बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस जिल्ला सभापतिको निष्कर्षः निर्वाचनमा पराजय नेतृत्वको कमजोरी

सोमबार, ०८ माघ २०७४, २० : ३४
सोमबार, ०८ माघ २०७४

केदार मगर 

खोटाङ । नेपाली काँग्रेसका जिल्ला सभापतिले पार्टीलाई शुद्धीकरण र सुदृढीकरण गरिनुपर्ने निष्कर्ष निकालेका छन् । 

हिन्दू, बौद्ध र किराँत धर्मालवम्बीको संगमस्थल हलेसीमा काँग्रेस खोटाङद्वारा आज आयोजित जिल्ला सभापतिको भेलाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले पराजय व्यहोर्नुको मूल कारण नेतृत्वको कमजोरी रहेको ठहर गर्दै पार्टीलाई तत्काल शुद्धीकरण र सुदृढीकरण गर्नुपर्ने निष्कर्ष निकालेको छ । 

निर्वाचनको समीक्षा, भावी रणनीति निर्माण, निर्वाचनमा पार्टी पराजय हुनाका कारणलगायत विषयमा छलफल गर्न हलेसीमा बसेको भेलाले पार्टीको विधान पनि परिमार्जन गर्नुपर्ने निष्कर्ष निकालेको छ । 

सङ्घीय संरचनानुसार विधान निर्माण गर्नुपर्ने भएकाले विधान परिमार्जनका लागि समिति गठन गरिएको नुवाकोटका जिल्ला सभापति जगदीशनरसिंह केसीले बताए । 

विधान परिमार्जनका लागि काभ्रेपलाञ्चोक जिल्ला सभापति मधु आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति निर्माण गरिएको छ । समितिका सदस्यमा कालीकोटका जिल्ला सभापति हर्कबहादुर बम, पाँचथरका नरेन्द्र केरुङ, सिन्धुलीका उज्ज्वल बराल र धादिङका रमेश धमला रहेका छन् । 

बत्तीस जिल्लाका पार्टी सभापतिको सहभागिता रहेको सो भेलाले जिल्ला सभापतिको चौथो राष्ट्रिय भेला तत्काल बोलाउन नेतृत्वलाई दवा दिने पनि निर्णय गरेको छ । सभापतिहरुको अर्को राष्ट्रिय भेला नुवाकोटमा गर्ने निर्णयसमेत भएको जनाइएको छ । 

भेलाले ‘काँग्रेस जिल्ला सभापतिहरुको प्रतिबद्धताः हलेसी धार्मिक पर्यटन विकासमा हाम्रो प्रतिबद्धता’ भन्ने नारासमेत तय गरेको छ । धार्मिक तथा पर्यटकीयस्थल हलेसीको विकास तथा प्रवद्र्धन गर्न सकेमा देशकै आर्थिक समृद्धिमा सघाउ पुग्ने ठहरसहित नारा तय गरिएको काँग्रेस खोटाङले जनाएको छ । 

भेलाले सीमा अतिक्रमण रोक्न सरकारले कूटनीतिक पहल गर्नुपर्ने, भूकम्पपीडितका लागि आवास निर्माण गर्न समयावधि थप गर्नुपर्ने, पञ्चायतकाल तथा माओवादी द्वन्द्वका क्रममा मारिएका सबैलाई शहीद घोषणा गरिनुपर्नेलगायत निर्णय गरिएको सभापति केसीले बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप