शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वाम गठबन्धनतिर ढल्किदै मधेशवादी दल

सोमबार, ०८ माघ २०७४, १८ : २५
सोमबार, ०८ माघ २०७४

काठमाडौँ । राष्ट्रिय सभाको चुनावमा लोकतान्त्रिक गठबन्धनसँग तालेमल गर्ने कि वाम गठबन्धनसँग, त्यस विषयमा राष्ट्रिय जनता पार्टी नेपाल आन्यौलनमा देखिएको छ ।
हिजो राजपा नेपालको राजनीतिक समितिको वैठकमा यिनै विषयमा बहस चलेको थियो । बहसको शुरुवात राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले गरेका थिए । उनले वाम गठबन्धनसँग तालमेल गरेर जाँदा फाइदा हुने धारणा बैठकमा राखेका थिए । 

महतोको तर्क थियो – काँग्रेसले पाँच सीट दिन मानिरहेको छैन । तर वाम गठबन्धनसँग संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालले तालमेल गर्दा दुई नम्बर प्रदेशमा आठवटा सीट जित्ने देखिएको छ ।
राजपा नेपाल र फोरम नेपालले लोकतान्त्रिक गठबन्धनसँग चुनावी तालमेलका लागि कुरा गरिरहँदा राजेन्द्र महतोको तर्फबाट यस्तो धारणा आएपछि अन्य नेताहरु आश्चर्यमा परेका थिए । 

अध्यक्ष मण्डलका सदस्य महतोले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वाम गठबन्धनसँग कुरा गरिरहेको सन्दर्भ उल्लेख गर्दै वाम गठबन्धनसँग तालमेल गर्दा फाइदा हुन्छ भने त्यसो गर्न आपत्ति मान्न नहुने धारणा राखेको बैठकमा सहभागि एक नेताले रातोपाटीलाई बताए ।

उनको कुरालाई पार्टीका अध्यक्ष लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए । महतो पक्षका लालले मधेशवादी दललाई वाम गठबन्धनसँग तालमेल गर्दा फाइदा हुन्छ भने त्यही गर्नुपर्ने धारणा राखेका थिए । ‘काँग्रेस र एमालेमा कुनै तात्विक फरक छैन, मधेशका लागी दुवै दल समान हो । त्यसैले बाम गठबन्धनसँग तालमेल गर्दा मधेशवादी दलले बढी सीट पाउँछ भने तालमेल गर्दा राम्रो हुन्छ,’ उनको भनाई उद्धृत गर्दै बैठकमा सहभागी नेताले बताए ।

पार्टीका अर्का उपाध्यक्ष गोविन्द चौधरीले पनि पार्टीलाई जोसँग फाइदा हुन्छ, उसैसँग तालमेल गर्नुपर्ने सुझाव दिएका थिए । 

तर, अर्का उपाध्यक्ष वृषेसचन्द्र लालले एक दुई सीटका लागी लोकतान्त्रिक गठबन्धन तोड्न नहुने धारणा राखेका थिए । उनले राष्ट्रिय सभा चुनावमा मात्र सहकार्य गरेर नहुने बताउँदै त्यसको दीर्घकालिन असर पनि हेर्नुपर्ने धारणा राखेका थिए ।

‘वाम गठबन्धनमा रहेको एमाले पार्टी संविधान संशोधनप्रति सकारात्मक छैन । मधेशी जनताले त्यो दलको विरुद्धमा मधेशवादी दललाई मत दिएर पठाएको छ । आज त्यही दलसँग तालमेल गरेर चुनाव लड्दा गलत सन्देश जान्छ,’ उनको जिकिर थियो । 

बैठकमा कुरा बाझिएपछि यसको टुङ्गो लगाउने जिम्मेवारी अध्यक्ष मण्डललाई दिइएको छ । 

अध्यक्ष मण्डलका अर्का सदस्य शरतसिंह भण्डारीले भने कुन दलसँग तालमेल गर्ने त्यो विषयको टुगों नलागेको बताए । ‘दुवै पक्षसँग कुराकानी भइरहेको छ,’ उनले भने, ‘काँग्रेस र वाम गठबन्धनसँग छलफल भइरहेको छ, सीटको विषयमा कसैसँग सहमति बनेको छैन ।’

कुनै दलसँग तालमेल गर्दा दीर्घकालिन प्रभावलाई ख्याल गरेर तालमेल गर्नुपर्ने उनले बताए । उनले भने, मधेशका लागी मुख्य मुद्दा सविधान संशोधन हो, जो सविधान संशोधनका लागी तयार हुन्छ त्यो दलसँग तालमेल हुन्छ ।’

यता केशव झाले भने राष्ट्रिय सभा निर्वाचनमा काँग्रेस र संघीय समाजवादी फोरम, नेपालसँग तालमेल गरेर जाने गरी छलफल अघि बढाइएको बताए । राष्ट्रिय सभा निर्वाचनको तालमेलका लागि दुई दलसँग वार्ता गरेर सिट बाँडफाँडको टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष मण्डललाई नै दिइएको पनि नेता झाले बताए ।

माघ ६ गते राजपा नेपाल र फोरम नेपालले काँग्रेससँग छलफल गरेको थियो । छलफलमा काँग्रेससँग यी दुई दलले पाँच सीट माग गरेको छ । तर, काँग्रेस त्यसमा तयार देखिएको छैन । 

फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने, ‘राजपा नेपाल र फोरम नेपालबीच मात्र तालमेल भयो भने चार सीट आउँछ । काँग्रेससँग तालमेल गर्दा छ सीट आउँछ जसमध्ये हामीले पाँच सीट माग गरेका छौँ । पाँच सीट दिएन भने काँग्रेससँग तालमेल गरेको अर्थ नै रहँदैन, हामीसँग त्यतिकै चार सीट छदैछ ।’

राजपा नेपाल र फोरम नेपालले वाम गठबन्धनसँग तालमेल गर्दा दुई नम्बर प्रदेशमा राष्ट्रिय सभामा आठवटा सीट जित्ने सम्भावना रहन्छ । त्यसमध्ये फोरम नेपाल र राजपा नेपालले छवटा सीट माग गरेको छ । यसमा वाम गठबन्धन सकारात्मक रहेको बताइए पनि हालसम्म सहमति बन्न सकेको छैन ।

वाम गठबन्धनले दुई नम्बर प्रदेशको सरकारमा हिस्सेदारी खोजेको छ । राजपा नेपाल र फोरम नेपालले संयुक्त सरकार बनाउने तयारी गरिरहेको बेला वाम गठबन्धनले त्यसमा सहभागिता खोजेको स्रोतले जनाएको छ । राष्ट्रिय सभा चुनावका लागि तालमेल भए मधेशवादी दललाई एक दुई सीट बढी दिएर भएपनि चुनावमा सँगै जाने तर त्यसको साटो प्रदेश सरकारमा सहभागि हुने वाम गठबन्धनको तयारी रहेको बुझिएको छ ।

वाम गठबन्धनले छवटा प्रदेशमा आफ्नो सरकार बनाउँदैछ । दुई नम्बरमा मात्र सरकार बनाउने उसलाई कठिन छ । आफ्नै सरकार नभएपनि त्यसमा सहभागि भए मात्र सबै प्रदेशमा पकड रहने उद्देश्यले मधेशवादी दलसँग वाम गठबन्धन नजिक हुन चाहेको बताइएको छ । 

वाम गठबन्धन र मधेशवादी दलबीच तालमेल हुनुपर्ने मध्यस्थकर्ताको काम राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले गरिरहेको स्रोतले जनाएको छ । 

पछिल्लो समय एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीसँग राम्रो सम्बन्ध बनाएका महतोले यसै विषयका लागी उनलाई पटक पटक भेटिसकेका छन् । र, उनले आफ्नो पार्टीमा पनि त्यो माहोल तयार गराइरहेका छन् । 

राजेन्द्र महतोको यो मिसनमा राजकिशोर यादवले खुलेर साथ दिइरहेका छन् । महेन्द्रराय यादव भने त्यति खुलेका छैन । महन्थ ठाकुर, अनिल झा र शरतसिंह भण्डारी वाम गठबन्धनसँग जान नहुने पक्षमा रहेका छन् । 

वाम गठबन्धनको सरकार निर्माण हुन गइरहेको छ । उता राजपा नेपालमा आफ्नो पकड बनाउन सफल महतोले पार्टीको तर्फबाट सरकारमा जाने मनस्थिति समेत बनाइसकेको बताइएको छ । प्रतिनिधि सभा सदस्यमा महतो पक्षधरको बहुमत रहेका हुनाले संसद दलको नेता बन्ने र सरकारमा जाने तयारीमा रहेको बताइएको छ । तर, महतोले विभिन्न कार्यक्रमहरुमा सरकार आफ्नो प्राथमिकता नरहेको दावी गर्दै आइरहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप