बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभाको उम्मेदवार बनाउने एमाले निर्णयपछि यसो भन्छिन् कोमल वली

मङ्गलबार, ०९ माघ २०७४, १२ : ५४
मङ्गलबार, ०९ माघ २०७४

काठमाडौँ– गायिका कोमल वली अहिले निकै दङ्ग छिन् ।

एमालेले राष्ट्रियसभा सदस्यका लागि उनलाई उम्मेदवार बनाउने निर्णय गरेलगतै उनमा खुसी छाएको हो ।

प्रतिनिधि सभाको निर्वाचनको अन्तिम समयमा आएर एमालले टिकट नदिएपछि एमाले नेतृत्वसँग असन्तुष्टी पोखेकी थिइन् ।

वलीले त्यसबेला  समय एमाले नेतृत्वले पहिला सहमति गरे पनि गम्भीर धोका दिएको आरोप पनि लगाएकी थिइन् ।

‘एमालेले मलाई धोका दियो । एमाले नेतृत्व केपी ओलीजीले मलाई हिजोका दिनमा जे वाचा गरेका थिए, त्यो पूरा गर्नुभएन । वाचा गरेपछि, वचन दिएपछि पूरा गर्नुपर्छ । आफ्नो वचनको लाज राख्न सक्नुपर्छ ।’ सो समय वलीले आक्रोश पोखेकी थिइन् । 

आक्रोशपछि पनि एमाले नेतृत्वले केही नबोलेपछि उनले नेतृत्वसँग असन्तुष्टी जनाउँदै दाङ क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । उनको उम्मेदवारीपछि एमाले नेतृत्वले उनलाई थमथम्याउने काम गरेको थियो । त्यसपछि उनले आफ्नो उम्मेदवारी फिर्ता लिएकी थिइन् ।

सोमबार बसेको एमालेको स्थायी समिति बैठकले वलीलाई प्रदेश नम्बर ५ बाट राष्ट्रियसभाका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ । यो निर्णयबाट उनी निकै खुसी छिन् । 

तर राष्ट्रियसभा सदस्यका लागि वलीलाई उम्मेदवार बनाउने पार्टीको निर्णयमा एमालेकै नेता कार्यकर्ताले असन्तुष्टि व्यक्त गरिरहेका छन् । यो विषय सामाजिक सञ्जालमा पनि सतहमा आएको छ । 

आफूलाई पार्टीले राष्ट्रियसभाका लागि उम्मेदवार बनाउने निर्णयको कसैले विरोध गर्न नहुने तर्क गायिका वलीको छ । 

पार्टीले आफ्नो काम र योग्यताको कदर गर्दै यो निर्णय गरेको वलीले बताएकी छन् । 

यो पनि पढ्नुहोस्

राष्ट्रियसभा उम्मेदवारमा एमालेले कोमल ओलीसहित १३ जनाको नाम टुंगो लगायो

सामाजिक सञ्जालमा कोमल वलीको आलोचना

यस विषयमा वलीको भनाइ 
पार्टीले जुन निर्णय गरेको छ, यसलाई सकारात्मक रुपमा लिएकी छु । धेरै खुसी लागेको छ । मैले प्रतिनिधि सभाको निर्वाचनका लागि आफूलाई तयारी अवस्थामा राखेकी थिएँ । 

सो समय मेरो उम्मेदवारी विभिन्न कारणले हुन सकेन । पार्टीमा विभिन्न समस्या आए होलान् ।  त्यसलाई सो समय सहज रुपमा लिएँ । स्वीकार पनि गरँे । 

अहिले राष्ट्रियसभा जस्तो गरिमामय स्थानका लागि मेरो नाम सिफरिस गरेकोमा म आफ्नो तर्फबाट राम्रो गर्ने कोसिस गर्ने छु  । म यो निर्वाचनका लागि तयारी अवस्थामा छु । धेरै खुसी छु । 
प्रतिनिधि सभाको निर्वाचनमा पूर्णतयारीका साथ म होमिसकेकी थिएँ । त्यो अवस्थामा पार्टीले टिकट नदिएर मलाई अन्याए गरेको थियो । अहिले न्याय मिलेको छ । 

अहिलेको निर्णयले न्याय मात्र होइन, मलाई सम्मान पनि मिलेको छ ।

पार्टीको यो निर्णयमा केही एमालेका कार्यकर्ताले सामाजिक सञ्जालमा विरोधका विभिन्न प्रतिक्रिया दिइरहेका छन् । यसमा म केही भन्दिनँ ।

गीत सङ्गीतको माध्यमबाट मैले पनि यो राष्ट्रका लागि अतुलनीय योगदान गरेको छु । पत्रकारिता र कलामा पनि मेरो मेरो योगदान कम छैन । 

पार्टीमा विशिष्ट योगदान गरेको व्याक्तिहरुलाई राष्ट्रियसभा सदस्यका लागि दिने भन्ने मापदण्ड पनि छ । म त्यसमा पनि परेकी छु । 

अर्काे कुरा सबै कुरो छोडेर जीवन मैले राजनीतिका लागि समर्पित गरेकी छु । राजनीतिका लागि आफूले गरिरहेको काम, खाइपाई आएको दाम सबै कुरो छोडेर पार्टी प्रवेश गरेकी हुँ । 

त्यस कारणले मलाई राजनीतिमा लागेर जीवनमा केही प्राप्त गर्नु छैन, राजनीतिमा लागेर कमाउनु छैन । कसैका लागि पैसा जम्मा गर्नुछैन । 

मैले गर्ने भनेकै राष्ट्र र जनताको सेवा हो ।

त्यसका लागि पनि महिला भनेर छुट्याएको कोटाबाट म आउँदा कसैले विरोध गर्नुपर्ने देखिँदैन । मैले कसैको भाग खोसेको छैन । धेरै व्यक्तिले पाउनु भएको पदजस्तै मैले पाएकी हुँ । 

लामो समयदेखि पार्टीमा योगदान गरिरहेका पार्टीका कर्यकर्ता तथा नेताले मैले प्राप्त गरेको पद प्राप्त नगर्नु भएको होला । शङ्का र कारणहरु विभिन्न होलान् । उहाँहरुले प्राप्त नगर्नु भएको छ भने मलाई दुःख लाग्नु स्वभाविक हो । 

मेरो उपलब्धि मैले पाउनुपर्ने अधिकार हो । यसमा कसैले विरोध नगर्दा हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप