शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जब प्रधानमन्त्रीले नै भुले सशस्त्रका पहिलो आईजिपीको नाम...

मङ्गलबार, ०९ माघ २०७४, १९ : ०३
मङ्गलबार, ०९ माघ २०७४


काठमाडौँ । मंगबार बिहान सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकको प्राङ्गढ विशेष रुपले सजाईएको थियो । कारण, मंगलबार सशस्त्र प्रहरी बलले आफ्नो स्थापनाको १७ औँ वर्षगाँठ मनाउँदै थियो ।

१७ औँ सशस्त्र प्रहरी दिवस स्थापनाको अवसरमा प्रमुख अतिथीको रुपमा हलचोक पुगेका थिए प्रधानमन्त्री शेरबहादुर देउवा । प्रधानमन्त्रीको लागि छुट्टै र विषेश रुपले सजाईएको पोडियममा उभिएर देउवाले १७ औं सशस्त्र प्रहरी दिवसको अवसरमा सकलदर्जालाई शुभकामना दिए । तर, प्रधानमन्त्रीले मुलुकको केन्द्रीय सुरक्षा फौजको पहिलो आईजिपीको नाम नै भुलेपछि कार्यक्रममा उपस्थित पाहुनाहरु नै चुकचुकाएका छन् ।

लिखित  भाषण पढेका प्रधामन्त्रीले सशस्त्रको पहिलो र चर्चित आईजिपीको नाम ‘कृष्णगोपाल श्रेष्ठ’ उच्चारण गरे । देउवाले आफ्नो पहिलो संगठन प्रमुखको  नाम नै गलत उच्चारण गरेपछि पोडियमको छेउमै उभिएका सशस्त्र प्रहरी प्रमुख सिंह बहादुर श्रेष्ठले यताउती हेरे, तर प्रधानमन्त्रीलाई ‘नाम गलत भो हजुर’ भन्न सकेनन् ।

२०५७ सालमा गठन भएको सशस्त्र प्रहरी बलको पहिलो आईजिपी थिए, कृष्ण मोहन श्रेष्ठ । २०५९ साल माघ १२ गते तत्कालिन विद्रोही माओवादीले तत्कालिन आईजीपी श्रेष्ठ, उनकी पत्नी नुडुप श्रेष्ठ र अंगरक्षक सुर्यप्रसाद रेग्मीलाई ललितपुरको बागडोलमा गोली हानेर हत्या गरेका थिए ।

शेर बहादुर देउवा त्यतिबेला नेपाली राजनितीको केन्द्रभागमै थिए । २०५९ सालमा देउवाले नेतृत्व गरेको जननिर्वाचित सरकारलाई तत्कालिन राजा ज्ञानेन्द्रले असक्षमका आरोप लगाउँदै बिघटन गरेका थिए भने उनैले दुई वर्षपछि २०६१ मा पुनः प्रधानमन्त्री नियुक्त गरेका थिए ।

यसरी प्रधानमन्त्रीले लिखित भाषण समेत अशुद्ध पढेपछि सशस्त्रका एक एआईजीले भने, ‘लेख्नेले पक्कै आईजी सावको नाम गलत लेखेको नहुनुपर्ने हो, तर उहाँले नै गलत उच्चारण गर्नुभयो ।’
 
उता, आफ्नै संगठनको १७ औं दिवस मनाइरहेको सशस्त्र प्रहरी प्रमुख पनि मंगलबार चिप्लीएका छन् । आफ्ना सिनीयर अफिसर र सकल दर्जालाई शुभकामना दिने क्रममा उनले ‘७ औं सशस्त्र प्रहरी दिवस’ भनेर सँवोधन गरेका थिए ।

प्रधामन्त्रीको निर्देशन : ‘उच्च मनोवलका साथ काम गर्न गर्नुस्’
 
प्रधामन्त्री शेर बहादुर देउवाले सशस्त्र प्रहरी बल नेपाललाई आन्तरिक सुरक्षाको सशक्त अंगको रुपमा विस्तार गर्दै लगिने उल्लेख गर्दै आउदो दिनमा देश र जनताको सुरक्षार्थ अझै उच्च मनोवलका साथ लाग्नुपर्ने बताए । उनले भने, ‘सशस्त्र प्रहरी बल नेपालले स्थापना कालदेखि नै मुलुकमा शान्ति सुरक्षा कायम गर्ने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्दै नेपाली जनताको मन मस्तिष्कमा बसिसकेको छ ।’

प्रधानमन्त्री देउवाले भविष्यका सम्भावित सुरक्षा चुनौतीहरुलाई सामना गर्न तयार रहनुपर्ने उल्लेख गर्दै भने, ‘आधुनिक तालिम, सुचनाको बलियो पहुँच बढाउँदै सशस्त्रलाई नयाँ संरचनामा लैजानु अहिलेको आवश्यकता हो ।’ प्रधानमन्त्री देउवाले सशस्त्र प्रहरी अधिकृतहरु, अमर प्रहरी परिवार र सकल दर्जालाई स्थापना दिवसको अवसरमा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त विशेष समारोहमा यसवर्षको उत्कृष्ट गण रनिङ्ग अवार्ड प्राप्त गर्ने सशस्त्र प्रहरी बल  दक्षिणकाली गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक श्यामकाजी कुवँर लाई अवार्ड प्रदान गरेका छन् । त्यस्तै,  उत्कृष्ट सीमा सुरक्षा कार्यालय रनिङ्ग अवार्ड प्राप्त गर्ने सीमा सुरक्षा कार्यालय  सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक ऋषीदेव कार्कीलाई अवार्ड प्रदान गरेका छन् ।

सोही समारोहमा संगठनमा लामो समय सेवा गरी अनिवार्य अवकाश ग्रहण गरेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापा ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित भएका छन् ।

जसले जिते ‘बर्ष जवान’
सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले यस वर्ष ‘वर्ष जवान २०७४’ हुन सफल सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटारमा कार्यरत सशस्त्र प्रहरी जवान डिल्ली भट्टराईलाई ‘वर्ष जवान’ ट्याग प्रदान गरेका छन् । भट्टराईले १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

सशस्त्र प्रहरी बलले यसरी घोषित वर्ष जवानलाई युएन मिसनमा समावेश गर्नुका साथै निजको एक सन्ततीलाई वार्षिक १२ हजार रुपैयाँका दरले १२ कक्षा अध्ययन गरुन्जेलसम्म छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
यसवर्षको उत्कृष्ट गुल्म रनिङ्ग अवार्ड प्राप्त गर्ने सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म दार्चुला र उत्कृष्ट बोर्डर आउट पोष्ट घुस्की सुनसरीलाई सोही अवसरमा अर्वाड प्रदान गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यमा सहयोग पु¥याउने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुका अध्यक्ष एवं महाप्रबन्धक नन्द किशोर बस्नेतलाई सोही अवसरमा सशस्त्र प्रहरी माहानिरीक्षक श्रेष्ठले कदरपत्र प्रदान गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप