । 

औद्योगिक र व्यापारी शहर विरगन्जबाट करिब ३० किमी टाढा पर्छ यो गाउँ । यहाँ खेति पाति हुन्छ । तर यहाँका मुसहर,चमार,दुसाध,मुस्लिम,यादव,कुर्मि,तेली चौहान र विनसंग आफु बस्दै आएको  फुसको झुप्रो बाहेक जमिन छैन । 

उनीहरुको जिवन नै अर्काको खेतबारी र घरमा बित्छ । अर्काको काम गरेर जिवन धान्ने यी जातिहरुका मान्छेहरुसंग जिवनमा धेरै ठूला सपना छैनन । अहिलेलाई उनीहरुका सपना भनेकै घामपानी र जाडोमा जिवन बचाउने । भोकलागेको समयमा पेटभरी खान पाउने । तर उनीहरुका यी सपनापनि यो जुनीमा पूरा होलान जस्तो छैन । 

राजधानीमा र राजनीतिक दलहरुका घोषणापत्रमा पूजीवाद आएकाले अब समाजवादमा जाने घोषणा पत्रका पानामा यीनी मुसहर,चमार,दुसाद जस्ता गरीब नेपालीको अनुहार भेटीदैन । नत राजनीतिक दलहरुका प्रतिबद्धता पत्र र शहरमा हुने समृद्धिका बहसहरुले यीनका बारेमा कहिले बहस गर्लान ? सोच्न बाध्य बनाउछ । 

यी बस्तीहरुको साथि भनेको नै अभाव गरीबी र त्यहि गरीबीबाट पाइन पिडा हो । राज्य त यी गरीब बस्तीमा कहिले पुग्छ न राज्यलाई नै थाह छ न त बर्षौ देखि दुख पिडामा जिवन बाच्न बाध्य यी बस्तीका बासीन्दालाई नै । 

भरखर चुनाव सकिएको छ । राजधानीमा राजनीतिक दलहरु सरकार बनाएर समृद्धि ल्याउने बहसमा छन् । सरकारलाई प्रदेशका राजधानी तोक्ने,प्रदेश प्रमुख तोक्दैमा ठिक्क छ । तर मधेशमा भने मान्छेहरु गरीबीका कारण ज्यान गुमाउन विबश छ । 

संसारमा कमै अभागी होलान गरीबीले ज्यान गुमाउन बाध्य नागरिक । तर यहाँ जाडोले होइनन गरीबीले ज्यान गुमाउन बाध्य छनु । यीनीहरुसंग सम्पति हुदो हो त न्यानो गरी बस्थे । किन रातभरी अर्कालाई मागेर पराल बालेर ताप्नु पदैन थियो होला । 

यहाँका बुढा पाका र केटाकेटी विहानै सडक छेउमा आगो तापेर बस्छन् । सबैको घर घरमा बाल्न पराल नुहदा सामुहिक रुपमा आगो ताप्छन् । विहान घरमा पढेर बस्नु पर्ने बालबालिका सडकका परालको आगो तापेर शित लहरसंग जुध्न बिबस छन् । 

वडा नं ४ कि वडा सदस्य रमावती शाह तेली भन्छिन‘यहाँको समस्या जाडो होइन गरीबी हो । गरीबी भएपछि जाडो, विमारी सबैले मान्छे मर्छ नै । त्यहि भएर यहाँ सकेसम्म आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउनु पर्छ ।’

वडा नं ४ मा रहेको शसस्त्र सिमासुरक्षा बल का इन्पेक्टर लोप्साङ तामाङको विचारपनि जाडो भन्दा गरीबीको कारण मान्छेको मृत्यु भएको भन्ने छ । तामाङ भनछन्‘२१औ शताब्दीमा मान्छे चन्द्रमा र मंगल ग्रहको यात्राको कल्पना गरीरहेका छन् तर हाम्रो गाउँ समाजमा जाडो र शितलहरले ज्यान गुमाएको हेर्न विवश छौ । अब सबै मिलेर गरीबीसंग लड्ने समय आएको छ ।’

हो मधेशमा पुग्दा साच्चै अनुभूत हुन्छ कि के यहाँका नागरिक सके यो राज्यलाई कर तिर्ने र चुनावमा भोट हाल्न मात्र जन्मेका हुन । हिउँदका दिन रात यीनीहरुकालागि कुनै संकटकालको समयभन्दा कम कठिन र पिडादायी छैनन । 

पकाहामैनपुर ४ कि सोभादेवी पटेलसग एक टुक्रा जमिन छैन । उनको दिन होइन जिवन नै अर्काको काम गरेर बितेको छ । उनको उमेर अर्काको खेतबारीमा काम गरे बित्यो । अब उनका सन्तानको बित्दै छ । उनेको सपना यो देशमा समाजवाद कस्तो हुन्छ भनेर छैन । नत कुन पार्टीको सरकार बन्छ भन्ने छैन । छत कुन सरकारले अब उनको जिवन त अर्काको खेतबारीमा बित्यो उनका सन्तानहरुले आफ्नै बारीमा काम गरेर खानपाउने दिन फकाउने सरकार आओस । उनले हरेक हिउदमा जाडोमा ज्यान गुमाउनु नपरोस र बर्खामा आएको बाडीले भएको भुसको छाप्रो नबगाओस भन्ने सपना देख्छन् । 

यस्तो सपना देख्ने यो गाउँमा उनी जस्ता धेरै घरपरिवार छन् । 

वडा नं ५मा त जाडोको कारण ५ जनाले ज्यान गुमाएका छन् । यो जाडोमा यहाँका जलिल मियाँ,बाबुनन्द शाह तेली,विपि माझि,फजदीन मियाँ दर्जी र नन्दालाल यादवले जाडोका कारण ज्यान गुमाएका हुन । 

यहाँका वडा अध्यक्ष ढेडी प्रसाद यादव भन्छन्‘यहाँका मान्छेहरुमा अशिक्षा र गरीबी धेरै छ । अधिकांश दलितहरुसंग जमिन छैन । त्यसकारण उनको जिवन नै एक छाक खान कसरी जुटाउनेमा जान्छ । यसमा लगाउनको समस्या हुन्छ ।’

सात पुस्ता भन्दा बढी सयम देखि बस्दै आएका बन्सी माझी भन्छन् ‘जमिनको नाममा एक टुक्रा छैन । अर्काको जमिन कमाएर खान्छौ । कसरी न्यानो कपडाको जोहो गर्नु । पराल तापेर बस्छौ ।’

५ नं वडाका सुरेश चमारको दुःख र पिडा पनि त्यस्तै छ । ६ छोराछोरी भएका चमार पनि दिनभरी अर्काको खेतबारीमा काम गरे पाँच किलो धान ल्याएर जिवीका चलाउछन् । गाउँ घरमा काम नपाए उनको यात्रा हुन्छ विरगन्ज जहाँ मजदुरी गरेर दिनको छाक टार्न पाउछन् ।   

सलमबानु खातुनको पिडा पनि त्यस्तै छ । उनका पनि चार जना छोराछोरी छन् । तर नकमाउन जमिन छ । भने जस्तो मजदुरी नै पाउछौ । साहुमहाजनकोमा काम गरे दिनभरी काम गरेर ५ किलो धान हो  पाउने ।

हिउँदमा त झन मजदुरी पनि पाउन गाह्रो छ । 

शिक्षाको अवस्थापनि कमजोर छ
यहाँ रहेको श्री नेरा प्रावि करिब तीन चार बर्षबाट घटुवा भएको छ । पहिलो यो स्कुल कक्षा ८ सम्म थियो तर अहिले आएर कक्षा ५ सम्म मात्र पढाउने भएको छ । करीब आधा किमि मा रहेको स्कुलको घटुवा भएपछि यहाँका विद्यार्थीहरु पढ्न टाढा जान बाध्यरहेको स्थानीय हरिन्द्र शाह तेलीले बताए । उनले भने‘हाम्रा छोराछोरीहरुले पढ्नकोलागि टाढा जानु पर्छ । अरु ठाउँमा मावि उच्चमावि हुदा हाम्रो स्कुल प्राविमा झरेको छ । उच्च शिक्षाकोलागि त विरगन्ज जानु नै पथ्र्यो एसएलसी पास गर्नपनि टढा जानु पर्छ ।’

स्वास्थ्य सेवा पनि त्यति राम्रो छैन 

स्वास्थ्य सेवा पनि त्यति राम्रो छैन । गाउँमा हुने सामान्य हेल्थपोस्ट नै छन् । यहाँका बासीन्दाहरु स्वास्थ्य सेवाकोलागि भारत जान्छन् । कि विरगन्ज नै । जहाँ गएपनि टाढा नै पर्छ ।

यो गाउँपालिका भारतीय सिमासंग जोडिएको भएपनि नत गतिलो बजार नै छ नत गतिलो शिक्षा नै । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप