बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रामग्राम स्तुपमा प्राचीन पोखरी र विहारको भग्नावशेष भेटियो

मङ्गलबार, ०९ माघ २०७४, ०९ : ०५
मङ्गलबार, ०९ माघ २०७४

नवलपरासी - भगवान् गौतमबुद्धको अष्ठधातु रहेको नवलपरासीको रामग्राम स्तुपमा प्राचीन पोखरी र विहारको भग्नावशेष फेला परेका छन् । 

नवलपरासी – (बर्दघाट सुस्ता पश्चिम)को रामग्राम–७, उजैनी रामग्राम स्तुप क्षेत्रमा गरिएको जियोफिजिक्स (भूभौतिक) सर्भेको क्रममा भगवान् गौतमबुद्धसँग सम्बन्धित प्राचीन पोखरी र विहारको भग्नावशेष फेला परेको हो । 

भगवान् गौतमबुद्धका सातवटा अष्ठधातुमध्ये एउटा मात्र सिंगो अष्ठधातु यस रामग्राम स्तुप क्षेत्रमा रहेको बताइन्छ । रामग्राम स्तुपमा १९ वर्षपछि बल्ल जियोफिजिक्स सर्भे गरिएको हो । 

सर्भेका क्रममा स्तुपको उत्तरपश्चिम कुनादेखि केही मिटर बाहिर ४० मिटर लम्बाई र २५ मिटर चौडाई आकारको प्राचीन पोखरी र करिब ६० मिटर लम्बाइ र ३० मिटर चौडाइको प्राचीन विहारको भग्नावशेष फेला परेको लुम्बिनी विकास कोषका पुरातत्वविद् कृष्ण केसीले जानकारी दिए । 

बेलायतको डुरह्याम विश्वविद्यालय र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्वविद्को टोलीले सर्भे गरेको हो । जमिनमुनिको एकदेखि डेढ मिटर सतहमा रहेका वस्तु अवशेष, पुरातात्विक भवन, प्राचीन पोखरी, सडकलगायतको संरचनाको नोक्सान नहुनेगरी पत्ता लगाउन यो सर्भे गरिएको थियो । 

यो कार्य बृहत्तर लुम्बिनीको अध्ययन अन्वेषणको क्रममा सन् २०११ देखि लुम्बिनी, कपिलवस्तुलगायतका स्थानमा गरिँदै आएकोमा यस वर्ष रामग्राममा गरिएको हो । 

अहिलेको सर्भेबाट फेला परेको यो महत्वपूर्ण उपलब्धि भएको अनुमान गरिएको छ । यसबाट अव आगामी दिनमा रामग्राम स्तुप क्षेत्रमा हुने उत्खनन तथा अन्वेषणमा सहज हुने केसीले जानकारी दिए । 

यो सर्भेले स्तुप क्षेत्रमा कहाँ के संरचना छन् भन्ने थाहा हुन्छ । यसअघि सन् १९ वर्षअघि १९९९ मा स्तुपाको पश्चिमतर्फ सोही सर्भे गरी सोही वर्ष पुरातत्व विभागबाट उत्खनन पनि गरिएको थियो । 

त्यसबेला सो स्थानमा रहेका केही जग्गा निजी व्यक्तिका भएकाले त्यसलाई अगाडि नबढाएको तर अहिले कोषले जग्गा किनिसकेकाले अब त्यसको संरक्षण हुने कोषका पुरातत्वविद् केसीको भनाइ छ । 

बेलायतको डुरह्याम विश्वविद्यालयका जियोफिजिक्स सर्भे विज्ञ प्रोफेसर डंकनको नेतृत्वमा रामग्राम स्तुप क्षेत्रमा सर्भे गरिएको हो । यसैगरी, स्तुपको वरपरका खेतमा अहिले पनि भगवान् गौतमबुद्धसँग सम्बन्धित पुरातात्विक महत्वका इँटालगायतका वस्तु भेटिने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप