बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘पटके’ लागुऔषध कारोबारीः जेलबाट छुटेको तीन महिनापछि फेरि पक्राउ !

सोमबार, ०८ माघ २०७४, १७ : ५१
सोमबार, ०८ माघ २०७४

काठमाडौं– काभे्रको चण्डेनी स्थायी घर भएका सन्तोष कुँवरको अस्थायी बासस्थान बानेश्वरको सुकुम्बासी बस्तीमा रहेको छ । आजभन्दा एक बर्षअघि लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा महानगरीय प्रहरी वृत्त बानेश्वरले उनलाई नियन्त्रणमा लिएर मुद्धा चलाएको थियो ।

जिल्ला अदालत काठमाडौंले उनलाई लागु औषध कारोबारी भएको पुष्टि गर्दै ९ महिना जेल सजायको फैसला सुनायो । लागु औषधको ब्यापारमा संलग्न कुँवर आफैं प्रयोगकर्ता समेत भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

अदालतको फैसला बमोजिम ९ महिना जेल बसेर करिब ३ महिनाअघि मात्रै छुटेका कुँवरलाई शनिबार पुन बानेश्वर वृत्तले पक्राउ गरेको छ । लागु औषधको पटके कारोबारी कुँवरसहित अन्य दुईजना राकेश श्रेष्ठ र समिर भुजेललाई पनि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी रवि पौडेलले जानकारी दिएका छन् ।

प्रहरीले कुँवरका साथबाट ६६ एम्पुलका दरले क्रमशः नुर्फिन, डाईजेल्याव र फेनारगन बरामद गरेको छ । कुँवरकै सुचनाको आधारमा बानेश्वर प्रहरीले धरान स्थायी घर भएर बुढानिलकण्ठ बस्दै आएका राकेश श्रेष्ठ र समिर भुजेललाई नियन्त्रणमा लिएको हो । बुढानिलकण्ठस्थित श्रेष्ठ र भुजेलको कोठाबाट १०८ एम्पुल डाईजेल्याव, ८६ एम्पुल लुप्रिजेसिक र १०१ एम्पुल फेनारगन बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट ५० हजार नगद, २ थान ल्यापटप र ७ थान मोबाईल बरामद गरेको छ । उनीहरुमाथि लागुऔषध कारोबार मुद्धामा जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी पौडेलले बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप